कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

चाडपर्वलाई बातावरणमैत्री बनाउन जुटे ५० अभियान्ता

श्रावण ३२, २०८१
चाडपर्वलाई बातावरणमैत्री बनाउन जुटे ५० अभियान्ता

काठमाडौँ — चाडपर्वलाई वातावरणमैत्री बनाउन ५० जना अभियन्ता प्रतिबद्ध भएर जोडिएका छन् । जलवायु परिवर्तनको जोखिम कम गर्न वातावरणमैत्री चाडपर्वको अभियान सुरू गर्दै ५० अभियन्ताहरूले प्रतिबद्धता समेत जनाएका छन् ।

शुक्रबार काठमाडौंमा साथसाथै फाउन्डेसन र वन तथा वातावरण मन्त्रालयको संयुक्त सहकार्यमा आयोजित कार्यक्रमकाबीच वातावरणीय न्यायमा काम गर्न ५० जना अभियान्ताले प्रतिबद्धता जनाएका हुन् ।

अभियन्ताहरूले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न देशव्यापी रूपमा लागि पर्ने उल्लेख गर्दै कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने, सामानको पुनः प्रयोग गर्ने, वातावरण जोगाउन जनचेतना जगाउनेलगायत रहेका छन् ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने बताइन् । ‘ग्रीन तीजका लागि महिलाहरूले परिवर्तनको नेतृत्व गरिरहेका छन्,’ उनले भनिन्, ‘नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिंग द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।’ उक्त फाउन्डेसनले तीन वर्षदेखि वातावरण एवं जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आईरहेको उनले सुनाइन् ।

पचास अभियन्तामा विभिन्न क्षेत्रका भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शृेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहेका छन् ।

त्यसैगरी कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, बिमला तुम्खेवा, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत हुनुहुन्छ । अभियन्ताहरु राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रबाट समेत अभियन्ता जोडिएका छन् ।

संस्थाले वर्षभरी नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणमैत्री बनाउन हरितमैत्री सामानको पुनःप्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने लगायत कार्यक्रम तय गरेको छ ।

विवेकशील साझाकी अध्यक्ष रञ्जु दर्शनाले विश्वका विकसित राष्ट्र र पश्चिमा राष्ट्रले औद्योगिक क्रान्तिको चरणमा गरेको विकासले अहिले नेपाल जस्ता मुलुकले जलवायु परिवर्तनको समस्या भोगिरहेको बताइन् । अभियान घोषणा कार्यक्रममा बोल्दै नायिका रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायुपरिवर्तनको जोखिम नियन्त्रण गर्न जागरूक हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ ।’

यसैगरी वातावरण अधिकारकर्मी सरू श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताइन् ।

अर्की अभियन्ता भूमिका श्रेष्ठले जलवायु परिवर्तनसँग सम्बन्धीत कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्याक समुदायलाई सहभागी गराईएकोमा खुशी व्यक्त गरिन् । यसैगरी यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो रहेको विचार राखे ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित : श्रावण ३२, २०८१ १९:००
x
×