कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सकियो नाडा अटो सो,८२ हजारले गरे अवलोकन

भाद्र १७, २०८१
सकियो नाडा अटो सो,८२ हजारले गरे अवलोकन

Highlights

  • चारपांग्रे गाडी ४ हजार र दुईपांग्रे सवारी २ हजार थान बुकिङ 

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो सो २०२४’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको ६ दिने अटो सो आइतबार सम्पन्न भएको हो । अटोमोबाइल्स क्षेत्रको कुम्भमेला मानिने अटो सोमा ८२ हजार ४ सय ७० जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । 

अटो सोमा उत्साहपूर्ण सहभागिता रहेको नाडा अटो सोका संयोजक अनुपकुमार बरालले बताए । ‘समग्रमा अटो सो राम्रो भयो । हामीले जुन अपेक्षा राखेर सो सञ्चालन गरेका थियौं, त्यो पूरा भएको छ,’ उनले भने, ‘अटो सोमा अनुमानित १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ४ हजार थान चारपांग्रे र २ हजार थान दुईपांग्रे सवारी बुकिङ भएको अनुमान गरेका छौं ।’

अटो सो सुरु भएको पहिलो दिन मंगलबार १० हजार र दोस्रो दिन बुधबार १५ हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए । यसैगरी प्रदर्शनीमा तेस्रो दिन बिहीबार १५ हजार ५ सय, चौथो दिन शुक्रबार १७ हजार २ सय र पाँचौं दिन १८ हजार ४ सय ९७ जना दर्शकले सहभागिता जनाएका थिए । अन्तिम दिन आइतबार भने ८ हजार ४ सय ५५ जना दर्शकले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ ।

अटो सो अवधिभर अटोमोबाइल व्यवसायी उत्साहित देखिएको नाडाका अध्यक्ष करण चौधरीले बताए । ‘यो अटो सोको कुम्भमेला हो । मैले अटो व्यवसायीहरूको अनुहारमा मुस्कान देखेको छु । मलाई एकदमै खुसी लागेको छ,’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘किनभने हामी सबैजनाले आशा देखेका छौं । यहाँहरूले मलाई वर्षभरिका लागि ऊर्जा थप दिनुभएको छ । यो ऊर्जा खेर जान दिन्नौं ।’

छ दिनको अटो सोबारे सञ्चारमाध्यम र सरकारी प्रतिनिधिहरूबाट आएको प्रतिक्रियाले पनि उत्साहित भएको उनको भनाइ छ । नयाँ लन्च भएका ब्रान्डमा दर्शकको आकर्षण रहेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । ‘यसपालिको अटो सोमा विद्युतीय र पेट्रोल तथा डिजेल गाडी दुवैमा दर्शकको राम्रो आकर्षण देखियो,’ उनले भने, ‘साथै नयाँ लन्च भएका ब्रान्ड, विद्युतीय स्कुटर, नयाँ उत्पादनबारे जानकारी लिनेहरूको घुइँचो भयो । यसले बुकिङ पनि राम्रो भएको छ ।’

अटो सोमा विभिन्न कम्पनीले नयाँ ब्रान्ड लन्च गर्नेदेखि लिएर उत्पादन (प्रोडक्ट) हरूमा छुट अफरसमेत ल्याएका थिए । प्रायः कम्पनीहरूले प्रदर्शनीमा राखेका उत्पादनमा दिएका छुट छठसम्मका लागि निरन्तरता दिने जानकारी दिएका छन् । अटो सोमा कम्पनीहरूले सवारीसाधनदेखि हेल्मेट, टायर, लुब्रिकेन्ट्समा छुट अफर राखेका थिए ।

अटो सोमा चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायत गरी १ सय ३० वटा स्टल राखिएका थिए, जसमा २३ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुईपांग्रे, १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड र बैंक तथा वित्तीय संस्थाका ११ वटा स्टल थिए । साथै अटो सोमा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायत कम्पनीका स्टल ३३ वटा राखिएको थियो ।

यसैबीच देशको अटोमोबाइल क्षेत्रका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन सफल भएको नाडाका अध्यक्ष करण चौधरीले बताएका छन् । आइतबार नाडा अटो २०२४ को सन्दर्भमा ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा अध्यक्ष चौधरीले भने, ‘अहिलेको मौद्रिक नीतिले सबै क्षेत्रलाई समेटेको छ । यसले सुस्ताएको अटोमोबाइल व्यवसाय पुनः फस्टाउने आशा राखेको छु ।’

अटो सोको अन्तिम दिनको अवसरमा नाडा र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को संयुक्त पहलमा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र इमानका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

प्रकाशित : भाद्र १७, २०८१ ०६:१३
x
×