कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ अन्योलमा

भाद्र २७, २०८१
दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ अन्योलमा

Highlights

  • यातायात व्यवसायी भन्छन्, ‘सडक सहज नभएसम्म चाडबाडमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या छ’ 
  • सडक विभाग भन्छ, ‘असोज १० सम्म सबै सडक सहज बनाउने गरी काम थालिसकेका छौं’ 

काठमाडौँ — घटस्थापना नजिकिँदै छ । तर दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे सरकारी निकाय र यातायात व्यवसायी मौन छन् । अहिलेसम्म कहिलेबाट बुकिङ खुला गर्ने भन्ने विषयमा व्यवसायी र सरकारी निकायबीच छलफलसमेत हुन सकेको छैन । 

केही यातायात व्यवसायी समितिले भने अग्रिम बुकिङ खुलाइसकेका छन् । गत वर्ष घटस्थापनाको ६ दिनअघि अग्रिम बुकिङ खुलाइएको थियो । त्यसका लागि व्यवसायी र यातायात व्यवस्था विभागबीच पहिल्यै छलफल गरेर निर्णय गरिएको थियो । समय भएकाले यसबारे छलफल गर्न नहतारिएको व्यवसायी बताउँछन् ।

पूर्व अरनिको यातायात प्रालिले यही भदौ २० बाटै अग्रिम बुकिङ खुलाइसकेको छ । अरनिको यातायात चल्ने जिल्लामा जाने यात्रुका लागि बुकिङ खुला गरिएको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जनाए । ‘अहिले अनलाइन सुविधा छैन, काउन्टरमै पुगेर यात्रुले अग्रिम बुकिङ गरिरहेका छन्,’ उनले भने, ‘यात्रुलाई चाडबाडमा टिकट नपाएर घर जान नपाइएला कि भन्ने डर सधैं हुन्छ । आफ्नो साधन भएकालाई यो कुरा मतलब छैन । त्यसैले यात्रुलाई समस्या हुन नदिन पहिल्यै बुकिङ खुलाएका हौं ।’ गत वर्षको तुलनामा अहिले चाँडै बुकिङ खुला गरिएको उनले सुनाए ।

यातायात व्यवसायी सम्बद्ध संस्थाले पनि अग्रिम बुकिङ खुला गर्नेबारे चासो दिएका छन् । बर्खाले बिग्रिएका सबै सडक पहिला मर्मत गरेर सहज बनाउनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । ‘गत वर्ष एक साताअघि अग्रिम बुकिङ खुलाइएको थियो, यस पटक अलि चाँडै खोल्ने कि भन्ने पक्षमा छौं,’ उनले भने, ‘तर यसबारे अहिलेसम्म सरकारी निकायसँग छलफल भइसकेको छैन ।’

पहिरो र खाल्डाखुल्डीले गर्दा सडक बिग्रिएको स्वाँरको भनाइ छ । ‘सडक बिग्रिएर चाडबाडमा समयमै यात्रुलाई गन्तव्यमा पुर्‍याउन नसके समस्या हुन्छ,’ उनले भने, ‘सरकारले चाडबाड आउनुअघि नै सबै सडक सहज बनाउनुपर्छ ।’ अग्रिम बुकिङ खोल्नेबारे यातायात व्यवस्था विभागसँग छलफल भएपछि मात्र निर्णय हुने उनको भनाइ छ । गत वर्ष नै व्यवसायीले चाडबाडको मुखमा भाडा समायोजनको कुरा उठाएका थिए । अहिले पनि उनीहरूले भाडा समायोजन गर्नुपर्ने अडान लिइरहेको आएको विभागको दाबी छ ।

‘व्यवसायीले पहिल्यैदेखि भाडा समायोजनको कुरा उठाउँदै आएका छन्, अहिलेसम्म यो छलफलको विषय बने पनि कार्यान्वयन भएको छैन,’ विभाग स्रोतले भन्यो, ‘यो पटक व्यवसायी भाडा बढाएर मात्र बुकिङ खोल्ने सुरमा छन् ।’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल भने व्यवसायीसँग अग्रिम बुकिङ खोल्ने अहिले छलफल भइनसकेको बताउँछन् ।

‘व्यवसायीले भाडा समायोजन र सडक समस्याको कुरा उठाउँदै आएका छन्,’ रिजालले भने, ‘व्यवसायीसँग छलफल भएपछि मात्र अग्रिम बुकिङ खोल्नेबारे निर्णय हुन्छ ।’ अहिले जताततै सडक बिग्रिएका छन् । धेरैजसो सडकमा खाल्डाखुल्डी छन् । अहिले बढी समस्या स्तरोन्नति थालिएको नागढुंगादेखि मुग्लिन र मुग्लिनदेखि पोखरा खण्डमा छ । त्यस्तै धेरै नै समस्या भने विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकमा छ, जसले गर्दा गाडीको यात्रा जोखिमपूर्ण बनेको छ ।

चाडबाडको समयमा एउटै गाडी पटकपटक ओहोदोहोर गर्नुपर्छ । चाडबाडमा एक दिनमा दुई लाखसम्म यात्रु बाहिरिन्छन् । समयमै गन्तव्यमा गाडी पुग्ने र फर्किएर काठमाडौं आउने वातावरण बनाइनुपर्ने व्यवसायीको माग छ । दसैंमा उपत्यकाबाट मात्र करिब २० लाख यात्रु बाहिरिने गरेका छन् । ‘विभाग र व्यवसायीबीच छलफल भएर नै निर्णय हुन्छ, त्यसका लागि समय छ, असोज पहिलो साताबाट यसबारे छलफल सुरु हुन्छ,’ महानिर्देशक रिजालले भने, ‘निर्णय गर्न ढिला हुँदैन ।’

पानी पर्न कम भएकाले चाडबाडलाई लक्ष्य गरेर सडक मर्मतको काम थालिसकिएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले जनाए । ‘निर्माणाधीन सडकमा सम्बन्धित निर्माण व्यवसायी र अन्यमा योजना र सडक डिभिजन कार्याललाई खाल्डाखुल्डीरहित सडक बनाउने गरी मर्मतको काम गर्न परिपत्र भइसकेको छ,’ उनले भने, ‘दसैंका लागि घटस्थापनादेखि उपत्यकाबाट बाहिरिने गाडीको चाप धेरै हुन्छ । त्योभन्दा अघि असोज १० सम्म सडकलाई सहज बनाउँछौं ।’

पहिरोको जोखिम रहेका सडकमा पहिरो पन्छाउन उपकरण र प्राविधिक तैनाथ राखिएको उनको दाबी छ । ‘यस्ता जोखिम रहेका सडकमा चाडबाडको दिन पनि कर्मचारीलाई आलोपालो गरेर राख्छौं,’ उनले भने, ‘चाडबाडको दिन कुनै ठूलो समस्या नआए सडक अवरुद्ध हुन दिइनेछैन, अहिले खाल्डाखुल्डी टाल्ने काममा केन्द्रित छौं ।’

प्रकाशित : भाद्र २७, २०८१ ०६:०५
×