कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दुई ठूला जहाज ल्याउन सम्झौता

चैत्र २५, २०७३
दुई ठूला जहाज ल्याउन सम्झौता

काठमाडौं — नेपाल वायुसेवा निगमले दुई ठूला (वाइड बडी) जहाज ल्याउनेबारे बिक्रेता कम्पनीसँग सम्झौता गरेको छ । शुक्रबार निगम र बिक्रेता कम्पनी एएआरसँग सम्झौता भएको हो ।

‘निगमले दुईवटा ए ३३०–२०० वाइड बडी एयरबस खरिद गर्नेसम्बन्धी ऐतिहासिक सम्झौतामा आज हस्ताक्षर सम्पन्न भयो,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल वायुसेवा निगमले दुई ठूला (वाइड बडी) जहाज ल्याउनेबारे बिक्रेता कम्पनीसँग सम्झौता गरेको छ । शुक्रबार निगम र बिक्रेता कम्पनी एएआरसँग सम्झौता भएको हो ।

‘निगमले दुईवटा ए ३३०–२०० वाइड बडी एयरबस खरिद गर्नेसम्बन्धी ऐतिहासिक सम्झौतामा आज हस्ताक्षर सम्पन्न भयो,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र बिक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरे । सम्झौताअनुसार निगमले दुई वाइड बडी जहाज २० करोड ९६ लाख अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँ) मा खरिद गर्नेछ । सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिब ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ । यसअघि निगमले करिब ११ करोड रुपैयाँ बैना रकम उक्त कम्पनीलाई दिइसकेको छ । बैना रकम माघको दोस्रो साता दिइएको निगमले जनाएको छ ।

निगमले किन्ने तयारी गरेका यी दुई जहाज सेकेन्ड ह्यान्ड हुन् । निगमले टेन्डर नै एयरबसका एक हजार घण्टाभन्दा कम उडेका जहाज किन्ने गरी सार्वजनिक गरेको थियो । निगमको दाबीअनुसार एएआरले दिन खोजेका जहाज उडान नभएका सेकेन्ड ह्यान्ड जहाज हुन् । कुनै एक कम्पनीले अर्डर गरेका तर विविध कारणले किन्न नसकेका जहाजलाई एएआरले नेपाललाई उपलब्ध गराउनेछ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । नयाँ जहाजमा २५० देखि २८० सम्म सिट हुनेछन् । निगम र एएआरबीचको सम्झौताअनुसार निगमलाई दुवै जहाज सन् २०१८ को अप्रिलदेखि जुनको बीचमा हस्तान्तरण गरिनेछ । सम्झौताअनुसार कार्यान्वयन भए अबको एक वर्षमा निगमसँगै ठूला दुई जहाज हुनेछन् । दुई थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । एउटा बोइङ भने थन्किएको छ ।

नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, साउदी अरेबियाजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गरिसकेको विज्ञप्तिमा भनिएको छ ।

हस्ताक्षर समारोहमा बोल्दै निगमका महाप्रबन्धक कंसाकारले महँगो गन्तव्य मानिँदै आएकामा निगमले वाइड बडी विमान सेवा दिएपछि सस्तो हुनेछ । एएआरका प्रतिनिधि शर्माले नेपालसँग यस प्रकारको सम्झौता भएको खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

कंसाकारले निगमलाई विमान किन्न ग्यारेन्टी बसेकामा सरकारप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ । निगमलाई जहाज किन्न आवश्यक पर्ने रकम कर्मचारी सञ्चय कोषले उपलब्ध गराउनेछ । सम्झौताअनुसार कोषले २५ अर्ब रुपैयाँ दिनेछ । त्यसका लागि सरकार ग्यारेन्टी बसेको छ ।

प्रकाशित : चैत्र २५, २०७३ १८:३७
×