कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

श्रावण ७, २०८१
अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा आयाेजित नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटघाटका क्रममा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताएका हुन् ।

‘यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ,' उनले भने, ' सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ ।'

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए । 'विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ,जानुपर्छ, जाने नै हो । अलिकति ढिलो भएको छ,उनले भने, 'हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ ।'

होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि उनकाे भनाइ छ । नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको समेत उनले जनाए । 'होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो, प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो,' उनले भने, 'त्यसको निरन्रता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ ।’
अर्थमन्त्रीसँगको भेटमा हानका अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि बर्सेनि १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउनु पर्ने बताए । सडक पूर्वाधारहरू सुरक्षित नहुँदा पनि पर्यटकहरू नेपाल आउन नचाहने गरेको उनकाे भनाइ थियाे । ‘हामी ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ,' उनले भने, 'हामीसँग दुई वटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन । विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरू आउन चाहेका छैनन् ।'

होटल व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन समेत उनले आग्रह गरे । 'आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु, कालोसूचिमा राखिदिन्छ, लिलाम गरिदिन्छ,' उनले भने, 'हामी पलायनको अवस्थामा छौँ । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौँ । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’

प्रकाशित : श्रावण ७, २०८१ १४:२२
×