कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

‘एउटा बिन्दुमा पुगेपछि देश छाड्ने प्रवृत्ति बदलिन्छ, स्वदेश फर्कनेहरू बढ्नेछन्’

भाद्र ३०, २०८१
‘एउटा बिन्दुमा पुगेपछि देश छाड्ने प्रवृत्ति बदलिन्छ, स्वदेश फर्कनेहरू बढ्नेछन्’

Highlights

  • ‘तीस वर्षअघि नेपालमा विदेश जाने चलन धेरै थिएन । नयाँ मान्छेदेख्नेबित्तिकै कहाँबाट आउनुभएको, के गर्नुहुन्छ भन्नेजस्ता प्रश्न सोध्थे ।’
  • ‘अहिले नेपालमा मात्रै होइन, संसारभरका मानिसहरू मोबाइल मात्रै हेर्छन् । पब्लिक संवाद नै छैन ।’
  • ‘नेपालका युवायुवती केही राम्रो कुरा गर्न बाहिर जाऔं भन्नेमा देखिन्छन् । त्यो मलाई राम्रो लाग्छ ।’

काठमाडौँ — जापानको निहोन फुकुसी विश्वविद्यालयबाट विकास अध्ययन विषयमा विद्यावारिधि गरेकी प्रोफेसर मासाको तानका अहिले जापानकै सोफिया युनिभर्सिटीमा विकास अध्ययन, अन्तर्राष्ट्रिय सहकार्य, जेन्डर र दक्षिण एसियाका विषयमा प्राध्यापन गर्छिन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मा छादा उनले नेपाल, बंगलादेश र घानामा बसेर काम गरिन् । उनले पछिल्लो तीस वर्षयता नेपाली समाजको विकास, लैंगिक अवस्था र आप्रवासनका बारेमा अध्ययन र अनुसन्धान गरेकी छन् ।

जापानमा रहेका नेपाली समुदायको हक अधिकारको पैरवीमा पनि निरन्तर लागिपरेकी मासाकोसँग नेपाली समाजबारे उनको बुझाइ, जापानमा रहेका आप्रवासी नेपालीको अवस्थालगायतका विषयमा कान्तिपुरका जनकराज सापकोटाकिशोर दहालले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं ३० वर्षअगाडि पहिलो पटक नेपाल आउँदा त्यतिबेलाको काठमाडौं कस्तो थियो ?

म पहिलो पटक सन् १९९५ मा नेपाल आएकी थिएँ । त्यसपछि जाने–आउने गरिरहेकी छु । त्यतिबेला अहिले जस्तो धेरै ‘प्राइभेट’ गाडी थिएनन् । नीलो वा कालो ट्याम्पो चल्थे । मान्छेहरू मिलनसार थिए । सार्वजनिक गाडीमा बस्दाबस्दै, कुराकानी गर्दागर्दै मैले नेपाली भाषा सिक्न सकें ।

तीस वर्षअघि नेपालमा विदेश जाने चलन धेरै थिएन । नयाँ मान्छे देख्नेबित्तिकै कहाँबाट आउनुभएको, के गर्नुहुन्छ भन्नेजस्ता प्रश्न सोध्थे । मसँग मात्रै होइन, मानिसहरू पनि एकआपसमा धेरै कुरा गरिरहेको देख्थें । अहिले नेपालमा मात्रै होइन, संसारभर मानिसहरू मोबाइल मात्रै हेर्छन् । पब्लिक संवाद नै छैन ।

तपाईं केही वर्ष बिराएर नेपाल आइरहनुहुन्छ । ३० वर्षको अवधिमा नेपालमा कस्ता बदलाव देख्नुभयो ?

महिला अधिकारका विषयमा धेरै बदलाव देख्छु । किनभने महिला अधिकारको विषयमा जापानमा भन्दा नेपालको कानुन धेरै राम्रो छ । नेपालमा मिडिया, व्यापारका क्षेत्रमा महिलाहरू नेतृत्वमा पुगेको देख्छु । नेतृत्व तहमा महिलाको धेरै विकास भइसकेको छ ।

तपाईंले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मा रहेर नेपाल, बंगलादेश र घानामा पनि काम गर्नुभयो । अन्य देश र नेपालमा काम गर्दाको फरक के पाउनुभयो ?

मैले सबैभन्दा लामो समय नेपालमै काम गरें । त्यही भएर नेपालमा कति प्रगति भयो भनेर भन्न सक्छु । तर नेपालबाहेक अन्यत्र जहाँ काम गरें, ती देशको इतिहास र समस्या नै फरक भएकाले नेपालसँग तुलना गर्न त गाह्रो नै हुन्छ । तर तीस वर्षमा नेपालले गरेको प्रगति देखेर धेरै खुसी लाग्छ ।

नेपालमा सबैभन्दा धेरै प्रगति के कुरामा भयो भन्ने लाग्छ ?

नेपालमा मान्छेको आन्तरिक र बाह्य ‘मोबिलिटी’ धेरै बढी छ । राजनीतिको कुरा गर्दा, दोस्रो विश्वयुद्धपछि धेरै परिवर्तन छैन । जापानको राजनीति स्थिर जस्तो छ । युवाहरूले अलिक बढी ‘होपलेस फिल’ त गर्छन् । तर हाम्रो जापानमा युवायुवतीहरू थप कुरा खोज्न बाहिर जाऔं भन्ने इच्छा राख्दैनन् । तर नेपालका युवायुवती केही राम्रो कुरा गर्न बाहिर जाऔं भन्नेमा देखिन्छन् । यसरी केही कुरा खोज्न बाहिर जाने कुरालाई एक खालको ‘इनर्जेटिक’ सोच पनि भन्न सकिन्छ । त्यो मलाई राम्रो लाग्छ ।

केही वर्षअघिसम्म अस्ट्रेलिया तथा क्यानडा जाने विद्यार्थीको संख्या एकदमै धेरै थियो । अहिले जापान पहिलो नम्बरमा छ । गत आर्थिक वर्षमा मात्रै झन्डै ३५ हजार विद्यार्थी जापान गए । यति धेरै विद्यार्थी जापान नै किन गइरहेका होलान् भन्ने लाग्छ ?

त्यसका दुइटा कारण होला । एउटा, अस्ट्रेलिया वा क्यानडाले प्रोत्साहन गरेको माइग्रेसनलाई कोभिड महामारीपछि निरुत्साहित गरिरहेका छन् । खासगरी यस्तो नीति क्यानडाले बढी लिइराखेको छ । जापानमा भने काम गर्ने जनशक्तिको अभाव देखिन्छ । त्यसैले जापानले जुन विधाको मानिस भए पनि बाहिरबाट आउने युवा जनशक्तिलाई स्वागत गरिरहेको छ ।

जापानमा अहिले टेक्निकल इन्टर्न ट्रेनिङ प्रोगामअन्तर्गतको भिसा र विशेष क्षमता भएकालाई दिइने स्पेसिफाइड स्किल्ड वर्कर (एसएडब्ल्यू) गरेर दुई प्रकारको भिसा छ । यो कामका लागि जाने भिसा हो । यसका लागि परीक्षा पनि धेरै खालको हुन्छ । कहाँ जाने, कस्तो काम गर्ने भनेर आफैंले छनोट गर्न पनि पाइँदैन । अब अर्को भयो विद्यार्थी भिसामा जानेहरू । विद्यार्थी भिसामा जानेहरूलाई अलिक सजिलो छ । त्यही भएर पनि विद्यार्थी भिसामा जानेहरूको संख्या बढेको होला ।

नेपाली विद्यार्थीहरू पढ्न भनेर गएको भए पनि कामै गर्ने हुन् भन्ने खालको बुझाइ पनि छ । तपाईं त जापानमा हुने धेरै नेपाली विद्यार्थीसँग सम्पर्कमा पनि बस्नुहुन्छ । नेपाली विद्यार्थीको अवस्था कस्तो छ ?

मैले नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरिरहेको हुन्छु । उनीहरूको सुरुको ‘मोटिभेसन’ जे भए पनि उता पुगेपछि कोसँग भेट्छन् र कस्तो अनुभव पाउँछन् भन्ने कुराले धेरै फरक पार्छ । उदाहरणका लागि, सुरुमा कामकै लागि गएको मान्छे पनि राम्रो संगतमा परेर मास्टर्स डिग्री वा पीएचडी नै गरेका पनि भेटिन्छन् । अनि डिग्री पढ्छु भनेर गए पनि राम्रो संगत नपाएर बीचमै पढाइ छाडेका मान्छेहरू पनि छन् । त्यसैले जापान गएपछि उनीहरूले कस्तो मौका पाउँछन् र कस्तो संगत पाउँछन् भन्ने कुराले धेरै फरक पार्छ ।

त्यहाँको भाषा वा पद्धति नजानेर, कतिपय कन्सल्टेन्सीले भनेको झूटो कुरामा भर परेर पनि नेपालीहरूले दुःख पाइरहेको सुनिन्छ । त्यस्तो हुने गरेको छ ?

साँच्चै हो ।

नेपालीले के कुरामा बढी अप्ठ्यारो झेलिरहेका हुन्छन् ?

जापानको मात्रै होइन, सबै गन्तव्यको जानकारी अहिले वेबसाइटमा पाइन्छ । अलिकति सतर्क भएर त्यसमार्फत बुझियो भने आफूलाई दिइएको सूचना सही हो कि होइन थाहा भइहाल्छ । तर त्यसो नगरीकन अरूले ‘म्यानिपुलेट’ गरेको कुरा मात्रै विश्वास गर्दा समस्यामा पर्ने गरेका छन् ।

तपाईंले केही समयअघि अध्ययनको निष्कर्ष सुनाउँदै भन्नुभएको थियो– जापानले दिने सहयोगभन्दा नेपालीले जापानमा बसेर जापानी भाषा सिक्दैमा खर्च गर्छन् । के अहिले पनि अवस्था त्यस्तै छ ?

अहिले पनि त्यस्तै होला । किनभने जापानबाट नेपाल आउने विदेशी सहायता पहिला जस्तो धेरै छैन । तर यहाँबाट जाने मान्छेको संख्या बढिरहेको छ । धेरैधेरै पैसा तिरेर जानेहरू पनि छन् । पहिला विद्यार्थी भिसामा र अहिले अरू कामदार भिसामा । जसरी जाँदा पनि पैसा त खर्च भइहाल्छ । जापानको भाषा परीक्षा पढ्नेहरूले एकैचोटि पैसा नतिरे पनि अन्दाजी ४० लाख नेपाली रुपैयाँसम्म स्कुलको शुल्क तिर्दा खर्च गर्छन् ।

त्यति धेरै पैसा तिरेर नेपाली जापान जान्छन् । भाषा परीक्षा र अरू पढाइमा फेरि लाखौं खर्च गर्छन् । त्यत्रो पैसा नेपालीले काम गरेर कमाउन सक्छन् त ?

त्यो त सक्दैनन् ।

तर पनि गइरहेका छन् नि ? किन होला ?

आप्रवासीहरूको एउटा आम चरित्र के हुन्छ भने, आफू सफल नहुन्जेलसम्म स्वदेश नफर्किने । सफलताको परिभाषा पनि नेपालमा बस्ने मान्छेको भन्दा विदेशमा गएको मान्छेको धेरै ठूलो हुन्छ । त्यो सफलता खोज्दाखोज्दा ऋण पनि धेरै हुन्छ होला अनि फर्किन पनि नसक्ने होला । कोही कोही त मानसिक समस्यामा पनि परेका छन् ।

कतिपय विद्यार्थीले कामको चाप र पढाइको तनाव झेल्न नसकेर अनेक खालका समस्या भोगिरहेका छन् । नेपालका महिला विद्यार्थीको पनि अनेक खाले समस्या छ भन्ने सुनिन्छ । तपाईंले यस्ता विषयमा अध्ययन पनि गर्नुभएको छ । के देखिन्छ ?

आफैं समस्याको समाधान गर्न सकेन भने अरूसँग भर पर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ‘लिभिङ टुगेदर’ को सम्बन्धमा रहँदा नेपाली विद्यार्थीमा अनिच्छित गर्भधारणको केस पनि धेरै छ । कतिपयले यही कारण गर्भपतन गरेको र अवस्था बिग्रेपछि आत्महत्या नै गरेको पनि सुनिन्छ ।

तपाईंले जापानमा रहेका नेपालीमा गर्भनिरोधका साधनको पहुँच विषयमा पनि हालैमात्र अध्ययन सक्नुभएको छ । यो अध्ययनमा के देखियो ?

नेपालमा अहिले गर्भपतन पनि निःशुल्क छ । सम्भवतः संसारमा सबैभन्दा बढी परिवार नियोजनका साधनको उपलब्धता भएको मुलुक हो । तर जापानमा त्यस्तो विकल्प धेरै कम छ । स्वास्थ्य बिमामा पनि छुट मिल्दैन ।

उदाहरणका लागि, जापानमा गर्भपतनका लागि कम्तीमा पनि एक लाख रुपैयाँ खर्च गर्नुपर्छ । तर नेपालमा त कतिपय कुरा सरकारी स्वास्थ्य चौकीमा निःशुल्क हुन्छ । त्यसकारण जापानमा पनि नेपालमै जस्तो होला भनेर सोच्दा धेरै गाह्रो हुने गरेको छ । कतिसम्म भने जापानमा पिल्स चक्कीकै दुई/तीन हजार रुपैयाँ पर्छ । त्यसैले कतिपय नेपालीले नेपालबाटै पिल्स बोकेर जान्छन् ।

नेपाली महिला विद्यार्थी र डिपेन्डेन्ट भिसामा बसिरहेका नेपाली महिलाको अवस्था कस्तो देख्नुहुन्छ ?

जापानमा नेपाली महिला विद्यार्थी र डिपेन्डेन्ट भिसामा गएका श्रीमतीहरू गरी दुई समूह छन् । विद्यार्थीहरू आफू पनि जापानी भाषा सिकिरहेका छन्, त्यसकारण धेरै समस्यामा देखिन्नन् । तर डिपेन्डेन्ट भिसामा गएका कतिपय महिला गाउँबाट सिधै टोकियो पुगेका छन् । उनीहरू भाषाको समस्याका कारण धेरैजसो कुराकानी गर्न नपर्ने ठाउँमा काम गर्छन् । जस्तो कि, होटलहरूमा बेड सिट मिलाउने, सरसफाइको काम । उनीहरूलाई श्रमको अधिकार के हो ? जापानको नियम के हो भन्नेबारे पनि जानकारी हुन्न । एजेन्टबाट जानेहरू पनि समस्यामा त परेका छन् । तर परिवारकै मान्छेबाट जाने पनि समस्यामा परिरहेको देख्छु ।

जापानमा नेपालीहरूको संख्या ठूलो छ । जापानी नागरिकका रूपमा नेपालीको प्रगतिलाई कसरी हेर्नुहुन्छ ?

अहिले जापानमा नेपालीको संख्या दुई लाख जति भइसक्यो । त्यसको १० प्रतिशत १८ वर्षभन्दा मुनिका बालबालिका छन् । प्रगति गरेका केही नेपालीहरूको आफ्नै व्यापार व्यवसाय छ । कोही शिक्षक वा प्रोफेसर पनि छन् । म दुई वर्षअघि अमेरिकाको न्युयोर्कमा रहेका नेपाली समुदायका बारेमा पनि अनुसन्धान गर्न पुगेकी थिएँ ।

त्यो अनुसन्धानमा मलाई अचम्म लागेको कुरा भनेको, पहिले जापान बसेकाहरू नै बसाइँ सरेर न्युयोर्क पुगेका रहेछन् । यसको अर्थ मानिसमा नयाँ ठाउँ पुगेमा झन्झन् चाहना बढ्ने रहेछ । त्यसैले टोकियोमा सफल भए पनि ‘यतिले पुगेन’ भनेर अमेरिका जाने रहेछन् । जापानमा जापानीहरू बहुसंख्यक हुने र विदेशी आप्रवासी अल्पसंख्यक हुने अवस्था थियो भने न्युयोर्क त आफैंमा आप्रवासीहरूको सहर जस्तो भएकाले त्यहाँ नेपालीलाई धेरै सजिलो रहेछ ।

जापानमा अहिले नेपालीको तेस्रो पुस्ता पनि हुर्किरहेको छ । पहिलो र तेस्रो पुस्ताबीच पेसागत सीप, दक्षता वा कमाइमा केही फरक छ ?

फरक छ । सन् १९९० तिर कुक भिसामा आएका मान्छे आफ्नो बाबु, आमा वा हजुरबा, हजुरआमा नेपालमा भएकाले स्वदेश फर्केको पनि देखिन्छ । अथवा, नेपाल र जापान दुवैतिर जाने–आउने गरेको पनि देखिन्छ । दोस्रो पुस्ताले भने बाआमाकै रेस्टुरेन्ट भए पनि कुक भिसा नपाउने भएकाले अर्को पेसामा जानुपर्ने देखिन्छ । कुक भिसामा काम गर्नेका छोराछोरीले जापानमा विश्वविद्यालय र हाइस्कुलमा पढेकाले त्यहींका कम्पनीमा काम गरिरहेको देखिन्छ ।

जापानमा ठूलो संख्यामा नेपालीहरू रेस्टुरेन्ट क्षेत्रमा नै छन् होइन ?

हो । तर, अहिले बिस्तारै विद्यार्थी भिसामा गएर जापानका कम्पनीभित्र छिरेका मान्छेको संख्या बढ्दै गएको छ । सन् २००४ तिर कुक भिसामा जाने नेपालीको संख्या ठूलो थियो । तर, अहिले विद्यार्थी भिसामा जाने ६० प्रतिशतभन्दा बढी छन् । दोस्रो भने डिपेन्डेन्ट भिसामा जानेहरू छन् । विद्यार्थी भिसामा गएर कामदार भिसामा बदल्नेहरूको समूह पनि अहिले बढ्दै छ । त्यसैले अब कुक भिसामा बस्ने नेपालीको संख्या घट्दै जाने देखिन्छ ।

जापानबाट फर्किनुभएका विजय ज्ञवालीले पुस्तक लेख्नुभएको छ– ‘चिज नान’ । उक्त किताबले जापानका नेपाली रेस्टुरेन्टमा नेपालीमाथि श्रम शोषण भइरहेको तथ्य उल्लेख गरेको छ । के अहिले पनि यस्तै अवस्था छ ?

त्यस्तो प्रवृत्ति अहिले कम हुँदै गएको छ । विजयजीको किताब मैले नै जापानी भाषामा अनुवाद पनि गरें । सायद त्यो किताब जापानको इमिग्रेसन अफिसरहरूले पनि पढे होलान् । त्यसैले अहिले नियम निकै कडा पारिएको छ । अहिले त कुकको भिसा पाउन पनि गाह्रो छ । त्यसैले होला नेपाली रेस्टुराँमा भारतीयहरू नेपाली टोपी लगाएर काम गर्छन् । किनभने नेपालबाट नयाँ मान्छेले भिसा पाउन गाह्रो छ । नेपालीको रेस्टुराँमा धेरै समस्या छ । जापानको कानुनअनुसार श्रम सम्झौताका कागजमा लेखेको कुरा र उनीहरूको वास्तविकतामा धेरै फरक छ ।

जस्तो कि सम्झौतामा मासिक ३ लाख ५० हजार पाउने उल्लेख छ । तर कामदारले एक लाख पनि नगद पाएको देखिन्न । यस्तो अवस्थाले गर्दा स्वास्थ्य बिमा, कर जस्ता कुराहरूमा समस्या छ । कागजमा एउटा हुने र तलब अर्को हुने समस्या छ । जापान सरकारले पछिल्लो ५ वर्षमा सबै कर र स्वास्थ्य बिमा नतिरे स्थायी आवास अनुमति नपाउने नियम सुरु गरेको छ । त्यसैले धेरै मान्छेले मैले स्थायी आवास अनुमति पाउँदिन कि भनेर युरोप वा अमेरिका जान खोज्नेहरू पनि छन् ।

तपाईं सोफिया विश्वविद्यालयमा विकास अध्ययन, अन्तर्राष्ट्रिय सहकार्य, जेन्डर र दक्षिण एसियाको विषयमा अध्यापन गर्नुहुन्छ । नेपालको विकासलाई पनि तपाईंले अवलोकन गर्नुभएकै छ । नेपालको विकासको गति कस्तो छ ?

विकास भनेको पुल वा बिल्डिङ बनाउने मात्रै होइन नि । मान्छे बनाउनु पनि हो । मान्छे बनाउने कुरामा नेपाल सरकार अलि गैरजिम्मेवार भएको जस्तो लाग्छ । किनभने रेमिट्यान्सबाट धेरै आम्दानी हुन्छ । तर रेमिट्यान्सबाट विदेशमा बस्ने नेपालीको सन्तानलाई फाइदा छैन । यसपाला म वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको मातृभाषाको शिक्षाबारे अध्ययन गर्न आएकी हुँ । अरू देशले रेमिट्यान्सको सदुपयोग स्थानीय विकासका निम्ति गरेका छन् ।

साथै इन्डोनेसिया, भियतनामका आप्रवासीहरूले मातृभाषाको शिक्षामा पनि खर्च गरिरहेका छन् । यी देशहरूले रेमिट्यान्स धेरै नै बुझ्छन् । त्यसअनुसार आप्रवासीलाई प्रतिफल पनि धेरै नै दिएका छन् । त्यसैले आप्रवासीहरूमा पनि आफ्नो देशप्रति धेरै नै माया हुन्छ । अहिलेको नेपालको अवस्था हेर्दा यहाँ भवन त धेरै नै बने । तीस वर्षमा यति धेरै भवन बन्लान् भनेर सोचेको पनि थिइनँ । तर यी भवनमा को–को बस्छन् त भनेर सोच्दा के पाइन्छ त ?

सरकारले मान्छेको प्रगतिलाई त्यति महत्त्व दिएर लगानी गरेजस्तो लाग्दैन । विकास भनेर हार्डवेयरमा मात्रै होइन, सफ्टवेयरमा पनि ध्यान दिनुपर्छ । यसका लागि अर्को पुस्ता, जो बाहिर बसेको छ, ती नेपालीहरूको शिक्षामा पनि राज्यले लगानी गर्नुपर्छ ।

अहिले नेपालबाट हरेक दिन दुई हजारदेखि २२ सय नेपाली बाहिर गइरहेका छन् । तपाईंले भनेजस्तै यो गतिशीलताका हिसाबले राम्रो हो कि अथवा देशका लागि घाटा ?

संसारभरको इतिहास हेर्दा सबै जनताले देश छोडेर त्यो देश नै बन्द भएको एउटा पनि उदाहरण छैन । अहिले नेपालीहरूले भन्नुहुन्छ नि, नेपालमा को बस्छ ? सबै जनाले छोडेर जान्छन् । तर इतिहास हेर्दा त्यस्तो देश एउटा पनि छैन । मलाई लाग्छ, उच्चतम बिन्दुमा पुगेपछि देश छाड्ने प्रवृत्ति बदलिन्छ र स्वदेश फर्किनेहरू बढ्छन् होला । जापान पनि दोस्रो विश्वयुद्धभन्दा अगाडि आउट माइग्रेसनको देश थियो ।

जापानबाट ब्राजिल, अमेरिका रोजगारीमा जाने चलन थियो । कोरिया पनि त्यस्तै देश थियो । तर जापान, कोरिया दुवै अहिले विदेशबाट कामदार लिने देश भएका छन् । त्यसैले नेपालबाट पनि सबै विदेश गएर देश खाली हुन्छ भन्ने त हुँदै हुँदैन । तर विदेशबाट फर्किने क्रम कति छिटो वा ढिलो हुन्छ भन्नेचाहिँ महत्त्वपूर्ण कुरा हो । आप्रवासनको ‘पिक पोइन्ट’ कुन भन्ने कुरा हो । नेपालभित्रको सामाजिक सुरक्षा र स्वास्थ्य सुरक्षामा राज्यले लगानी बढाउँदै जानुपर्छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०९:२२
×