कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

कञ्चनपुरमा बाढीले डेढ अर्बभन्दा बढीको क्षति

भाद्र ९, २०८१
कञ्चनपुरमा बाढीले डेढ अर्बभन्दा बढीको क्षति

Highlights

  • एक महिनापछि विवरण संकलन, कृषितर्फ ६५ करोडभन्दा बढीको नोक्सानी

कञ्चनपुर — असार अन्तिम साता अविरल वर्षासँगै आएको बाढीले कञ्चनपुरमा खेतीपातीदेखि विकास निर्माणलगायतमा डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले एक महिना ढिलो गरी संकलन गरेको विवरणअनुसार सबै क्षेत्रमा गरी १ अर्ब ५७ करोड १० लाख बराबरको क्षति भएको हो । 

जिल्ला प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको विवरणमा सबैभन्दा बढी कृषि क्षेत्रमा ६५ करोड ४० लाखभन्दा बढीको क्षति भएको छ । बाढीले डुबान र कटानका कारण जिल्लाभरिमा ५ हजार हेक्टर हाराहारीको खेतीपाती नोक्सान भएको छ । दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाँडी गाउँपालिकामा बाढीले ठूलो मात्रामा धान खेतमा पटान गरेको छ ।

‘बाढीले पटान र कटान गरेर धान, मकै र उखुबारीमा बढी क्षति भएको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले भने, ‘पटान गरेको क्षेत्र अहिले पनि बाँझै छ ।’ उनका अनुसार नियमित वर्षा भइरहेका कारण उक्त क्षेत्रमा अन्य खेतीसमेत गर्न सकिएको छैन । बाढीका कारण पशुपन्छीतर्फ पनि १ करोड २३ लाख बराबरको क्षति भएको छ । बाढीले गाईबस्तुदेखि कुखुरा फार्म डुबानमा परेका थिए ।

प्रशासनले संकलन गरेको विवरणअनुसार उद्योग क्षेत्रमा पनि कृषि जत्तिकै क्षति भएको छ । साना पसल तथा उद्योग डुबानमा परेर ठूलो मात्रामा क्षति भएको हो । ‘प्रहरी, स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतबाट विवरण संकलन गरिएको हो,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत उद्धव कार्कीले भने, ‘पालिकाहरूबाटै ढिलो गरी विवरण आएकाले समय लाग्यो ।’

बाढीका कारण महाकाली सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गतका भौतिक संरचनामा २९ करोड २२ लाख, महाकाली सिँचाइ आयोजना तेस्रो चरणमा २ करोड ३२ लाख, सडक डिभिजन कार्यालय अन्तर्गतका सडकमा ७ करोड ८८ लाख, पूर्वाधार विकास कार्यालयअन्तर्गतका संरचनामा ७ करोड ९९ लाख, जलस्रोत तथा सिँचाइ व्यवस्थापन डिभिजनअन्तर्गत २२ लाख र जनताको तटबन्ध कार्यालयअन्तर्गत ४७ करोड ४२ लाखको क्षति भएको छ । भौतिक पूर्वाधारतर्फ जम्मा ९० करोड बढीको क्षति भएको प्रशासनले जनाएको छ ।

बढीका कारण ठाउँ–ठाउँमा सडक, सिँचाइ नहरदेखि पुल र कल्भर्ट भत्किएका छन् । धेरै ठाउँमा बाढीले तटबन्ध पनि भत्काएको छ । चौधर नदीले महाकाली सिँचाइ व्यवस्थापनअन्तर्गत बेलडाँडी गाउँपालिकामा नहर भत्काएर बस्तीमा पसेको थियो, जसका कारण बलेडाँडीसँगै बेलौरी नगरपालिका समेत डुबानमा परेको थियो । यसैगरी दोधारा चाँदनीमा जोगबुडा नदीले ठाउँठाउँमा तटबन्ध भत्काएर बस्तीमा पसेको थियो । प्रशासनले संकलन गरेको विवरण गृह मन्त्रालयमा समेत पठाएको छ । ‘हामीले विवरण संकलन गरेका पठायौं, अब राहत दिने विषयमा माथिबाटै केही निर्णय होला,’ प्रशासकीय अधिकृत कार्कीले भने, ‘स्थानीय तहहरूले पनि अहिलेसम्म राहत दिन सकेका छैनन् ।’

असार २३ र २४ मा कञ्चनपुरमा हालसम्मकै उच्च वर्षा भएको थियो । जसका कारण ५ सय बढी परिवार विस्थापित भएका थिए । विस्थापित सबै घर फर्किसकेको प्रशासनले जनाएको छ । तर दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लामा अहिले पनि पानी पर्नेबित्तिकै स्थानीय नजिकैको विद्यालयमा जानुपर्ने बाध्यता छ । बाढीका कारण उक्त क्षेत्रका अधिकांश घर भत्काएको छ भने खेतपाती पूरै पटान गरेर हिलाम्य भएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०७:१०
x
×