कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

लगानी बोर्डको सीईओमा ५ उम्मेदवार

भाद्र १९, २०८१
लगानी बोर्डको सीईओमा ५ उम्मेदवार

काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ उम्मेदवार सूचीकरण गरिएको छ । सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । 

उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् । उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्त गर्ने सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बोर्डका अनुसार उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछि सचिवालयले छनोट गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए । काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्वकार्यकारी निर्देशक हुन् ।

अर्का उम्मेदवार ढुंगाना नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए । ०७८ असोजमा सरकारले नै उनलाई अध्यक्षबाट बर्खास्त गरेको थियो । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको थियो ।

सरकारले यस पटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको छ । सिफारिस समितिको सचिवालयले गत साउन २८ मा सीईओ पदका लागि निवेदन आह्वान गरेको थियो । सीईओ पदका लागि ८ जनाले आवेदन दिएका थिए । उम्मेदवार सूचीकरणमा परेका ५ जनासहित गोरखाका कृष्ण थापा, रूपन्देहीका झविन्द्र खत्री र काठमाडौंस्थित चन्द्रागिरिका रविन्द्र दवाडीले पनि आवेदन दिएका थिए ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:३४
x
×