कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

बा ! एकरति पछुतो छैन

भाद्र १७, २०८१
बा ! एकरति पछुतो छैन

Highlights

  • पैत्रिक सम्पत्तिमा समान अधिकार संविधानप्रदत्त अधिकार थियो ।अन्तत: मैले कानुनी लडाइँ लडेँ । मैले जे कुरा विश्वास गर्थे, जे कुरा पढाउँदै हिँडे, जसका लागि मैले लडेँ, त्यसको प्रयोग मात्र गरेको हो ।

खरले छाएको घरको भूईंलाई खडाइले बारेर, दुई खुट्टा भएको भर्‍याङले, काठको फल्याकले बारेर बनेको माथिल्लो तला जोडेको थियो । भर्‍याङ चढेपछि एक गुन्द्रीजति ठाउँ छोडेपछि एउटा सानो खाटको ओच्छ्यानमा आधा सुतेर एउटा गोरो, पातलो पुरुष साँझको खाना खाएपछि मलाई `नौ नवा एकासी’, नौ दशान नब्बे’ आफू सँगसँगै भन्न लगाउने व्यक्ति नै मेरो मस्तिस्कमा आइरहने 'बा' को पहिलो तस्बिर हो |

एक..एक ..दश.. दश .......अठार ..अठार भन्दै मुखैले जोड घटाउ, हात लाग्यो सबै स्कुल नै नटेकेका बाबाट सिकेँ । कहिलेकाही दूध बेचेको हिसाब मैले बिगारेकै भएपनि तपाईंंले ठिक हो भनेर अड्डी कस्नु भएको मेरो स्मरणमा अझै पनि ताजै छ ।

तीन-तीन जना मभन्दा धेरै पढेका दिदीहरु छोडेर म तपाईंंको प्यारो थिएँ । मलाई टाइफाइड, लहरेखोकी वा धनुष्टकार रोगले लैजान सकेनन् किनभने म तपाईंंको काखमा अस्पतालमा थिएँ ।

म पेनिसिलिन सुई लगाउँदा लगाउँदै जमेर नयाँ सियो फेर्नु पर्दापनि रोईन किनभने सुईसँगै तपाईंं हुनुहुन्थ्यो । अघिल्तिर आएर पनि गैंडाले मलाई केहि गरेन तपाईंसंग डरायो । भाग्यो । तरकारी पिरो रहेछ भनेर तपाईंंले सुन्नेगरि नाक बजाएपछि अनिकालको दूधसँग भात खाने पनि म नै थिए ।

तपाईंंको पुच्छर बनेर बाउसो गर्न, कुलो सोर्न, बाँध लगाउन, खेतमा पानी सार्न, गाइभैसीको दानापानी, किराना पसलको नाफा घाटा सबै जाने । काम ठूलो सानो हुँदैन, चोरेर खान पो हुँदैन तपाईंंको मन्त्र आज पनि म आत्मसात गरिरहेछु । स्कुलबाट सिकेका नयाँ कुरा सिकाएर म तपाईंका अघि शिक्षक भएँ । धुमपान स्वास्थ्यको लागि हानिकारक छ’ भनेर पढेकोले चुरोट र सलाई नदिने प्रतिज्ञा गरेको सुनाउँदै आइन्दा मसित नमाग्न अनुरोध गर्दै म तपाईंं अघि नेता भएँ । तपाईं कै काँध चढेर गरीब, किसानको छोरी भए पनि उच्च शिक्षा पढ्न गाउँछोड्ने पहिलो केटी ठहरिएँ । ६ जना सन्तानमा हेर्दा सबैभन्दा टिठलाग्दो म तर सबै भन्दा रबाफिलो भएर तपाईंका कारण हुर्किएँ ।

हुर्किइँन मात्र, चंगाको धागो झैँ तपाईंंले स्वतन्त्रताको पखेटा उनेर मलाई आकासमा विचरण गर्न छोडिदिनु भयो । म माथि कुनै शंका, उपशंका, प्रश्न, अरुहरुले सुनाएका कुराको कुनै प्रवाह राख्नु भएन । मैले तपाईंंलाई जानकारी नदिइकन जुम्ला जाने निर्णय र फिलिपिन्सबाट फर्किसकेपछि गोलमोटल गरेर जागिर नखाने कुरा बाहेक मैले छक्काइन । हरेक मेरा गतिविधि समय अनुसार चिठी र फोनमा भए । केही समयको अन्तरद्वन्द्वपछि सहमतिमा टुंगिए पनि मेरा पछाडि चित्त दुखाइरहेको कुरो `जोगी भइ’ दु:ख पाउँछे भन्ने नै हो । त्यसो त घरमा सबैभन्दा बढी कचकच मसँगै नै भयो होला किनभने आफूले जानेका कुरा घरमा गर्नपर्ने मेरो ढिट बानी जो थियो । पलास्टिक नपोलौं, मधेसी मूलको जस्तो देखिने व्यापारीलाई 'भैया' नभनौं । यस्तै-यस्तै थिए मेरा कचकचका गाँठी कुरा । त्यसरी नै त हो महिनावारीको बारेमा सबैभन्दा पहिले आमा र तपाईंसँग चित्र बनाएर वार्ता गरेको । खासमा म समाजले चाहे जस्तो संस्कारी छोरी थिइन् अनि तपाईं बनाउन पनि चाहनुहुन्थेन ।

बा, तपाईंंलाई मैले महिनावारीको बारेमा बोल्नुस कहिल्यै भनिनँ । म कार्यक्रम, सञ्चार माध्यममा बोलेको सुन्दा सुन्दै, हेर्दा हेर्दै, महिनावारीका छलफलमा तपाईंं स्वतस्फूर्त सहभागिताको साक्षी वरपर नै छन् । तीक्ष्ण स्मरण शक्ति, तार्किता, सजिलै सिक्न सक्ने, लगनशीलता र मेहेनतीको प्रतिमूर्ति हो तपाईंं । सायद गरिबी र टुहुरोपनले बालाई तिखार्यो होला, पेचिलो बनायो होला । लमजुङ पहाडको टुहुरोको संघर्ष महेन्द्र राजमार्ग बन्नु पहिले भारत पस्दै र निस्कँदै झापादेखि सल्यान, जुम्ला, बैतडीको यात्रा दोस्रो विश्वयुद्धमा लड्नुभन्दा कम थिएन । तपाईंप्रति गर्व छ बा ।

तपाईं अब अलिकति गल्ती भयो भने बिहे गर्दिन्छु भनेर थर्काउने बा हुनुहुन्थेन । सँगै डुल्ने, खाने, झगडा गर्ने, घुम्न जाने,अस्पतालमा हप्तौ सँगै बस्ने साथी । उन्नाईस वर्षको उमेरमा उन्नाइस सय बीस रुपैयाँको जागिरबाट तपाईंंको सारथी बन्न कोशिस गर्नु पक्कै सजिलो थिएन । तपाईंंले संघर्ष गर्न सिकाउनु भयो, विश्वास गरिदिनु भयो अनि तपाईंंले झैँ दु:खका पहाड उक्ले मैले पनि । तपाईंका चाउरिएका गालामा मैले मेरो खुसी र सफलताको मानचित्र कोर्न तल्लिन रहे । तपाईंलाई सजिलो हुने र गर्न मन लागेका कुराहरु गर्न/ गर्नलाई सहजीकरण गर्न थाले । तपाईं सँगसँगै म गुडेँ । उडेँ । देशका सिमाहरु पार गरेँ । मैले के काम गरिरहेको छु, कस्ता व्यक्तिहरुसँग संगत गरिरहेको छु भन्ने कुराको साक्षी बा तपाईं आफैं हो । तपाईं मेरो जिउँदो देवता, अनि २०६५ सालदेखि आमा पनि ।

बिरामी भएर म सिभिल अस्पताल कुर्न गएको थिइनँ, जुन कुरा तपाईंंलाई थाहा थियो । संविधान लेखिँदै थियो, संविधानमा `लैंगिक समानता र सामाजिक समावेशीकरण’ का सवाल समावेश गर्नका लागि म `रिले अनसन’ मा धाइरहेको थिएँ जहाँ तपाईं मलाई पुर्‍याउन र लिन आउनुहुन्थ्यो । समानताका लागि गरिएका हरेक विरोध कार्यक्रमको साक्षी तपाईं नै हुनुहुन्थ्यो । अकुपाई बालुवाटार होस् वा भद्रकालीको अनसन वा शान्ति धर्ना सबै सबैको साक्षी तपाईं ।

तर बा साक्षी हुनु भएन जब म सन्नीगाउँ, जुम्लामा घोडाबाट लडेँ । बासँगै हुन म गौरीगन्ज, चितवन घर गए । एसएलसी दिएपछिको लामो घर बसेको अनुभव । आमाको मृत्युपछि नै मेरो रोजगारी थिएन । मैले जोरजाम गरेका सामग्री केहि फेरिएका मात्र थिएनन् प्रयोग गर्न डर पनि लागिरहेको थियो । जसका खुसीका लागि मैले मेरो खुसी देखेको थिएँ उनीहरु आफ्ना लागिरहेको थिएन । विस्तारै शक्तिविहीन महसुस गरिरहेको थिएँ । मेरो एउटा नि:शर्त माया वा साहारा तपाईं मात्र हुनुहुन्थ्यो बा । आफैंले नमुना परिवारमाथि शंका पो गरिरहेको छु कि भन्ने लागेर तपाईंंको परामर्शको पर्खाइमा थिएँ ।

शंका रहेन, जतिखेर म र ममाथिका ३ जना दिदीहरुलाई जानकारीसम्म पनि नदिई तपाईंंको नाममा रहेको आधा जग्गा भाइको नाममा सरेछ । म स्पष्ट थिएँ- संविधानअनुसार यो पैत्रिक सम्पत्ति बाको शेषपछि दुईभागमा एउटा मेरो हुनेछ । परिवारले बुझ्नेछ । तर कोभिडको पहिलो लकडाउनका बेला घरमा भाइबुहारी, माईली र साहिँली दिदीको अघि प्रसंग निस्कियो । मैले `सम्पत्ति कानुनले पाउने जति पाउनुपर्छ नत्र कानुनी लडाईं लड्न बाध्य हुन्छु’ भनेको थिएँ । तपाईंंलाई यहि कुरा जिवनमा नै पहिलो र अन्तिमपटक फोनबाट भनेको थिएँ ।

पैत्रिक सम्पत्तिमा समान अधिकार संविधानप्रदत्त अधिकार थियो । मेरो सम्पत्ति कसलाई कहिले, कतिखेर दिने, मेरो अधिकार छोडेर जति दिन्छन् त्यति नै खान्छु, संस्कारी बन्छु, ८४ कटेका बालाई के दु:ख दिउँ भन्न, बा मसँग न नैतिकता थियो न तपाईंकै वंशानुगुण । अन्तत: मैले कानुनी लडाइँ लडेँ ।

संविधानमा जे लेखेको थियो, न्यायाधीशले त्यहि नै निर्णय गरे । म, तपाईं र तपाईंंकोतर्फबाट उभिएकी बहिनीले सायद यहि दिन देख्नका लागि लगानी गरेका थियौं भन्ने लाग्छ । बा, मेरा लागि यो तपाईंसँग भएका सयौं कचकचमा अर्को थप कचकच मात्र थियो । मलाई सम्झना छैन-मैले फकाएर, झुक्काएर, धम्क्याएर एक रुपैयाँ पनि तपाईंसँग लिएको । र मैले यो कानुनी लडाइँ रहरले, कसैले फकाएरभन्दा पनि परिस्थितिवश मेरो आफ्नै लागि गरेको हो । तपाईंंले नै चिनाएका, विश्वास गरेका कानुनविज्ञको मद्दतमा गरेको हो । तपाईंंले अन्यायविरुद्ध एक्लै पनि लडेका नजिरहरुको अनुसरण गरेको हो । मैले जे कुरा विश्वास गर्थे, जे कुरा पढाउँदै हिडेँ, जसका लागि मैले लडेँ, त्यसको प्रयोग मात्र गरेको हो । तपाईंसँग भन्दापनि अविवाहित छोरीलाई गरिने विभेदी सोचसँगको मेरो कचकच हो । यसमा मलाई एक रति हिनताबोध छैन, बा ।

तर कहिलेकाही म यो हदसम्म पुग्नपर्ने वातावरण तपाईंं जस्तो आदर्श बाले गर्दा नै भयो होला भन्ने मान्न तयार छैन । कतै तपाईं, `पढेका त सढेका’ बा` दु:ख गरेर पढाएर गल्ती गर्नु भयो’ भन्नेहरुको चंगुलमा त पर्नु भएको छैन भन्ने लागिरहन्छ । म हुर्किएको समाज जो भद्र, शिक्षित गनिन्छ, क्रान्तिकारी ठहरिन्छ, देश देशावर यात्रा गर्छ, त्यो समाज छोरीलाई संविधान प्रदत्त `समानता’ र `महिलाको हक’ अभ्यास गर्न तयार छैन ।त्यसैले तपाईंंलाई दु:खमा साथ नदिएको समाज अहिले संस्कारी छोरी खोजिरहेको छ । तपाईंंलाई छोरीपीडित,बिचरा बनाएर आफ्ना छोरीहरुको समानताको अधिकारको आंकुरा निमोठिरहेका छन् बा ?

बा, मेरो बिरुद्धमा दार्‍हा किटेर बसेकाहरुले यो लेख तपाईंंसम्म पुर्‍याउँछन् भन्ने आस त छैन नै तर उनीहरुका छोरीहरुले पढ्ने छन् । उनीहरु एकदिन `संस्कारी छोरीको घेरा’ तोड्नेछन्। मलाई विश्वास छ -त्यो दिन तपाईंंलाई म प्रति पुन: गर्व हुनेछ ।

प्रकाशित : भाद्र १७, २०८१ १२:००
x
×