कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

‘अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार’

भाद्र १७, २०८१
‘अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार’

Highlights

  • सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएका कारण पुाजी बजार, रियल इस्टेट र ऋण प्रवाह बढ्दै गएको अर्थमन्त्रीको दाबी 

काठमाडौँ — मुलुकमा आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न नसकेकाले थप हस्तक्षप आवश्यक रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभाका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अपेक्षाअनुसार अर्थतन्त्रको शिथिलता कम नभएको धारणा राखे ।

‘सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको छ । बजारमा माग बढ्न नसकेको गुनासो छ, अर्थतन्त्र दबाबमै छ,’ अर्थमन्त्री पौडेलले भने, ‘केही समयअघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’ मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने दाबी गरे ।

एक वर्षमा तीन जना अर्थमन्त्री फेरिने गरेको सन्दर्भमा उनले यसको समाधान गर्नै वर्तमान सरकार आएको जनाए । ‘निजी क्षेत्रले पनि अब गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्छ,’ उनले भने । नयाँ सरकार गठनपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनको भनाइ छ ।

सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएका कारण पुँजीबजार, रियल इस्टेट र ऋण प्रवाह बढ्दै गएको पौडेलको दाबी छ । ‘सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको हो, थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार छ,’ उनले भने, ‘निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरूका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ ।’

मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाए । ‘बाह्य क्षेत्र सहज बन्दै गएको छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ,’ अधिकारीले भने ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्न सक्ने उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जनाए । ‘बाह्य क्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ । ब्याजदर पनि घटेको छ । तर अहिले आयात र निर्यात घटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो,’ अध्यक्ष अग्रवालले भने ।

प्रकाशित : भाद्र १७, २०८१ ०६:१२
x
×