कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडाका तीन दिनमा ४० हजार ५ सय दर्शक

भाद्र १३, २०८१
नाडाका तीन दिनमा ४० हजार ५ सय दर्शक

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो सो–२०२४’ सुरु भएको तीन दिनमा ४० हजार ५ सय दर्शकले अवलोलकन गरेका छन् । अटो सो सुरु भएको पहिलो दिन मंगलबार १० हजार, दोस्रो दिन बुधबार १५ हजार र तेस्रो दिन बिहीबार १५ हजार ५ सय दर्शकले अटो सो अवलोकन गरेको नाडा अटो सोका संयोजक अनुपकुमार बरालले जनाए ।

‘बिहीबार दिउँसो पानी नपरेको भए १६ हजार दर्शकले अवलोकन गर्ने थिए,’ उनले भने ।

सरकारका सचिव तथा सह–सचिव, नेपालस्थित अमेरिकी, दक्षिण कोरिया र चिनियाँ दूतावासका प्रतिनिधिले अटो सो अवलोकन गरेको बरालले बताए । अटो सोले नेपालको अटो बजारमा चहलपहल ल्याउनेमा व्यवसायी उत्साहित रहेको उनको भनाइ छ । कोभिड माहामारीको समयमा दुई वर्ष अटो सो सञ्चालन हुन नसके पनि यसपालि पूर्ण रूपमा सञ्चालन भएकाले उत्साहित भएको नेफालस्थित टाटा मोटर्सको आधिकारिक बित्रेता सिप्रदी ट्रेडिङ कम्पनीका सिनियर सेल्स म्यानेजर निर्मल खत्रीले सुनाए ।

‘अहिलेको संस्करणमा हरेक स्टलमा भीड छ । यसले हामीमा उत्साह थपिएको छ,’ उनले भने, ‘सवारीका सबै प्रोडक्टबारे एकै ठाउँबाट जानकारी लिने एउटा अवसर पनि हो यो । अटो सोमा एकै ठाउँमा विभिन्न गाडी तुलना गर्न सजिलो हुन्छ ।’

अटो सोमा कम्पनीहरूबीच सवारीसाधनदेखि हेल्मेट, टायर, लुब्रिकेन्ट्समा छुट दिन प्रतिस्पर्धा छ । अटो सो कम्पनीहरूका लागि अटो सो नयाँ प्रोडक्ट लन्च गर्ने राम्रो गन्तव्य बन्दै आएको छ । विभिन्न कम्पनीहरूले अटो सोलाई लक्ष्य गरी गाडीमा छुट अफरसमेत ल्याएका छन् । अटो सोमा ग्राहकलाई आकर्षित गर्न चारपांग्रे गाडी कम्पनीहरूले गाडी बुकिङमा विदेश भ्रमणको अवसर, नगद छुट, निःशुल्क बिमालगायत अफर ल्याएका छन् । यसैगरी दुईपांग्रे सवारीका कम्पनीहरूले भने नगद छुट, बाइक एसेसरिज र उपहार योजना ल्याएका छन् ।

अटो सोमा चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतका गरी १ सय ३० वटा स्टल राखिएको छ । जसमा २३ वटा चारपांग्रे, १९ वटा दुईपांग्रे, १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड र बैंक तथा वित्तीय संस्थाका ११ वटा स्टल छन् । अटो सोमा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायत कम्पनीका ३३ वटा स्टल छन् ।

प्रकाशित : भाद्र १३, २०८१ २१:५०
×