कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

ढुक्क भएर लगानी गर्न लुम्बिनीका व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह

भाद्र ९, २०८१
ढुक्क भएर लगानी गर्न लुम्बिनीका व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह

Highlights

  • लुम्बिनीलाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकासको योजना बनाउन व्यवसायी र जनप्रतिनिधिको सुझाव

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताएका छन् ।

एनआरएन एनसीसी अमिरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताउँदै स्वदेशी तथा विदेशी दातृ निकायलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

‘सरकारले लगानीको वातावरण बनाउँछ । तपाईंहरूले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि लगानी गर्नुस,’ उनले भने, ‘लुम्बिनी प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण क्षेत्र हो ।’ लुम्बिनी सर्किटसंगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरूलाई आकर्षित गर्ने उनले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकारले पहल गरिरहेको र त्यसको नतिजा केही दिनभित्रै प्राप्त हुने पनि उनले जानकारी दिए । संघीय सरकारसँग लुम्बिनीको विमानस्थलबाट उडान सुरु गर्ने बारेमा पहल भइरहेको छ । तीन विदेशी कम्पनी भैरहवाबाट नियमित उडानका लागि इच्छुक देखिएका छन् । विदशबाट आउने पर्यटकलाई लुम्बिनीमा मात्रै सिमित नगरी अन्य जिल्लाहरूमा पनि पुर्‍याउने गरी प्रदेश सरकारले कार्ययोजना बनाएको पनि उनले बताए ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहाँसिक स्थलहरुको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको, वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्वसामु पुर्‍याउने प्रतिबद्धता जनाए । ‘लुम्बिनीका पर्यटकीय गन्तव्य स्थलको प्रचारप्रसारको कमी छ,’ उनले भने, ‘विश्व बजारमा यसको प्रचारप्रसारलाई व्यापक बनाउन जरुरी छ ।’ पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु पर्ने पनि उनले सुझाव दिए ।

देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएको बताए । देवदह सांस्कृतिक र सम्पदाको हिसाबले महत्वपूर्ण क्षेत्र हो । ‘तर, यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं,’ उनले भने, ‘सांस्कृतिक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ । तर, सरकारले ध्यान दिएन ।’

देवदह नगरपालिकाले खयरडाँडाको उत्खनन गर्दा इनार भेटिएको, भवनका भग्नावेश भेटिएको खरेलले बताए । देवदह क्षेत्र र रोहिणी नदीलाई एकीकृत गरेर पर्यटन विकास योजना तयार गर्नुपर्ने उनले सुझाव दिए । लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले लुम्बिनीलाई पर्यटकीय हबका रूपमा विकास गर्न धेरै सम्भावना रहेको र त्यसका लागि तीन तहका सरकारको बीचमा सहकार्य हुनुपर्ने बताए । बुद्ध परिपथ क्षेत्रको विकासबाट समग्र लुम्बिनीको विकास गर्न सकिने आधार रहेको र त्यसले मात्र लुम्बिनी आउने पर्यटकको बसाइ लम्बिने सिद्धार्थ उद्योग वाणिज्य उद्योग संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ष्ठले बताए ।

‘लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउने गरी सरकारी र निजी क्षेत्रबाट योजना बनाउनुपर्छ,’ उनले भने, ‘लुम्बिनी चक्रपथ र धार्मिक चक्रपथलाई सँगै लैजान निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ ।’ त्यसका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ तयार रहेको उनले बताए ।

प्रकाशित : भाद्र ९, २०८१ ११:४६
x
×