कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनुदानमा कृषियन्त्र दिने भन्दै किसानबाट करोडौं ठगी

श्रावण २७, २०८१
अनुदानमा कृषियन्त्र दिने भन्दै किसानबाट करोडौं ठगी

Highlights

  • अनुदानको प्रलोभन देखाउँदै रकम संकलन गर्नेमा गैरसरकारी संस्था, शिक्षक, सहकारी, सांसदका स्वकीयलगायत
  • कैलालीको कैलारी गाउँपालिकामा मात्र ८२९ किसान ठगिए, अरू पालिकाबाट पनि रकम उठाइएको किसानहरूको भनाइ
  • असारसम्म पावर टिलर दिने भन्दै एक लाखदेखि १ लाख ३५ हजारका दरले र सिँचाइ मोटरका लागि १२ हजारका दरले चैतमा रकम संकलन

धनगढी — कैलालीको कैलारी गाउँपालिकाका ८ सय २९ किसानलाई अनुदानको प्रलोभन देखाएर बिचौलियाले ठगेका छन् । पावर टिलर (हाते ट्र्याक्टर) र सिँचाइका लागि पानी तान्न मोटर ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भन्दै बिचौलियाले किसानबाट २५ प्रतिशत रकम अग्रिम भुक्तानी भन्दै उठाएका हुन् ।

बिचौलिया संस्था तथा व्यक्तिहरूले सुरुमा किसानहरूलाई ५८ हजार ७ सय ५० जम्मा गरे पावर टिलर र १२ हजार बुझाए सिँचाइ मोटर अनुदानमा उपलब्ध गराउने प्रलोभन देखाएका थिए ।

तर रकम संकलन गर्न खटिएका स्थानीय प्रतिनिधिले पछि सिँचाइ मोटरको भने १२ हजार नै भए पनि पावर टिलरको १ लाखदेखि १ लाख ३५ हजारसम्म दिनुपर्ने भनेका थिए । त्यो रकम पनि सस्तै लागेर किसानले बुझाएका थिए । किसानहरूका अनुसार पावर टिलरको बजार मूल्य करिब अढाइ लाख रुपैयाँभन्दा बढी पर्छ ।

सस्तो मूल्यमा कृषि उपकरण पाउने भएपछि कैलारीका विपन्न समुदायका किसान परिवारले विभिन्न जुक्ति निकाल्दै रकम जुटाए । केहीले घरको राँगा, गोरु बेचे, कसैले भैंसी, पाठो–बाख्रो बेचे त कतिपयले गाउँको समूहबाट ब्याजमा कर्जा झिके । कतिपयले जग्गाजमिन बन्धकी राखेर ऋण झिके । असारको पहिलो साताभित्र सामान उपलब्ध गराउने भन्दै गत चैतमा रकम उठाउन सुरु गरिएको किसान बताउँछन् ।

असार बितिसक्दासम्म पनि समान नपाएपछि किसानहरूलाई ठगिएको शंका लागेको थियो । ‘एक लाख रुपैयाँमा घरको एक हल राँगा बिक्री गरेर पैसा जुटाएँ,’ कैलारी–५ किसान शिवप्रसाद चौधरीले भने, ‘पछि थप रकम बुझाएँ । तर अहिले थाहा पाएँ, त्यो समूह त ठग समूह रहेछ ।’

कैलारी गाउँपालिकाका ९ वटै वडाका ४ सय १५ किसान परिवारबाट पावर टिलर दिने भन्दै १ लाखदेखि १ लाख ३५ हजारका दरले संकलन गरेको पाइएको छ । सिँचाइ मोटरका लागि १२ हजारका दरले ४ सय १४ जना किसानबाट रकम उठाएको पाइएको छ । बिचौलियाले सबैबाट गरी करिब ५ करोड रुपैयाँ उठाएको किसानहरूको भनाइ छ ।

कैलारी–६ का पुरन चौधरीले पावर टिलर दिने भनेर आफूबाट १ लाख ३५ हजार लिइएको बताए । सुरो नामक गैरसरकारी संस्थाले कैलारी गाउँपालिकामा विभिन्न संस्था तथा व्यक्तिको समूह बनाएर रकम संकलनको योजना बनाएको देखिएको छ । मुनाफा वितरण नगर्ने संस्थाका रूपमा दर्ता रहेको सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझाको नेतृत्वमा पाँच वटा समूह परिचालन गरी रकम संकलन गरिएको थियो ।

काठमाडौंमा दर्ता रहेको बाल सशक्तीकरण संस्थाका अध्यक्ष रहेका योगेश योगी (कैलारीकै बासिन्दा) को निर्देशनमा स्थानीय शिक्षक विनोद चौधरी, कालीमाई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कैलारी–५ का अमृत चौधरी, नेपाल सहकारीका अध्यक्ष रामशरण महतो, कैलारीमै रहेको अखुवा सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरी किसानबाट रकम संकलन गर्न परिचालित भएको कागजातबाट देखिन्छ ।

ओझाको व्यक्तिगत खातामा जम्मा गरिएको रकमको भौचर ।

यस्तै स्थानीय सन्तोष चौधरीको नेतृत्वमा मेलाराम राना, दिनेश संगम र श्रवण चौधरी परिचालित रहेको कागजातबाट देखिएको छ । ‘अनुदानमा पावर टिलर दिन्छौं भनेपछि विश्वासमा परेर मागेअनुसार नै रकम बुझायौं,’ कैलारी–७ की निलु चौधरीले भनिन्, ‘हामीलाई त ठगिएछौं ।’

सुरो नेपालले परिचालन गरेको बाल सशक्तीकरण संस्थाले स्थानीय जनता माविमा कार्यरत शिक्षक विनोद चौधरीलाई परिचालन गरेर रकम संकलन गरेको थियो । चौधरीले १ लाखका दरले ९५ जना किसानबाट रकम संकलन गरेका थिए ।

नेपाल सहकारी संस्था कैलारी–६ का अध्यक्ष ५३ वर्षीय रामशरण महतोले पावर टिलर उपलब्ध गराउने भन्दै २५ किसानबाट १ लाख २५ हजारका दरले ३१ लाख २५ हजार संकलन गरेको पाइएको छ । कालीमाई बहुउद्देश्यीय सहकारी संस्थाका अमृत चौधरीले २ सय ३१ किसानबाट पावर टिलर उपलब्ध गराउने भन्दै २ करोड ६९ लाख ५३ हजार र ४ सय ५५ किसानबाट सिँचाइ मोटर दिने भन्दै ५४ लाख ५२ हजार गरी कुल ३ करोड २४ लाख ५ हजार उठाएको सकारेका छन् ।

चौधरीले १ सय ८१ जनाबाट पावर टिलरका लागि संकलन गरेको २ करोड ११ लाख ७७ हजार र ३ सय ६९ जना किसानबाट सिँचाइ मोटरका लागि संकलन गरेको ४४ लाख २८ हजार फिर्ता गरेको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।अखुवाई कृषि सहकारी संस्थाका अध्यक्ष रहेका कैलारी–८ पृथ्वीपुरका ४७ वर्षीय सीताराम चौधरीले ५९ किसान परिवारबाट पावर टिलर उपलब्ध गराउने भन्दै एक लाख १७ हजारका दरले कुल ६९ लाख ३२ हजार ५ र सिँचाइ मोटर उपलब्ध गराउने भन्दै ३८ जना किसानबाट १२ हजारका दरले ४ लाख ५७ हजार गरी कुल ७३ लाख ८८ हजार ५ सय संकलन गरेको खुल्न आएको छ । चौधरीले उक्त रकम संकलन गरेको स्वीकार गरेका छन् । किसानहरूको विरोधपछि उनले ३९ लाख २८ हजार सम्बन्धित किसानलाई फिर्ता गरेको दाबी गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीका स्वकीय सचिव रहेका कैलारी–५ छोटी पलियाका ३७ वर्षीय शंकर चौधरीले २२ स्थानीय किसान परिवारबाट पावर टिलर उपलब्ध गराउने भन्दै प्रतिपरिवार १ लाख २० हजारका दरले २६ लाख ४० लाख संकलन गरेको पाइएको छ । सन्तोष चौधरीको चार जनाको समूहले ४८ जनाबाट १ लाख २५ हजारका दरले ६० लाख संकलन गरेको र हाल उनीहरू सम्पर्कमा नरहेको किसानले बताएका छन् । भ्रममा पार्न केही किसानलाई भने सामान दिइएको स्थानीय रेवन्त बोहराको भनाइ छ । ‘त्यसबीचमा उनीहरूले २३ जनालाई पावर टिलर र एक सय ४० परिवारलाई पानी तान्ने मोटर पनि उपलब्ध गराएका थिए । त्यसबाट अरुलाई पनि आइहाल्छ नि भन्ने भ्रम सिर्जना भयो,’ उनले भने ।

रकम संकलकहरूले सुरो नेपालकी अध्यक्ष खड्काका नाममा कृषि विकास बैंक रामशाह पथ शाखामा रहेको व्यक्तिगत खाता नम्बर ०८२२५०३०४०२७००१२ मा रकम जम्मा गरेको पाइएको बताएका छन् । ‘मैले ९५ लाख सुशीला खड्का ओझाको व्यक्तिगत खातामा पठाएको हुँ,’ शिक्षक विनोद चौधरीले भने, ‘बाल सशक्तीकरण संस्थाका अध्यक्ष रहेका योगेश योगीले कल गर्नुभयो । उनी चिनेजानेको हाम्रै गाउँको मान्छे हुन् । उनले भनेपछि पत्याएँ । मलाई पनि चाहिन्छ भनेर फारम भरें ।’ त्यसपछि आफूलाई सम्पर्क व्यक्ति तोकिएपछि आफूले १ लाखका दरले ९५ जनाबाट रकम संकलन गरेको उनले बताए । ‘योगीले नै सबै रकम सुशीलाकै खातामा पठाउन भनेका हुन् । अहिले योगी सम्पर्कमा छैनन् । म बेहिसाब फसेँ,’ उनले भने ।

आन्तरिक राजस्व कार्यालय धनगढीमा ०८१ जेठ १३ मा दर्ता भएको सुरो नेपाल मुनाफा वितरण नगर्ने संस्था भएको उल्लेख छ । ०८१ जेठ २० मा उक्त संस्था समाज कल्याण परिषद्मा आबद्ध भएको छ । उक्त संस्थाको कार्यक्षेत्रमा कृषि क्षेत्र उल्लेख छैन । सुरो नेपाल दर्ता हुनु अघिदेखि नै किसानबाट रकम संकलनको योजना बनाइएको पाइएको छ । उक्त संस्थाकी अध्यक्ष बताउने खड्कालाई टेलिफोन सम्पर्क गर्दा उनले जंगिएर आफूलाई कुरा गर्ने फुर्सद नभएको र कुरा गर्न मन छ भने आइतबार भेटेरै कुरा गर्न भनिन् ।

सर्वसाधारण किसानमाथि यति ठूलो रकम ठगी हुँदासम्म पनि गाउँपालिकाका केही पदाधिकारी संवेदनशील देखिएका छैनन् । ‘यस समस्याको मुख्य जिम्मेवार सुरो नेपाल देखिन्छ । हामीले थाहा पाउँदासम्म किसानबाट स्थानीय प्रतिनिधि परिचालन गरेर रकम संकलन गरिसकेको रहेछ,’ गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले भने, ‘हल्लाखल्ला भइसकेपछि रकम संकलक स्थानीय प्रतिनिधिलाई मैले गाउँपालिकामै बोलाएर फिर्ता गर्न भनिसकेको छु । कतिपयले रकम फिर्ता गरिसकेका पनि छन् । कतिपयले कागज गरेर समय मागेका छन् ।’

कैलारीकै एक बासिन्दाका अनुसार खड्काले कैलालीका अन्य स्थानीय तह र कञ्चपनुरलगायत जिल्लाका किसानबाट पनि रकम संकलन गरेका छन् । कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले पनि आफूले कञ्चनपुरको कृष्णपुर, कैलालीको घोडाघोडीका किसानबाट पनि रकम संकलन भएको सुनेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलारीमा भएको ठगीको विषयमा कुनै उजुरी नपरेको बताए । उनका अनुसार घटना जानकारीमा आइसकेपछि रकम संकलक चार जनालाई झिकाएर सोधपुछ गर्दा उनीहरू नाजवाफ भएपछि पक्राउ गरी थुनामा राखिएको थियो ।

‘तर उजुरी नभएकाले धेरै दिन राख्ने आधार भएन,’ प्रजिअ मिश्रले भने, ‘पछि कैलारीकै गन्यमान्यले उनीहरूलाई जिम्माजमानीमा बुझिलिएका हुन् ।’ यस प्रकरणमा ठूलै गिरोह संलग्न रहेको आशंका आफूले पनि गरेको प्रजिअ मिश्र बताउँछन् ।

प्रकाशित : श्रावण २७, २०८१ ०६:२०
×