कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

विश्वकै उत्कृष्ट गन्तव्य सूचीमा ‘बुरहान’

श्रावण १३, २०८१
विश्वकै उत्कृष्ट गन्तव्य सूचीमा ‘बुरहान’

Highlights

  • अमेरिकास्थित टाइम म्यागेजिनले विश्वका उत्कृष्ट एक सय गन्तव्यको सूचीमा राखेको बर्दियाको बुरहान क्याम्पले स्थानीय समुदायसँग मिलेर पर्यटकलाई वन्य जीव तथा स्थानीय कलासंस्कृतिबारे जानकारी दिँदै आएको छ

भैरहवा — ‘गर्न सक्नुपर्छ, जे पनि हुन्छ,’ क्षेत्रीय होटल एसोसिएसन बर्दियाका अध्यक्ष मोहन चौधरीले शुक्रबार बिहान फेसबुकमा उल्लेख गरे, ‘बुरहानले प्राप्त गरेको सफलताले समग्र जिल्लाको पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ ।’ बिहीबार साँझदेखि जिल्ला र बाहिर रहेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिले सामाजिक सञ्जालमा बर्दियाको मधुवन नगरपालिका–१ डाँडागाउँस्थित बुरहान वाइल्डरनेस क्याम्पलाई लिएर खुसी साटासाट गरिरहेका छन् ।

करिब दुई वर्षअघि सञ्चालनमा आएको बुरहानलाई बिहीबार अमेरिकास्थित टाइम म्यागेजिनले विश्वका उत्कृष्ट एक सय गन्तव्यको सूचीमा समेटेपछि बर्दियाको पर्या–पर्यटनबारे चर्चा सुरु भएको हो ।

अध्यक्ष चौधरीका अनुसार थारू भाषामा ‘बुरहान’ शब्दले स्थान विशेषलाई जनाउँछ । ‘यसको अर्थ डुबान क्षेत्र हुन सक्छ,’ उनले भने, ‘हुन पनि बुरहान खौराहा र गेरुवा नदीको तटीय क्षेत्र हो ।’ दुवैतिर कर्णालीका भँगला छन् । क्याम्पको पूर्वतर्फ कैलासी गाउँ र पश्चिमतर्फ बर्दिया निकुञ्ज छ । ठाकुरद्वारा बजारबाट करिब आधा घण्टा दूरीमा रहेको क्याम्प बस्तीबाट टाढा खाता वन्यजन्तु मार्गअन्तर्गत छ ।

ठाकुरबाबा र मधुवन नगरपालिकाको सीमामा रहेको क्याम्पमा स्थायी संरचना छैनन् । चौधरीका अनुसार यो ‘टेन्टेड क्याम्प’ हो । पाहुना आएका बेला सञ्चालकले चौरमा टेन्ट गाडेर आवासीय सेवा दिँदै आएका छन् । अहिले मनसुनको बेला भएकाले लगभग बन्द छ । मनसुन सकिएपछि पूर्ण सञ्चालनमा आउने चौधरीले बताए । ‘उब्जनी नहुने जमिनमा सञ्चालन गरिएको छ,’ उनले भने, ‘यसले बर्दियाको पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको छ ।’ वन्यजन्तुलाई माया गर्ने र नजिकबाट नियाल्न चाहने पर्यटकलाई बुरहानले अवसर प्रदान गरेको उनको भनाइ छ । पर्यटक नआएका बेला व्यवस्थापनले टेन्टलगायत अस्थायी संरचना भण्डारणका लागि गाउँकै एक घर भाडामा लिएको छ ।

बर्दिया निकुञ्जका पथप्रदर्शक तथा संरक्षणकर्मी हेमन्त आचार्यका अनुसार यहाँ शौचालयदेखि आवासीय संरचना ‘इको–फ्रेन्डली’ छन् । पर्यटकका लागि चौरका दुई रुखमा आवास (ट्री हाउस) बनाइएको छ । थप एउटा ट्री हाउस निर्माणको तयारी छ । ‘चौरमा दिउँसो गाईबस्तु चर्छन्,’ आचार्यले भने, ‘त्यहीं चौरमा पाहुना आएका बेला टेन्ट गाडेर बसाउने गरिएको हो ।’ स्थानीयलाई रोजगारी दिएर स्थानीय उत्पादनकै प्रवर्द्धन गरिरहेकाले यसले समुदायको साथ पाइरहेको आचार्यको भनाइ छ ।

क्याम्पमा पर्यटकलाई पथप्रदर्शन गर्दै आएकी मन्जु महतराका अनुसार क्याम्पमा बर्दिया निकुञ्जमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधिभन्दा फरक वन्यजन्तुका पाइला पहिचान र रिभर वासिङ कार्यक्रम छ । यहाँ आएका पाहुनालाई वन्यजन्तुका पाइला देखाएर कुन जनावरको हो भनेर पहिचान गराउने गरिएको छ ।

रिभर वासिङअन्तर्गत पाहुनाई स्विम सुट पहिराएर नदीमा हिँडाउने गरिएको छ । ‘पानीमा हिँडाएर माछा र ढुंगा देखाउने गरिएको छ,’ उनले भनिन्, ‘साँझका बेला सन डाउन कार्यक्रम गरिन्छ ।’ सन डाउन कार्यक्रममा पाहुनालाई सूर्यास्त अवलोकन गराइन्छ । यसबाहेक निकुञ्जमा सञ्चालन हुँदै आएका जीप सफारी, जंगल वाक, बबई नदीमा फिसिङलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ । क्याम्पले स्थानीय गाउँमा ‘आँगन घर’ सञ्चालन गरेको छ । उक्त घरमा थारूलगायत समुदायको खानाका परिकार पर्यटकलाई खुवाइन्छ । स्थानीय संस्कृति र प्रकृति संरक्षणबारे जानकारी दिइन्छ । ‘यसले क्याम्प सञ्चालक र स्थानीयबीच सम्बन्ध प्रगाढ तुल्याएको छ,’ उनले भनिन् ।

बुरहानका लगानीकर्ता दाङका मनोज गौतम र उनकी दिदी प्रभा हुन् । संरक्षणकर्मी गौतमको बसोबास भने बेलायतमा छ । बुरहानको व्यवस्थापन दक्षिणा खड्काले सम्हालिरहेकी छन् । क्याम्प व्यवस्थापनले जारी गरेको प्रेस बिज्ञप्तीमा टाइम म्यागेजिनले सार्वजनिक गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा बुरहान छनोट भएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा बुरहान वाइल्डरनेस क्याम्प बर्दियाको खाता जैविक मार्गको महत्त्वपूर्ण भागमा अवस्थित रहेको उल्लेख छ । साथै भावनापूर्ण संरक्षणवादीको समूहद्वारा सञ्चालित रहेको उल्लेख गरिएको छ ।

क्याम्प क्षेत्रमा एकसिंगे गैंडा, पाटेबाघ, जंगत्ती हात्तीका साथै ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिसिङ ओल जस्ता पन्छी रहेको विज्ञप्तिमा जानकारी दिइएको छ । ‘गत वर्ष क्याम्पमा ५ सयभन्दा बढी पाहुनालाई स्वागत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय होमस्टे र रेस्टुरेन्टलाई सघाइरहेको छ भने स्थानीय युवालाई उद्धार र गाइडसम्बन्धी तालिम दिँदै आएको छ ।’

बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले क्याम्प विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा पर्नु पर्यटन क्षेत्रका लागि सुखद भएको र यसले अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचारमा सहयोग पुग्ने बताए । ‘यो खाता जैविक मार्गको कोर क्षेत्रमा छ,’ उनले भने, ‘त्यसैले वन्यजन्तुलाई तत्कालीन र दीर्घकालीन घाटा नहुने गरी सञ्चालन भएमा राम्रो हुन्छ ।’

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बुरहान विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा परेपछि ओझेलमा परेको बर्दियाको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुने बताइन् । ‘यो समाचारलाई विश्वभर फैलाएर जतिसक्दो धेरै पर्यटक आकर्षित गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि संरक्षणकर्मी, पर्यटन व्यवसायी र जनप्रतिनिधिले हातेमालो गर्न जरुरी छ ।’

प्रकाशित : श्रावण १३, २०८१ ०७:०१
×