कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गेटामा मेडिकल विश्वविद्यालय स्थापना विधेयक प्रतिनिधिसभामा

श्रावण १३, २०८१
गेटामा मेडिकल विश्वविद्यालय स्थापना विधेयक प्रतिनिधिसभामा

काठमाडौँ — सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि आइतबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएको छ ।

राष्ट्रिय सभामा २०८० असोज १९ मा दर्ता भई पारित भएर आएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री विद्या भट्टराईले संसद्मा प्रस्तुत गरेकी थिइन् । विधेयकमा सुदूरपश्चिमको धनगढीमा स्थापित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले संसदीय समितिले समेत अध्ययन गरेर गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको स्मरण गर्दै विधेयक छिटो पारित हुनुपर्ने बताए ।

सांसद रघुजी पन्तले विश्वविद्यालय स्थापना भए सुदूरपश्चिमको स्वास्थ्य सेवालाई उन्नत बनाउने बताए । त्यहाँको अर्थतन्त्रमा समेत प्रभाव पार्ने उनको भनाइ थियो । सांसद पन्तले विश्वविद्यालयको मापदण्ड पूरा गरेर मात्र स्थापना गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीलाई कुलपतिको सट्टा संरक्षक राखेर स्वायत्तता बनाउनुपर्ने सुझाव दिए । सांसद राजेन्द्रकुमार केसीले नेपालमा मेडिकल शिक्षाको ठूलो आकर्षण रहेकाले विधेयक छिटो पारित गर्नुपर्नेमा जोड दिए । विधेयक पास भएर विश्वविद्यालय स्थापना भए उपचार र अध्ययनका लागि भारत जाने पैसा रोकिने विश्वास उनले व्यक्त गरे । छलफलमा बोल्दै सांसदहरूले छिटोछरितो तरिकाबाट विधेयक पास गरी विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए । विश्वविद्यालय स्थापनाका लागि गेटामा पूर्वाधार निर्माणको काम सकिएको छ भने एक सय बेडको अस्पतालसमेत सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : श्रावण १३, २०८१ १८:२२
×