कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

तिब्बतको फुलानमा पक्की पूर्वाधार निर्माणपछि तीन जिल्लाका नेपाली व्यापारीलाई सहज

भाद्र ५, २०८१
तिब्बतको फुलानमा पक्की पूर्वाधार निर्माणपछि तीन जिल्लाका नेपाली व्यापारीलाई सहज

Highlights

  • तिब्बत सरकारले नेपालका तीन जिल्ला हुम्ला, दार्चुला, बझाङलाई लक्षित गरी फरक-फरक शैलीका पसल संरचना बनाइदिएको व्यवसायीले बताए ।

तिब्बत — चीनले हुम्लाको हिल्सापारी तिब्बतको फुलानमा पक्की भौतिक पूर्वाधार निर्माण गरेपछि नेपाली व्यावसायीहरूलाई सहज भएको छ । तिब्बतको पश्चिमी बुराङ् नेपालको हुम्लाको हिल्सा नाकापारी पर्छ  । फुलानमा विगतमा पूर्वाधार नुहँदा नेपालीहरूलाई व्यापार गर्ने स्थानको असहजता थियो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार चीनले नेपाल-चीन तीनवटा अन्तर्राष्ट्रिय नाकाहरु केरुङ-रसुवागढी, तातोपानी-चाङ्मु र बुराङ-यारीलाई उच्च महत्व दिएको छ। ‘प्राचीन नाका भएकाले स्वाभाविक रुपमा सीमावर्ती बजार बनेको हो । त्यसमा पनि चीनले बजार संरचना बनाइदिएर सीमा व्यापारलाई प्रोत्साहन गरेको बुझिन्छ,’ महावाणिज्यदूत ढकालले कान्तिपुरसँग भने, ‘यो चीनले देखाएको खुलापनको संकेत हो।’

तिब्बतको आली प्रिफेक्चर, फुलान काउन्टीले भारत र नेपालको सीमा विभाजन गर्छ भने फुलान (बुराङ) बन्दरगाह चीनको प्रथम श्रेणीको बन्दरगाह हो ।

तिब्बत स्वायत्त क्षेत्रले अँगालेको महत्त्वपूर्ण विदेशी व्यापारिक मार्गहरूमध्ये एक हो भने यस थाङका सीमा व्यापार बजारको ५०० वर्षभन्दा बढीको इतिहास छ । सीमा क्षेत्रमा नेपाल लगायत अन्य देशका व्यापारिक संरचना स्थापना गरिएको छ ।

नेपाली व्यवसायीहरूका अनुसार कोभिड-१९ महामारीकाबीच व्यापारिक भवनको निर्माण कार्य सकिएको थियो। अघिल्ला ३ वर्षसम्म नेपाली व्यवसायीहरूले निःशुल्क रुपमा भवनबाट व्यापार गर्न पाएका पाए थिए भने त्यसपछिका अवधिमा व्यापारको अवस्था हेरेर मात्रै भाडा लिने लचिलो नीति लिएकाले कुनै अफ्ठ्यारो नरहेको एक व्यवसायी पाछुङ लामाले बताए ।

सस्तो भएका कारण उनले तीन वटा सटर भाडामा लिएका छन्। उनले भने, ‘सानैदेखि व्यापार गर्दै आएको छु। यहाँ तीन वटा पसल राखेको छु। छिमेकी मुलुक भएकाले नेपालबाट आउजाउ गर्न पनि सजिलो छ।’

तस्बिरहरू : लक्ष्मी लम्साल/ कान्तिपुर

नेपालका तीन जिल्लाबाट सरसामानहरू तिब्बती फुलान सीमा बजारमा पुग्ने गरेका छन् । हुम्ला जिल्लाका काठका सामानहरू, तिब्बती परम्परागत भाँडाकुँडाहरू, दैनिक भान्छाका सामानहरू सीमा बजारमा पाइन्छन् । त्यस्तै बझाङ जिल्लाबाट बाँसबाट बनेका सामग्रीहरू, जडीबुटी र खाद्यान्नहरू पुगेका छन् भने भारतसँग जोडिएको जिल्ला दार्चुलाबाट भारतीय सामग्रीहरू बढी ल्याइएको हुन्छ । त्यसमा गुढ मिश्री, भारतीय लत्ताकपडा, ऊनीका कपडा, खाद्यान्न लगायत रहेका छन् ।

बाउबाजेको पालादेखि आफ्नो व्यापार तिब्बती सीमामा कायम रहेको बताउने युवा व्यवसायी जगत तामाङले विगत २० वर्षदेखि पितापुर्खाको बिँडो सम्हालिरहेका छन् । पहिला पहिला टेन्ट, झुपडी र माटोले बनिएका घरमा बसेर व्यापार गर्दै आएका उनले अहिले परिवर्तनको अनुभूति गरेका छन् । यो बजार अहिले नेपाली हस्तकलाको सामग्री मात्रै नभएर विदेशी सामानहरू ल्याएर बेच्ने थलो बनेको छ । आफ्नो जीवनस्तर उकासिएको अनुभव सुनाउँदै उनले भने, ‘पहिले त्रिपाल, टेन्ट, ओडार अनि माटोको घरबाट ब्यापार गर्दै आएकोमा अहिले लिफ्टसहितको घरभवनमा पसल छ । व्यापारको शैलीमा धेरै परिवर्तन आएको छ ।'

तिब्बत सरकारले नेपालका तीन वटा जिल्ला लक्षित फरक-फरक शैलीका पसल संरचना बनाइदिएको व्यवसायीले बताए । हुम्ला, दार्चुला, बझाङ गरी तीन भागमा बाँडेर भवन बनाइएको छ । नेपाली व्यवसायीलाई आकर्षित गर्न तथा सीमा बजार चलायमान बनाउने नीतिका साथ तिब्बतले सस्तोमा व्यवसायीलाई पूर्वाधार उपलब्ध गराएको हो ।

तामाङका अनुसार सो भवनमा सटर भाडा पहिलो तलालाई प्रति वर्गमिटर ८ युआनका दरले र दोश्रो तलामा १५ युआनमा ५ वर्षका लागि सम्झौता गरिएको छ । यद्यपि माटोका झुप्रामा सित्तैमा व्यापार गर्दै आएका व्यापारीका लागि शुल्क लिइनु आफैँमा महँगो लाग्नसक्ने उनले हाँस्दै सुनाए ।

सीमावर्ती व्यवसायी नेपालीहरूले चीनको फुलानलाई आफ्नो दोस्रो घर ठान्छन् । एकपछि अर्को पुस्ता फुलानसँग जोडिएका देखिन्छन्। चिनियाँ संचारमाध्यमसँग फूर्बु छिरिङले भने, ‘जीवनस्तर उकासिएको छ। लगभग १० युआनजति लिएर फुलान छिरेको मसँग अहिले आफ्नै स्टोर मात्र होइन, 'इन्टरनेट सेलेब्रिटी स्टोर' पनि बनेको छ।’

फूर्बुका अनुसार उनको स्टोरमा रहेका नेपाली काठका कचौरा, कपडा, ट्वीड, गहना आदि पर्यटक र स्थानीयले निकै मन पराएका छन्। त्यस्तै हुम्लाको लिमिबाट व्यवसाय गर्न आएका सोनाम रिञ्चेनले बुद्ध धर्म सम्बन्धित सामग्रीको राम्रो बजार रहेको सुनाए।

नेपाल-चीन हिल्सा नाकासँग शदियौं पुरानो व्यापारिक इतिहास छ। चीनले बीआरआईलाई अगाडि बढाएपछि तिब्बती फुलान प्रवेश-निकास सीमा निरीक्षण केन्द्र, बन्दरगाहको कानुन, व्यवस्थापन र सेवा क्षमताको स्तर सुधारलाई गहन बनाउँदै लगेको जनाएको छ। यसबाहेक, पर्यटन, संस्कृति र व्यापार, चिनियाँ जडीबुटी औषधि, प्राकृतिक पिउने पानी आदिको क्षेत्रमा नेपालको हुम्ला जिल्लासँग सहकार्य गर्न र स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा दिन सन् २०२३ मे महिनामा फुलान बन्दरगाहमा दुईतर्फी कार्गो र कर्मचारीहरूको व्यवस्थापन गरिएको हो ।

तिब्बती आली प्रिफेक्चरको फुलान काउन्टीमा हाल नयाँ विमानस्थल निर्माणाधीन छ। विमानस्थल सञ्चालनमा आएपछि यातायात अझै चुस्त हुने अपेक्षा छ। फुलान सीमा चेकप्वाइन्टले बीआरआई र दक्षिण एसियाली स्थल करिडोर निर्माणलाई शक्ति दिनुका साथै तिब्बतको मित्र मण्डली विस्तारमा सहयोग पुग्ने चिनियाँ अधिकारीहरूको विश्लेषण छ ।

प्रकाशित : भाद्र ५, २०८१ १४:१२
x
×