सन् १९२९ मा न्युयोर्क स्टक एक्सचेन्जमा आएको क्र्यासमा लाखौं अमेरिकी डलर गुमाएपछि अर्थशास्त्री इरभिङ फिसरले ‘द स्टक मार्केट क्र्यास एन्ड आफ्टर’ शीर्षक पुस्तक लेखे । त्यसमा उनले त्यस बेला क्र्यास आउनुका तीन कारण उल्लेख गरेका छन्— पहिलो, बजार फन्डामेन्टली चलेन ।
दोस्रो, लगानीकर्ताले अविवेकी ढंगले अधिक ऋणमार्फत लगानी बढाए । तेस्रो, मार्जिन कारोबार । विश्वमा विभिन्न समयमा देखिएका वित्तीय संकटलाई नियाल्दा हरेक बबलपछि क्र्यास आएको देखिन्छ । त्यस्ता क्र्यासहरूले सबैमा गहन असर पारेका छन् । यस कारण पनि नीतिनिर्माता, सरकार तथा नियामक निकायहरू बबल र क्र्यासप्रति सतर्क हुने गर्छन् ।
कोभिडकालमा नेपालको अर्थतन्त्रका सबैजसो क्षेत्र बन्द र शिथिल थिए । सोही समयमा केही महिना बन्द भई खुला भएको स्टक मार्केटमा शेयरको उच्च मात्रामा कारोबार भई नेप्से सूचक पनि ऐतिहासिक उचाइमा पुग्यो । कोभिडपश्चात् अर्थतन्त्रका अन्य क्षेत्र बिस्तारै सक्रिय हुँदै जाँदा अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनका लागि नियामक तथा सरकारले कसिलो नीति अवलम्बन गरे । स्टक मार्केट पनि त्यसबाट अछुतो रहन सकेन ।
२०७८ भदौमा ऐतिहासिक उचाइमा पुगेको नेप्से इन्डेक्सले त्यसपश्चात् ओरालो यात्रा सुरु गर्यो । करिब ३,२०० बिन्दुमा रहेको नेप्से सूचक २,००० को आसपास आउन करिब एक वर्ष लागेको देखिन्छ । त्यसपश्चात् १,८०० को आसपास आइपुग्न अर्को एक वर्ष लाग्यो । यो भनेको २,००० बिन्दुका तुलनामा करिब १० प्रतिशतको गिरावट हो । उक्त गिरावटका बीचमा पनि इन्डेक्स तलमाथि भइरहेको छ ।
विश्वका अन्य प्रमुख स्टक मार्केटमा पनि यस्ता उत्तारचढाव देखिन्छन् । भारतको धितोपत्र बोर्ड (सेबी) अनुसार, त्यहाँको बजारको उतारचढाव करिब १५ प्रतिशत छ भने हङकङमा ३०, ब्राजिलमा २१, जापान र दक्षिण कोरियामा १८–१८ प्रतिशत । यूएस नास्दाकमा यस्तो उत्तारचढाव ३० प्रतिशत देखिन्छ । सन् २०२०–२१ मा हङकङ स्टक मार्केटको उत्तारचढाव ५१ प्रतिशतसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकअनुसार, २०२१ मा नेप्से इन्डेक्सको उत्तारचढाव करिब ४०० प्रतिशत रहेकामा २०२३ अक्टोबरसम्म आइपुग्दा यो करिब १०० प्रतिशतमा सिमित भएको छ । अन्य देशका तुलनामा नेप्से इन्डेक्सको उत्तारचढाव धेरै भए पनि सापेक्षित रूपमा हेर्दा विगतमा जस्तो तीव्रता कम हुँदै गएको छ ।
सामाजिक सञ्जाल, मिडिया तथा केही जमातका कुरा सुन्दा स्थिति झन् भयावह लाग्छ । लगानीकर्ताहरू देशको राजनीतिक तथा आर्थिक वातावरणप्रति निराश देखिन्छन् । नियामकमाथि त आक्रोशै पोखिरहेका छन् । पुँजी बजारको शिथिलता वा (अ)स्थायित्वमा के एउटा निकाय मात्र जिम्मेवार हुन सक्छ वा हामी सबै यसमा जिम्मेवार छौं ? यो आज सर्वाधिक चासोको विषय बनेको छ ।
स्टक मार्केटमा देखिने मूल्य उत्तारचढावको प्रमुख कारण लगानीकर्तामा रहेको बजारप्रतिको विश्वास नै हो, जसलाई विभिन्न पक्षले प्रभाव पारिरहेका हुन्छन् । बजारको दीगो विकास र स्थायित्वका लागि खास गरी चार पक्ष प्रमुख हुन्छन्— समष्टिगत आर्थिक स्थिति एवं स्थायित्व, सूचीकृत कम्पनीको मुनाफा एवं कार्यसम्पादन, नियामकको भूमिका र माग तथा आपूर्तिबीचको सन्तुलन । यस आलेखमा यी चारै पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
समष्टिगत आर्थिक स्थिति र स्थायित्व
दोस्रो बजारमा सूचीकृत कम्पनीहरूका आफ्नै नियामक निकायहरू हुन्छन् । सरकारको आर्थिक सल्लाहकार र मौद्रिक क्षेत्रको नियामकको हिसाबबाट राष्ट्र बैंकको भूमिका धेरै र दूरगामी हुन्छ । समष्टिगत आर्थिक सूचकहरूलाई वाञ्छित स्तरमा राख्दै वित्तीय स्थायित्व कायम गर्नु राष्ट्र बैंकको मुख्य उद्देश्य हो । बाह्य क्षेत्रको दबाब व्यवस्थापन र मौद्रिक योगांकहरू वाञ्छित स्तरमा राख्ने राष्ट्र बैंकका प्रयासहरू सकारात्मक नतिजातर्फ उन्मुख हुँदै गएको देखिन्छ ।
ब्याजदर, मुद्रास्फीति दर, तरलतालगायतका समष्टिगत आर्थिक सूचकहरूमा आउने परिवर्तनले बजारलाई प्रभाव पार्छ । ब्याजदरमा १ प्रतिशतले परिवर्तन आउँदा नेप्से इन्डेक्समा करिब १० प्रतिशतको मात्र परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ । यसको मतलब, अरू ९० प्रतिशतको परिवर्तन अन्य तत्त्वको रहन्छ । यसरी अर्थतन्त्रमा देखिएका परिवर्तनले बजार प्रभावित हुने भए पनि एउटा मात्र सूचकमा आउने परिवर्तनले अब बरबाद हुन्छ/हुँदै छ भनेर आत्तिनुको खास अर्थ हुँदैन । यसरी आत्तिँदा आफ्नो सम्पत्ति मात्र बर्बाद हुने हो । हरेक क्षणमा बजारको उतारचढाव हेर्दै बस्नु भनेको दिनभर आफ्नो मुटुको चाल नापेर बस्नुजस्तै हो । यसले झन् स्थिरताभित्र पनि अस्थिरता देखाउँछ ।
यस्तै, अर्थतन्त्रमा समष्टिगत माग र आपूर्तिको सन्तुलन कायम गर्नमा नेपाल सरकारको झन् बढी भूमिका हुन्छ । सरकारको क्रियाशीलताले अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरू चलायमान हुन्छन् र बिस्तारै पुँजी बजारले पनि लय लिन्छ । यसबाहेक राजनीतिक स्थिरता, नीतिगत स्थिरताले लगानीकर्ताको मनोबलमा प्रभाव पार्छ । यस्तो मनोबल सेयर खरिदबिक्रीमा प्रतिविम्बित हुँदा बजार थप उत्तारचढावमय बन्छ । हाल अर्थतन्त्रको बाह्य क्षेत्रका केही सकारात्मक सूचकहरूले तातो ढुंगाजस्तो अर्थतन्त्रमा चिसो पानी खन्याएको छ, तर यो दीगो र पर्याप्त हुनेमा शंका छ । यस्तो अवस्थामा ऋणको सीमा मात्र तलमाथि गरेर हुने बजारको वृद्धि पनि दिगो र स्थायित्व हुँदैन, बरु बजार झन् उत्तारचढावपूर्ण भएको केही महिनाअगाडिको नेप्से इन्डेक्स हेर्दा प्रस्ट हुन्छ । यसकारण बजारको दिगोपना र स्थायित्वका लागि ब्याजदर, ऋण सीमाभन्दा पनि अन्य आधारभूत कार्यमै बढी ध्यान दिनुपर्छ । हाम्रो अर्थतन्त्रमा जुन पुराना संरचनागत समस्याहरू छन्, स्टक मार्केटमा पनि तिनकै झल्को देखिएको हो ।
सूचीकृत कम्पनीको कार्य सम्पादन
उच्च लाभांश बाँड्ने कम्पनीको सेयरमा लगानीकर्ताहरू आकर्षित हुने हुँदा यसको मूल्य पनि उच्च नै हुने गर्छ । कम्पनीको कार्य सम्पादन र समग्र वित्तीय स्थितिले लाभांशलाई असर गर्छ । कम्पनीको कार्यसम्पादनचाहिँ कम्पनीको रणनीति तथा सुशासन, देशको व्यावसायिक वातावरण, सरकारको समष्टिगत आर्थिक नीति आदिमा निर्भर हुन्छ । यस्ता पक्षहरू अनिश्चित भएमा कम्पनीको कार्यसम्पादन पनि सन्तोषजनक हुन सक्दैन । परिणामस्वरूप लगानीकर्ताको मनोबल कमजोर भई पुँजी बजार पनि उत्तारचढावपूर्ण बन्छ ।
नियामकको भूमिका
नियामकका रूपमा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल बढाउन तीन लक्ष्यमा काम गर्नुपर्छ । पहिलो, लगानीकर्ताको हकहितको संरक्षण । दोस्रो, स्वच्छ, प्रभावकारी एवं पारदर्शी बजारको व्यवस्था । तेस्रो, प्रणालीगत जोखिमको न्यूनीकरण । यी लक्ष्यका लागि सुपरिवेक्षण प्रभावकारी हुनुपर्छ । बजारमा भित्री कारोबारलगायतका गलत अभ्यासहरूलाई घटाउनुपर्छ । नियामकले शंकास्पद कारोबारहरूको अनुसन्धान गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यसबाट लगानीकर्तालाई बजारमा गलत अभ्यासहरू हुँदैनन् भन्ने विश्वास उत्पन्न भई लगानीका लागि मनोबल उच्च हुन्छ । पछिल्लो समय बोर्ड तथा सरकारले भित्री कारोबारमाथिको अनुसन्धानलाई व्यापक बनाउँदै लगेका छन् । बजार सहभागीहरूको कामकारबाहीमा पनि व्यापक अनुगमन तथा सुपरिवेक्षण गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याएको देखिन्छ । अर्को बुझ्नुपर्ने कुरा के हो भने, नीतिनिर्माता तथा नियामकहरूले बजार बढाउने–घटाउनेभन्दा पनि यसको दिगो विकास र स्थायित्वमा बढी ध्यान दिने गर्छन् ।
माग तथा आपूर्तिको सन्तुलन
धितोपत्रको मूल्य माग र आपूर्तिले पनि निर्धारण गर्छन् । अहिले माग र आपूर्तिको सन्तुलन बिग्रिएका कारण बजारमा तीव्र उत्तारचढाव आएको भन्ने गरिन्छ । माग र आपूर्तिलाई कुनकुन तत्त्वले प्रभावित गर्छन् र यसमा कसको भूमिका महत्त्वपूर्ण हुन्छ भनी बुझ्न आवश्यक हुन्छ । पुँजी बजारमा माग पक्ष बलियो बनाउनका लागि बृहत् क्षेत्रबाट बृहत् लगानीकर्ताको उपस्थिति पहिलो आवश्यकता हो । यसमा पनि खास गरी स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको उपस्थिति सघन हुनुपर्छ । नेपालमा हालसम्म खुलेका डिम्याट खाताका आधारमा हेर्ने हो भने सातै प्रदेशबाट लगानीकर्ताको सहभागिता उत्साहजनक नै देखिन्छ ।
बजारमा लगानीकर्ताको प्रवेशलाई आकर्षित गर्न बजारको पहुँच बढाउने, गुणस्तरीय सेवा दिने, गुनासाहरूको सम्बोधन गर्नेलगायतका कार्यहरू अति आवश्यक हुन्छन् । पुँजी परिचालनको लागत र कारोबार लागत कम गरेर पनि लगानीकर्तामा उत्साह थप्न सकिन्छ । यस्ता विषयहरूको सम्बोधन गरिसकेको बोर्डले आगामी दिनमा एनआरएन तथा विदेशी संस्थागत लगानीकर्ताको प्रवेश, लगानी उपकरणमा विविधताजस्ता विषयहरूलाई समेत तार्किक निष्कर्षमा पुर्याउनुपर्ने देखिएको छ । साथै, बजारमैत्री तथा लगानीकर्तामैत्री कर व्यवस्थाले पनि बजारमा माग बढाउन थप सहयोग गर्छ ।
धितोपत्रको आपूर्तिको सम्बन्ध पुँजी परिचालनसँग हुन्छ । नेपालमा धेरै वर्षअगाडिदेखि नै पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरूको दबदबा कम गर्दै बजारमा स्थायित्वका लागि वास्तविक क्षेत्रका कम्पनी भित्र्याउन धेरै योजना तथा कार्यक्रमहरू आए । तर अपेक्षित नतिजा पाउन सकिएको थिएन । पछिल्लो समय सरकारले विभिन्न क्षेत्रमा लिएको नीति तथा बोर्डको नीतिगत तथा कानुनी व्यवस्थाका कारण जलविद्युत्, होटल, पर्यटन तथा उत्पादनमूलकसहित वास्तविक क्षेत्रका कम्पनीहरू आउन थालेका छन् । उद्यमशिलता तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने संयन्त्रका रुपमा प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता विशिष्टीकृत लगानी कोषहरू पनि आउन थालेका छन् । तथ्यांक हेर्दा धितोपत्रको आपूर्ति बढेका बेला इन्डेक्स घट्छ भन्ने तथ्य स्थापित गर्न कठिन छ ।
बैंकिङ क्षेत्रमार्फत हुने परिचालनमा चुनौती थपिँदै गएका बेला पनि धितोपत्र बजारमार्फत भने आर्थिक वर्ष २०७९–८० मा ८० अर्बभन्दा माथिको पुँजी परिचालन भएको छ । आईपीओको प्रिमियम मूल्यमा केही प्रश्न देखिए पनि सर्वसाधारण लगानीकर्ताले धितोपत्र खरिदमा देखाएको माग दर भने सकारात्मक छ । धितोपत्रको निष्कासन मूल्य बजारबाटै निर्धारण गर्न बुक बिल्डिङ विधि अभ्यासमा आइसकेको छ ।
माथिका चारै पक्ष मजबुत हुँदा पुँजी बजारले स्थायित्व पाउँछ । कुनै एक पक्षको मात्र प्रयास वा एक पक्षमा मात्र भर पर्ने परिपाटीले स्थायित्व पाउन कठिनप्रायः हुने गर्छ । यसकारण सरकारले वित्तीय क्षेत्रका नियामकहरूसँग समन्वय र घनीभूत छलफलपश्चात् आवश्यक नीतिगत व्यवस्था गर्नुपर्छ । यस्तो अभ्यासले बजारमा व्याप्त नकारात्मक सोच नियन्त्रण गर्छ भने बजारमा व्याप्त भ्रम र अन्योललाई समेत चिर्न सकिन्छ । यसबाट पनि बजारमा स्थायित्व कायम गर्न सहयोग पुग्छ ।
पुँजी बजारको स्थायित्व कायम गर्न माथि चर्चा गरिएका चारै पक्ष लगानीकर्ताको नियन्त्रणमा हुँदैनन् । यसकारण लगानीकर्ताले आफू सुरक्षित रहनका लागि अध्ययन–विश्लेषण, वित्तीय अनुशासन र धैर्यमा पनि विशेष ध्यान दिनुपर्छ, जुन आफ्नो नियन्त्रणमा रहन्छ । विश्लेषण गर्ने बानीले लगानीकर्तालाई वित्तीय अनुशासनमा बस्न र धैर्य राख्न सजिलो हुन्छ । यसले पनि बजारमा स्थायित्व कायम गर्न मद्दत पुग्छ ।
प्रस्तुत विचारहरू लेखकका निजी हुन् ।
प्रकाशित : पुस ३, २०८० ०८:२८