कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

एक अर्ब बिगो माग्दै मुद्दा

फाल्गुन ५, २०७७
एक अर्ब बिगो माग्दै मुद्दा

काठमाडौँ — राजस्व अनुसन्धान विभागले एक दर्जन कम्पनीविरुद्ध करिब १ अर्ब रुपैयाँ बराबर बिगो असुल गरी जरिवाना र कैद सजाय माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गर्ने ११ फर्मका बैंक खाता सञ्चालक सर्लाहीको बलरा नगरपालिका–७ का सुबोध साहसहित १० जनालाई मुख्य अभियुक्त बनाउँदै मुद्दा चलाइएको हो ।

९१ करोड ३० लाख ५६ हजार ५ सय ११ रुपैयाँ बिगो असुल गरी कैद सजाय मागिएको छ । झुटा तथा नक्कली बीजकका मुख्य कारोबारी सबै फर्मको बैंक खाता सञ्चालक प्रतिवादी सुबोध साहले कर बीजकको कारोबार गर्ने प्रतिवादीहरू सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरीन्द्र राम र मोतीलाल सहनीको मिलेमतोमा ११ वटा फर्म खडा गरेको पाइएको छ ।

फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरिद गरी मुअकर र आयकरको समेत राजस्व चुहावट देखिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राप्त सबै प्रमाणबाट राजस्व चुहावट गरेको पाइएकाले फर्मका प्रोपाइटर तथा सञ्चालकलाई कारबाहीको माग गरिएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७७ ०७:०५
×