कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

सेयर बजार बढेपछि महिनामै उठ्यो साढे ४ अर्ब राजस्व

सेयर बजार बढेपछि महिनामै उठ्यो साढे ४ अर्ब राजस्व

Highlights

  • डेढ महिनायता नेप्से परिसूचक ९ सय अंकभन्दा बढीले वृद्धि, गत साउनमा हालसम्मकै उच्च राजस्व संकलन 

काठमाडौँ — सेयर बजारबाट गत साउनमा मात्र सरकारले करिब ४ अर्ब ५५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । यो हालसम्म साउनमा सेयर बजारबाट उठेको राजस्वमध्ये सबैभन्दा धेरै हो । यस अवधिमा सेयर कारोबार नेप्से परिसूचकको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख सुधार भएपछि त्यहाँबाट सरकारलाई प्राप्त हुने राजस्व पनि हालसम्मकै उच्च बनेको हो । 

गत साउनमा मात्र लगानीकर्ताले करिब ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । सोही अवधिमा अग्रिम कर कट्टीबापत ३१ करोड ५२ लाख रुपैयाँ कर संकलन भएको छ । यसरी पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापत गरी गत साउनमा सेयर बजारबाट मात्र कुल ४ अर्ब ५५ करोड रुपैयाँ कर संकलन भएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

सेयर बजारमा कारोबार गर्ने लगानीकर्ता (व्यक्तिगत र संस्थागत) ले सेयर कारोबारमा लाभ प्राप्त गरेबापत सरकारलाई तिर्नुपर्ने रकम पुँजीगत लाभकर (सीजीटी) हो । सेयर बजारमा सेयरको मूल्य बढेपनि जबसम्म लगानीकर्ताले नाफा सुरक्षण गर्दैनन, तबसम्म यो किताबी मूल्यमै रहन्छ । तर सेयर बिक्री गरेपछि लगानीकर्तालाई नाफा भएको अवस्थामा कर लाग्छ । त्यो पुँजीगत लाभकर हो ।

यस्तै, धितोपत्र ब्रोकरले सेयर किनबेचमा पाउने शुल्कबापत १५ प्रतिशत अग्रिम कर कट्टी (टीडीएस) तिर्नुपर्छ । यो दुवै कर जोडेर गत साउनमा सरकारले सेयर बजारबाट मात्र साढे ४ अर्ब कर प्राप्त गरेको भनेर विश्लेषण गरिएको हो ।

हालको कानुनी व्यवस्थाअनुसार सेयर कारोबारमा नाफा भएको अवस्थामा लगानीकर्ताले नाफाको ५ प्रतिशतदेखि १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । जसअनुसार एक वर्ष (३६५ दिन) भन्दा बढी समयमा सेयर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । तर संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार आर्थिक वर्ष ०८०/८२ को साउनमा पुँजीगत लाभकरबाट ४० करोड ८ लाख, आर्थिक वर्ष ०७९/८० मा ४२ करोड ६ लाख र आर्थिक वर्ष ०७८/७९ मा ३ अर्ब २४ करोड रुपैयाँ सरकारलाई प्राप्त भएको थियो । आर्थिक वर्ष ०८०/८२ को साउनमा अग्रिम करकट्टीबाट ५ करोड २२ लाख, आर्थिक वर्ष ०७९/८० मा ६ करोड २९ लाख र आर्थिक वर्ष ०७८/७९ मा २२ करोड ९७ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

अघिल्ला दुई वर्षमा सेयर बजारमा घटिरहेकाले कारोबार रकम पनि कम थियो भने लगानीकर्ताले नोक्सान बेहोरेका थिए । यसकारण यो क्षेत्रबाट सरकारलाई जाने राजस्व पनि घटेको थियो । तर यस वर्षको सुरुदेखि नै बजार उच्च गतिमा उकालो लागेको छ भने कारोबार रकम पनि उल्लेख्य रूपमा बढिरहेको छ । सोही कारण करबापतको सरकारलाई प्राप्त हुने रकम पनि बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

सेयर किनबेचका लागि गत शुक्रबारसम्म ६३ लाख ७३ हजार लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । यो नेपालको कुल जनसंख्याको करिब २२ प्रतिशत हो । गत साउनसम्म ३८ लाख ५१ हजार २ सय ९४ लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबारका लागि खाता खोलेका छन् । तीमध्ये २३ लाख ३१ हजार ३ सय ५० जनाले अनलाइनमार्फत आफैं सेयर किनबेच गरिरहेका छन् । १५ लाख १९ हजार ९ सय ४४ जनाले अझै पनि ब्रोकरमार्फत (अफ लाइन) सेयर किनबेच गर्दै आएको नेप्सेले जनाएको छ । दोस्रो बजारका कुल लगानीकर्तामध्ये ३८ लाख ४२ हजार ५ सय ४० जना व्यक्तिगत लगानीकर्ता हुन भने बाँकी ८ हजार ७ सय ५४ जना संस्थागत लगानीकर्ता छन् ।

गत जेठ अन्तिम सातातिरबाट सेयर बजारमा वृद्धिको संकेत देखिए पनि नेपाली कांग्रेस र एमालेको गठबन्धनमा सरकार बन्ने सुनिश्चितता भएपछि मात्र नेप्से वृद्धिले गति समातेको हो । गत असार १७ मा यी दुई दलबीच सहकार्यको सम्झौता भएको थियो । उक्त दिन नेप्से परिसूचक करिब २ हजार ५३ अंकमा थियो । त्यसयता नेप्से करिब ९ सय अंकभन्दा धेरैले बढेको छ । गत बिहीबारसम्म नेप्से परिसूचक २ हजार ९ सय ७४ अंकमा पुगेर बन्द भएको छ भने कारोबार रकम पनि उल्लेख्य रूपमा बढिरहेको छ ।

‘वृद्धिको बाटो समातिसकेको बजारलाई यस आर्थिक वर्षको खुकुलो मौद्रिक नीतिले गति बढाउन भरपुर सहयोग गरेको हो,’ एक धितोपत्र ब्रोकरले भने, ‘बजारप्रति सकारात्मक अर्थमन्त्री, खुकुलो मौद्रिक नीति, न्यून ब्याजदर, अधिक तरलतालगायत पक्ष सेयर बजार उकालो लाग्नुका मुख्य कारण हुन् ।’

पछिल्ला महिनामा सेयर बजार बढिरहे पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड गत पुस २० यता अध्यक्षविहीन छ । अध्यक्ष नहुँदा एकातिर सेयर बजारमा प्रभावकारी नियमन हुन सकेको छैन भने अर्कोतिर यही अवसरमा चलखेल बढेको छ । यहीकारण बजारमा वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको सेयर मूल्य पनि अचाक्ली बढेको छ । यसबारे नियामक निकाय बोर्ड, सरकारलगायतको ध्यान जानुपर्ने जानकारहरूको सुझाव छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०७:११
x
×