कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

सुदूरपश्चिममा चामल, मकै र तोरी आयात घट्दो, गहुँ तेब्बरले बढ्यो 

भाद्र २७, २०८१
सुदूरपश्चिममा चामल, मकै र तोरी आयात घट्दो, गहुँ तेब्बरले बढ्यो 

धनगढी — सुदूरपश्चिमको प्रमुख कैलालीस्थित त्रिनगरस्थित भन्सार नाका भएर गहुँको आयात परिमाण तेब्बरले बृद्धि भएको छ । भारतले चामल निर्यातमा रोक लगाएका कारण चामलको आयात भने घटेको छ । 

कैलाली भन्सार कार्यालयका अनुसार तीन वर्षयता चामल आयात ओरालोतिर छ । ०७८/७९ मा १ अर्ब ६ करोड ५६ लाख ४६ हजार बराबरको २३ हजार ६१५ टन चामल आयात भएको थियो । ०७९/८० मा ४९ करोड ११ लाख ९८ हजार बराबरको ८ हजार ७२९ टन चामल आयात भयो । ०८०/८१ मा भने ५ करोड ९३ लाख ८८ हजार बराबरको ६१० टन चामल मात्रै भित्रिएको तथ्यांक छ ।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले पछिल्ला दुई वर्षमा भित्रिएको चामल व्यापारिक नभई विश्व खाद्य कार्यक्रमको भएको बताए । ‘भारतले निर्यातमा रोक लगाइसकेपछि कैलाली भन्सारबाट चामलको आयात दुई वर्षमा लगभग शून्य नै छ,’ उनले भने ।

धनगढीका चामल व्यापारी हरिशंकर ठाकुरका अनुसार भारतले निर्यातमा रोक लगाएपछि कैलाली लगायत सुदूरपश्चिमका भन्सार नाकाबाट आयात रोकिएको भए पनि अन्य प्रदेशका सीमाबाट अवैध रुपमा भित्रिने चामलले सुदूरपश्चिमको आवश्यकता पूर्ति गरिरहेको छ ।

‘भारतबाट चामल नआएर त सम्भवै छैन नि । तर अन्य प्रदेशबाट चोरी नाकाबाट ल्याइएको चामलले काम चलिरहेको छ ।’ उनले चामलको मूल्य पनि आकाशिएको बताए । ‘दुई वर्षअघि ४४ रुपैयाँ प्रतिकिलो पर्ने मोटा चामलको मूल्य अहिले ५८ पुगेको छ,’ ठाकुरले भने । कतिपय उपभोक्ताका अनुसार महंगी बढेपछि मसिनो चामल खानेहरु स्वदेशमै उत्पादित हुने मोटो चामल उपभोग गर्ने अवस्थामा पुगेका छन् ।

मकैको आयात पनि अघिल्ला वर्षभन्दा आधा घटेको छ । ०७९/८० मा यो नाकाबाट ३३ करोड ९३ लाख २९ हजार बराबरको ९ हजार १६३ टन मकै आयात भएकोमा ०८०/८१ मा १८ करोड ३८ लाख ६८ हजार बराबरको ४ हजार ७२८ टन आयात भएको तथ्यांक छ ।

भारतबाट यो नाका भएर तोरीको दाना आयात पनि घटेको छ । ०७९/८० मा २६ करोड ९२ लाख १६ हजार मूल्य बराबरको ३ हजार २५६ टन तोरीको दाना आयात भएको थियो । ०८०/८१ मा एक करोड ९१ लाख ८१ हजार बराबरको २६३ टन तोरीको दाना आयात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

चामल, मकै र तोरीको दानाको आयात परिमाण घट्दै गर्दा गहुँको आयात भने तेब्बरले बढेको छ । ०७९/८० मा १० करोड ५० लाख ४६ हजार मूल्य बराबरको २ हजार ३८३ टन गहुँ आयात भएको थियो । ०८०/८१ मा २६ करोड ३७ लाख ३५ हजार बराबरको ६ हजार ३७७ टन गहुँ भित्रिएको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ३ हजार ९९४ टन बढी गहुँ आयात भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी खड्काका अनुसार चामल आयातबाट आर्थिक वर्ष ०८०/८१ मा ४ लाख ५५ हजार राजश्व संकलन भएको छ । अघिल्लो वर्ष ०७९/८० मा भने तीन करोड ४१ लाख ९२ हजार संकलन भएको थियो । मकैको आयातबाट ०८०/८१ ९४ लाख ८३ हजार राजश्व संकलन भएको छ ।

०७९/८० मा एक करोड ७० लाख २० हजार संकलन भएको थियो । यस्तै, तोरीको दाना आयात घट्दा त्यसबाट प्राप्त हुने राजश्व संकलन पनि घटेको छ । भन्सार कार्यालयका अनुसार ०७९/८० मा चार करोड १९ लाख ६५ हजार तोरीको दाना आयातबाट राजश्व संकलन भएकोमा गत वर्ष ०८०/८१ ४५ लाख १३ हजार राजश्व सकंलन भएको तथ्यांक छ ।

किराना व्यवसायी संघ कैलालीका पूर्व अध्यक्ष लक्ष्मण पन्तले मसिनो चामलको मूल्य अत्यधिक बृद्धि भएको बताए । उनका अनुसार दुई वर्षअघि २० किलोको एक बोरा मसिनो चामलको भाउ एक हजार ६ सय रुपैयाँ रहेकोमा अहिले २ हजार २ सय नाघेको छ ।

प्रकाशित : भाद्र २७, २०८१ २०:४४
×