कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पोखरा-जोमसोम नियमित उडान खुला

भाद्र १७, २०८१
पोखरा-जोमसोम नियमित उडान खुला

Highlights

  • तारा एयरले मंगलबारदेखि पोखरा-जोमसोम उडान गर्ने

काठमाडौँ — पोखरा-जोमसोमको नियमित उडान मंगलबारदेखि खुला हुने भएको छ । मनसुन र पर्यटकीय सिजन सकिएपछि पोखरा–जोमसोमको नियमित उडान असार २९ देखि बन्द थियो ।

नेपालका प्रमुख पर्यटकीय रुटमध्येको यो रुटमा तारा एयरले मंगलबारदेखि नियमित उडान गर्ने जनाएको छ ।

‘लगभग मनसुन सकियो’, तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले भने, ‘काठमाडौं र पोखरामा रहेका व्यवसायीहरु होटल, रिसोर्ट संचालन गर्न फर्किने सिजन सुरु भयो । यसपालि बुकिङ पनि राम्रो छ । मंगलबारदेखि नियमित उडान सुरु गर्छौं ।’

ताराले जोमसोम उडानकालागि एकतर्फी भाडा नेपालीलाई तीन हजार नौ सय ६५ रुपैयाँ तोकेको छ भने भारतीय पर्यटकका लागि ११ हजार २ सय ५ र बाँकी तेस्रो मुलुकका पर्यटकहरुका लागि १ सय ६० अमेरिकी डलर तोकेको छ ।

जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा टुइनअटर विमान पोखरामै रात्री बिसान गर्ने जनाएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा पोखरा–जोमसोम उडान गर्ने तालिका राखिएको छ ।

जोमसोम उडान पोखराको पुरानै विमानस्थलबाट हुँदै आएका छन् । उक्त विमानस्थलबाट हेलिकोप्टर र पोखरा र आसपासका हिमाल अवलोकनका लागि हुने अल्ट्रालाइट उडान पनि हुँदै आएका छन् । जोमसोम समुन्द्री सतहबाट २७ सय ३६ मिटर उचाइमा पर्छ ।

यसैबीच पदयात्रातर्फ प्रमुख आकर्षक मानिने लुक्ला र त्यसमाथिका व्यवसायीहरु पनि उडानबाट फर्किने क्रम सुरु भएको छ । ताराले रामेछाप–लुक्ला–रामेछापका लागि असोज ४ देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि ताराबाहेक समिट एयर र सिता एयरले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्छन् । यो सिजनका लागि ताराले २ वटा टुइनअटर विमान रामेछापको मन्थली विमानस्थलमा राखेर त्यहाँबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका राखेको छ ।

ताराले आफ्ना दुई विमान मंसिर मसान्तसम्म त्यहाँ रहने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् ।

प्रकाशित : भाद्र १७, २०८१ १८:३१
x
×