भैरहवा भन्सारमा राजश्व संकलन लक्ष्यभन्दा ३७ प्रतिशत कम

श्रावण ४, २०८१

माधव ढुंगाना

Revenue collection at Bhairahawa Customs is 37 percent below target

भैरहवा — मुलुकको दोश्रो ठुलो भन्सार मानिने भैरहवा भन्सार कार्यालयले सुनौली/भैरहवा नाका हुँदै हुने आयात घटेका कारण आव २०८०/०८१ मा लक्ष्य भन्दा ३७ प्रतिशत कम राजश्व संकलन गरेको छ ।

राजश्व असुलीको दृष्टिले भैरहवा भन्सार वीरगञ्जपछिको दोश्रो ठूलो भन्सार मानिन्छ । भैरहवा भन्सार कार्यालयले राजश्व संकलनमा लक्ष्यलाई भेटाउन नसकेको यो लगातार तेश्रो पटक हो । भैरहवा भन्सार कार्यालयका अनुसार आव २०८०/०८१ मा १ खर्ब २७ अर्ब ८३ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो । तर संकलन भने ८० अर्ब ८३ करोड मात्रै  भयो । यो संकलन लक्ष्य अनुरुप ६३ प्रतिशत हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले विगतमा राजश्व संकलनमा धेरै योगदान दिादै आएका जिप, कार, भ्यान, मोटरसाइकल, डिजेल,  मोबाइल, मार्बल जस्ता मुख्य बस्तु आयात घटेकाले राजश्व संकलन लक्ष्य भेट्टाउन नसकिएको बताए ।  ‘राजश्व बढी दिने बस्तुको आयात घट्दा राजस्व संकलन लक्ष्य प्रभावित भयो,' गौतमले भने, ‘खुल्ला सिमानाका कारण हुने चोरीतस्करी, बुटवल नारायणगढ सडक खण्डको दुर्दशाका कारणले पनि आयातकर्ताले यो नाकाको सट्टा अन्य नाकाको परिवर्तन गरे ।’

भैरहवा भन्सार नाकामा छिटोछरितो र सक्दो कडाई गरिएको र कतिपय भन्सार छुट नीतिले पनि राजस्व प्रभावित भएको उनले बताए । भैरहवा भन्सारले गत आव २०७९/०८० मा १ खर्ब ५५ अर्ब ६० करोड राजश्व संकलन लक्ष्य तोकेकोमा ७६ अर्ब ८९ करोड मात्रै संकलन गरेको थियो । आव ०७८/०७९ मा १ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा १ खर्ब १५ अर्ब ८७ करोड राजश्व संकलन गरेको थियो ।

मधेश आन्दोलन र भारतको नाकाबन्दीका बेला मुलुकका अन्य भन्सार नाकाको तुलनामा भैरहवा नाका सबैभन्दा सहज र सुरक्षित भएकाले मुलुकभरिका आयातकर्ता भैरहवा नाकातर्फ आकर्षित भए । भैरहवा नाकाबाट आयात ह्वात्तै बढ्न थाल्यो । आयात बढेसंगै राजश्वपनि बढेकाले तेही अनुरुप राजश्व संकलनको लक्ष्य कायम गर्न थालियो ।

विस्तारै अन्य नाका सहज हुदै जान थालेपछि आयातकर्ता पहिला प्रयोग गरिएकै नाकाबाट आयात गर्न थाले । भैरहवा भन्सारको राजश्व लक्ष्य बृद्धि भइरह्यो तर, आयात भने घट्दै जान थालेको भैरहवा भन्सार एजेन्ट संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully