कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

अलैंचीको मूल्य किलोको २१ सय

भाद्र १५, २०८१
अलैंचीको मूल्य किलोको २१ सय

Highlights

  • यस वर्ष प्रतिमन ८४ हजार रुपैयाँमा खरिदबिक्री भएको अलैंची गत वर्ष यस सिजनमा प्रतिमन ५५ हजार रुपैयाँ थियो 

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका–१ खोक्लिङका गणेश थापाले शुक्रबार तीन मन अलैंची बिक्री गरे । ताप्लेजुङमा अलैंची ४० किलोको मनका हिसाबले बिक्री हुन्छ । जिपको छतमा अलैंचीका बोरा राखेर फुङलिङ बजार आएका उनले अलैंची व्यवसायी संघका अध्यक्ष भद्रवीर रेग्मीलाई दिए । 

प्रतिकिलो दुई हजार एक सयका दरले बिक्री गरेका उनले दुई लाख ५२ हजार रुपैयाँ लिए । शुक्रबारको बिक्रीका आधारमा अलैंचीको मूल्य प्रतिमन ८४ हजार रुपैयाँ भएको छ । क्विन्टलको हिसाब गर्दा २ लाख १० हजार पर्छ । गत वर्षको यो सिजनमा प्रतिमन ५५ हजार रुपैयाँ थियो । त्यसको तुलनामा मनमा २८ हजार रुपैयाँले बढी हो । अलैंचीको उत्पादन साउन अन्तिम सातादेखि सुरु हुन्छ । असोजमा बाली उठाइ सकिन्छ ।

यस वर्षको पहिलो उत्पादन साउन २८ गते किनेका रेग्मी पहिलो मूल्य प्रतिकिलो दुई हजारका दरले मनको ८० हजार रुपैयाँ लगाएको बताउँछन् । उनले पहिलो उत्पादन फुङलिङ नगरपालिका–१ का मोहमलाल लिम्बूसँग किनेका थिए ।

मोहमलालले ४६ किलो (एक मन ६ किलो) बिक्री गरेका थिए । पहाडमा मनको हिसाबले कारोबार हुने अलैंची तराई र भारत निर्यात गर्दा बोराका हिसाबले गरिन्छ । एक बोरामा ५० किलो हुन्छ । नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन ताप्लेजुङले गर्ने अलैंची जोनको दाबी छ । एक नगरपालिका र आठ गाउँपालिकामा गरी ६१ वडा रहेको यहाँ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला बाहेकका सबै ६० वडामा खेती हुन्छ ।

जिल्लाको मुख्य आम्दानीको स्रोत भएकाले किसानदेखि व्यापारीसम्मको चासो अलैंचीको मूल्यमा हुने गरेको छ । जिल्लाको उत्पादन झापाको बिर्तामोडका व्यापारीलाई बिक्री गर्ने गरिएको अलैंची जोनका अध्यक्ष बालमणि बराल बताउँछन् ।

ताप्लेजुङदेखि झापासम्मको ढुवानी भाडा र प्रतिमन दुई हजारसम्म नाफा राखेर जिल्लामा खरिद हुने गरेको बरालले जनाए । ‘अहिले त कम्पिटिसनको बजार छ, कहिले त झापाकै मूल्यमा ताप्लेजुङमा पनि कारोबार भइरहेको हुन्छ, यसै भन्नै सकिँदैन,’ बरालले भने । बिर्तामोडको मूल्यलाई आधार मानेर कारोबार हुने गरेको उनको भनाइ छ । नेपालको ९८ प्रतिशत अलैंची भारत निर्यात हुन्छ । भारतबाट पाकिस्तान, साउदी, कतार, बहराइन जस्ता राष्ट्रमा पुग्ने अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन् । नेपालको अलैंचीबाट त्यहाँ मसला बनाइन्छ ।

सरकारले मूल्य निर्धारण नगरेको र समर्थन मूल्य नभएकाले व्यापारीको मूल्यका आधारमा किसानले बिक्री गर्नुपर्छ । उत्पादन सुरु हुँदा र सकिँदाकै मूल्यमा धेरै अन्तर हुने गरेको छ । गत वर्ष झापाको बिर्तामोडमा प्रतिमन ९३ हजारसम्ममा कारोबार भएको भट्टराईले जनाए । आफूहरू पनि जिल्लामा समन्वयकर्ता जस्तो मात्रै रहेको ताप्लेजुङका अध्यक्ष बरालको भनाइ छ । ‘तल (बिर्तामोड) का व्यापारीलाई सोध्यो, जति भन्छन्, त्यसैका आधारमा खरिद गर्छौं,’ उनले थपे, ‘बढ्यो भने बढेरै किन्छौं, घट्यो भने घटेरै ।’ यसरी कारोबार गर्दा थुप्रै व्यापारीले घरबारी गुमाउनुपरेको र कतिपयले जोडेको उनले बताए ।

नेपालका ४२ जिल्लामा अलैंची खेती हुन्छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार देशभर १२ हजार पाँच सय हेक्टरमा खेती हुने गरेको छ । सबैभन्दा बढी कोशीमा हुन्छ । यहाँ ११ हजार हेक्टर हाराहारी जग्गामा खेती हुने गरेको तथ्यांक छ । वार्षिक उत्पादन भने ६ हजार पाँच सय टन हाराहारीमा हुने गरेको छ । २८ सय टन उत्पादन ताप्लेजुङमा हुने अलैंची जोनले जनाएको छ । हरेक वर्ष मूल्यमा हुने उतारचढाव र खेती मासिने क्रमले किसानमा भने पछिल्ला वर्ष अलैंची खेतीप्रतिको निराशा बढ्दो छ ।

प्रकाशित : भाद्र १५, २०८१ ०६:५७
x
×