कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजनीतिक र नीतिगत स्थिरताको वातावरण तयार भएको छ : उपप्रधानमन्त्री पौडेल

भाद्र १५, २०८१
राजनीतिक र नीतिगत स्थिरताको वातावरण तयार भएको छ : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी — उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । 

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको शनिबार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने, 'अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।'

पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको बताए । उनले नागरिकका अधिकार स्थापित गर्न लोकतन्त्र, नागरिकका अधिकारका लागि मुख्य दुई मुख्य पार्टी मिलेर वर्तमान सरकार बनेको भन्दै यसले एकसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको बताए ।

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने बताए । उनले विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताए । उनले प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । उनले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गरे । उनलेभवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एकसाथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए ।

'भवनमात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रक्रियासँगै थालेर भवन बनेलगत्तै सबै सेवा सञ्चालन गर्नेगरी अहिल्यैबाट काममा लाग्नुपर्छ', उनले भने, 'यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।'

उनले १२ सय शय्याको अस्पतालमा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १३:३६
x
×