कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

एमसीए-नेपालद्वारा १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

भाद्र १४, २०८१
एमसीए-नेपालद्वारा १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौँ — एमसीए–नेपालले एमसीसी–नेपाल कम्प्याक्ट अन्तर्गतको १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ ।

एमसीए–नेपालद्वारा जारी विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा आयोजित एक समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाफ्देले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष रामप्रसाद घिमिरेले भने,‘निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किमी प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १८ किमि अंश निर्माण आयोजनामात्रै नभइ नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा महत्वपूर्ण सेतु भएको बताए । 'यो उपलब्धि संलग्नभएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’

समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भनिन्,‘१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्ने सन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझायात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौं सफलतामध्ये एउटा हो तर यसले बृहत् २९७ किमी लामो प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।’

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौताले गरिरहेको प्रगतिको स्पष्ट सुचक भएको उल्लेख गरे ।

‘छिटो निर्माण सम्पन्न गर्नका लागि बृहत् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किमी सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ ।’ बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्य सम्ममा बोलपत्र आह्वान गर्न तयारी गरिरहेको एमसीए–नेपालले जनाएको छ ।

प्रकाशित : भाद्र १४, २०८१ १५:०८
x
×