कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

लोडसेडिङ अन्त्यपछि तीन गुणाले बढ्यो विद्युत् खपत : प्राधिकरण

लोडसेडिङ अन्त्यपछि तीन गुणाले बढ्यो विद्युत् खपत : प्राधिकरण

काठमाडौँ — मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष ०७२/७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आर्थिक वर्ष १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो । 

गत आर्थिक वर्ष सबैभन्दा बढी गार्हस्थ्यतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आर्थिक वर्षसम्म आइपुग्दा ४०० युनिट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८ घण्टा लोडसेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । ०७३ कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरका गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । ०७५ वैशाखबाट सिंगो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र बिजुली पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको प्राधिकरणले जनाएको छ । विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशतले राष्ट्रिय ग्रिड र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन् । आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन् ।

लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि बिजुली खपत बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘ठूला तथा साना उद्योगले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगहरूको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ, जसका कारण आन्तरिक रूपमा विद्युत्को खपत बढिरहेको छ,’ उनले भने ।

हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएको घिसिङको भनाइ छ । त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति गर्न देशका प्रमुख सहरलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको उनले जनाए । सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको पनि घिसिङले बताए ।

आन्तरिक रूपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे । ०७२/७३ मा ३ अर्ब ७२ करोड युनिट रहेको विद्युत् खपत ०७३/७४ मा २८.४७ बिन्दुले बढी ४ अर्ब ७७ करोड युनिट पुगेको थियो । ०७४/०७५ मा विद्युत् खपत ५ अर्ब ५६ करोड, ०७५/७६ मा ६ अर्ब ३० करोड युनिट, ०७६/७७ मा ६ अर्ब ४२ करोड र ०७७/७८ मा ७ अर्ब २८ करोड युनिट भएको थियो ।

०७८/७९ मा ८ अर्ब ८४ करोड, ०७९/८० मा ९ अर्ब ३५ करोड र ०८०/८१ मा १० अर्ब २ करोड युनिट विद्युत् खपत भएको थियो । ०७९/८० को तुलनामा ०८०/८१ मा विद्युत् खपत करिब १० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा पिक डिमान्ड (विद्युत् बढी माग हुने समय) अघिल्लो आथिृक वर्ष ०७९/८० को तुलनामा ११.३४ प्रतिशत बिन्दुले वृद्धि भएको थियो । गत आर्थिक वर्षको जेठ १६ मा देशभित्रको सबैभन्दा बढी विद्युत्को माग रेकर्ड गरिएको थियो । उक्त दिन पिक डिमान्ड २ हजार २ सय १२ मेगावाट पुगेको थियो ।

वर्षायामका ६ महिना विद्युत् भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन घटी केही महिना देशभित्रको माग धान्न बिजुली आयात गर्नुपर्ने अवस्था छ । तर प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण घट्दै गएको छ । गत आर्थिक वर्षमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४.६८ प्रतिशत छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५७ प्रतिशत बिन्दुले कम हो । विद्युत् निर्यात ४४ प्रतिशत बिन्दुले वृद्धि भएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १२:४६
x
×