कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

एक महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा

एक महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा

Highlights

  • आयात शून्य दशमलव ६७ प्रतिशत र निर्यात ९.६३ प्रतिशतले घट्यो
  • चालु आर्थिक वर्षको साउनमा १ सय २ मुलुकसँग व्यापार गर्दा १३ देशसँग मात्रै नाफा

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात घट्दा व्यापार घाटा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकमा उल्लेख छ । साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख रुपैयाँको व्यापार घाटा भएको विभागको भनाइ छ ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको आयात र निर्यात घटेको छ । आयात शून्य दशमलव ६७ र निर्यात ९.६३ प्रतिशतले घटेको विभागले जनाएको छ । गत आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात र १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको साउनमा निर्यात ८.६५ र आयात १.५६ प्रतिशतले घटेको थियो ।

जब कि चालु आर्थिक वर्ष आयातमा शून्य दशमलव ६७ प्रतिशतले मात्रै घटेको हो । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा निर्यात घट्ने क्रम शून्य दशमलव ९८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा व्यापार घाटा ४४ करोड ६ लाख ५८ हजार रुपैयाँले बढी हो ।

विभागका अनुसार गत साउनमा भारतसँग मात्रै ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा छ । साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको वस्तु आयात गर्दा नेपालले ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको मात्र वस्तु निर्यात गरेको विभागको तथ्यांक छ । भारतपछि चीनसँग २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको विभागले जनाएको छ । चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात गर्दा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात गरिएको हो । कतारसँग २ अर्ब ९१ करोड रुपैयाँ, युक्रेन २ अर्ब ३० करोड, अस्ट्रेलियासँग १ अर्ब ९२ करोड रुपैयाँ र बहराइनसँग १ अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको साउनमा अन्य मुलुकसहित १ सय २ मुलुकसँग व्यापार गर्दा १३ मुलुकसँग मात्रै नाफा रहेको विभागले बताएको छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ व्यापार नाफा देखिएको छ । अफगानिस्तानसँग १० करोड ७८ लाख र बेल्जियमसँग २ करोड ५१ लाख रुपैयाँले व्यापार नाफा देखिएको विभागको तथ्यांक छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । साउनमा मात्रै नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात गरेको छ । ४ अर्ब २७ करोड ७७ लाखको युरिया मल, ३ अर्ब ७२ करोड ७२ लाखको फलामको उत्पादन, ३ अर्ब रुपैयाँको ३ मिमिभन्दा कम मोटाइको फलाम र २ अर्ब ६३ करोड १९ लाख रुपैयाँको कच्चा सूयमुखी तेल आयात गरिएको विभागले जनाएको छ ।

निर्यात हुने वस्तुहरूमा गलैंचा, धागो, कालो चिया, फलाम तथा स्टिल, तोरी तथा रायोको पिना छन् । साउनमा एक अर्ब ११ करोड ७५ लाख बराबरको गलैंचा निर्यात गरेको विभागको भनाइ छ । यस्तै ५८ करोड २० लाख रुपैयाँको धागो, ५१ करोड ३२ लाख रुपैयाँको कालो चिया र ४७ करोड ९७ लाख रुपैयाँको ६ सय मिमि मोटाइको फलाम तथा स्टिल निर्यात भएको हो ।

निर्यात घट्नुमा केही अंश अलैंचीको रहेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको साउनमा ९६ करोड ४६ लाख रुपैयाँको अलैंची निर्यात भएको थियो । जब कि चालु आर्थिक वर्षको साउनमा १६ करोड १२ लाख रुपैयाँको मात्रै अलैंची निर्यात भएको विभागको तथ्यांक छ । पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

गत आर्थिक वर्ष ५० प्रतिशत अलैंची उत्पादन घटेकाले यस वर्ष थप २० देखि २५ प्रतिशत उत्पादन घट्न सक्ने महासंघको भनाइ छ । अन्य धागोको निर्यात पनि घटेको विभागले बताएको छ । गत आर्थिक वर्षको साउनमा ४४ करोड १६ लाख रुपैयाँको अन्य धागो निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । ६०० मिमि माटोइका फलाम तथा स्टिल (प्लास्टिक कोटेड) गत वर्ष ३८ करोड ९९ लाख रुपैयाँको निर्यात यस वर्षको साउनमा २३ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०७:०४
x
×