फिल्म मेकर हेमराज

सुशील पौडेल

‘होस्टेल’ बाट निर्देशनमा डेब्यू गर्दैगर्दा हेमराज बुढाथोकी क्षेत्री (बीसी) ले नायकको रूपमा अनमोल केसीलाई पनि ब्रेक दिए । तिनै अनमोल लाइमलाइटमा पर्दा हेमराज छायाँमा परे । यही सिलसिला ‘जेरी’ मा पनि दोहोरियो ।

फिल्म मेकर हेमराज

दयाहाङ राईलाई लिएर ‘सम्बोधन’ बनाए, फिल्म नै चलेन । अनमोललाई नै लिएर पछिल्लो फिल्म ‘गाजलु’ बनाए । कुमारीको विषयले यसपटक भने हेमराजलाई केही चिनायो । पाचौं फिल्म ‘ग्याङस्टार ब्लुज’ सम्म आइपुग्दा पनि हिट फिल्मका निर्देशक हेमराज अझै छायाँमै छन् । 

‘होस्टेल’ गर्नुअघि छ/सात वर्षदेखि बम्बई फिल्म इन्टस्ट्रीमा रहेर काम गरिरहेका हेमराज उमेरले १९ वर्ष टेक्दै गर्दा पहिलो पटक बम्बई टेकेका थिए, निर्देशक बन्ने उद्देश्यले । नेपालगन्जको मध्यमवर्गीय परिवारमा जन्मेका उनमा प्लस टु पढ्दै गर्दा फिल्म मेकिंग पढ्ने भूत सवार भयो । भूत जगाउने काम भने कलेजकै प्रिन्सिपल चित्र भण्डारीले गरिदिएका थिए । त्यो बेला प्रिन्सिपलले एरिक भ्यालीको ‘क्याराभान’ ल्याएर देखाएनन् मात्रै । 
भने, ‘एउटा मान्छे फ्रान्सदेखि आएर नेपालको दूर्गममा गई फिल्म बनाउँछ, जहाँको भाषा, ठाउँबारेमा हामीलाई नै थाहा छैन ।’ र, त्यही गाउँको बुढोलाई एक्टर बनाएर ओस्कारको रेड कार्पेटसम्म लिएर जान्छ । जहाँ विश्वभरका कलाकारको पुग्ने सपना हुन्छ । फिल्म मेकिंगको शक्ति भनेको यही हो ।’ त्यो भन्दा अघिसम्म हिरो–हिरोइन नै फिल्मको शक्ति हो भन्ने ठान्ने हेमराजका लागि निर्देशक बन्ने मोह त्यसपछि जाग्यो । ‘त्यसपछि मप्रति निर्देशक बन्ने सोच बढ्दै गएको हो,’ उनले भने ।’ 
प्लस टु सकेपछि एक वर्ष घरकालाई राजी गराउन लागे । पढ्ने मान्छे फिल्म लाइनमा लाग्दैनन् भन्ने आम सोच उनको बाबामा पनि थियो । घरकालाई कन्भिन्स्ड गरेर पढ्न सक्छु जस्तो लागेन हेमराजलाई । एकदिन बाबाले बैंकमा जम्मा गर्न भनी दिएको पैसा लिएर रातको ३ बजे घरबाट भागे बम्बई । ‘भाग्नुअघिको रात निद्रा लागेन । मनमा अनेक कुरा खेलिरहे । डर पनि । जाऊ की नजाऊ भईरहेको थियो । सक्छु की सक्दिनँ भन्ने थियो । दिमाग र मनको फाइट चलिरहेथ्यो । मनले भन्थ्यो, हैन यार, सक्दैनस्,’ उनले भने । 
हेमराजको संगत जहिल्यै सिनियरसँग मात्रै हुन्थ्यो । जून उमेरमा करिअरका लागि उनी आत्तिरहेका थिए, सायद त्यो आत्तिनुपर्ने बेला थिएन । त्यो बेला उनका साथी सर्कलकाहरू आत्तिरहेका हुन्थे । उनी पनि आत्तिए । कक्षा पाँचसम्म टपर नै थिए हेमराज । तर जति कक्षा चढ्दै गए, पढाईमा त्यति नै बिग्रदै गए । ‘म घुसघुसे बदमासी धेरै गर्थें । बम्बई गएपछि नै ममा परिवर्तन आयो । देखें, वास्तविक संसार कति फरक छ भनेर । आफुभित्रको इनर पीस बुझें’ उनले थपे । 
भागेर बम्बई गएका हेमराज घर फर्किनु पर्ने भयो । ‘फिल्मकै लागि अस्ट्रेलिया जानुपर्ने भएपछि पासपोर्ट बनाउन नआई सुखै पाईनँ, आएँ तर एकरात मात्रै बसें,’ बोर्डरसम्म लिन पुगेका बाबासँग उनको एक शब्द पनि कुराकानी भएनछ । बाबुछोरा नै हठी स्वभावका । ‘बाबाले मलाई पकेटको पैसा सकाएपछि फर्किन्छ । त्यसले केही गर्न सक्ने हैन भन्नुहुन्थ्यो रे । मेरो इगो त्यही थियो । आफु केही नबनी त फर्कदै फर्कन्नँ भन्ने थियो’ तर सात वर्षपछि भने फेरि बम्बई नफर्किने गरी देश फर्कनै पर्ने भयो ।
सन् २०११ को अन्त्यतीर हेमराजको बाबाको निधन भयो । त्यो बेलासम्म पनि १५ दिनको बिदा लिएर फर्किने गरी आएका थिए हेमराज । करिअरले भर्खर बामे सरिरहेको थियो । साथी सर्कल बढिरहेको थियो । टीभी सिरियल र बी ग्रेडका फिल्ममा निर्देशन टीममा काम पाउन थालिसकेका थिए । ‘ तर जीवन आफुले योजना बनाए अनुसार नचल्ने रहेछ’ हालैको एक भेटमा हेमराज आफ्ना पुराना दिन र संघर्षमा घोत्लिए । बाबाको निधनले घरको मियो ढलेपछि समस्या देखिन थाल्यो । 
आड भरोसा दिने कोही नहुँदा भाई डिप्रेसनमा पुगे । त्यसपछि हेमराजले परिवार पहिलो कर्तव्य ठानी बम्बई करिअर चटक्क छोडेर घर आए । त्यो बेला पनि उनलाई नेपाली फिल्ममा आउँछु भन्ने सोच नै रहेनछ । ‘नेपाली फिल्म उद्योग खासै राम्रो थिएन । बीचमा संकटकाल लागेपछि त देशकै हरिविजोग थियो, फिल्मको मात्रै के कुरा ? त्यो बेला मलाई यहाँ आउन आकर्षित गर्ने कुरै केही थिएन जस्तो लाग्छ । त्यहीं राम्रै भईरहेको थियो’ त्यसो त हेमराजको बम्बई छोडेर घर फिर्ने सोच पनि त थिएन । 
आखिर सुनील रावलले ‘होस्टेल’ मा लिएपछि उनको लाइफको गेम चेन्ज भयो । त्यो बेलासम्म ‘लुट’, ‘ब्याच नम्बर १६’ जस्ता केही फिल्म हेरेपछि नयाँ फिल्ममेकर पनि आउँदै रहेछन् भनेर सकारात्मक बनेका हेमराज ‘लुट’ चलेपछि भने दर्शकले नयाँ चीज खोजिरहेको छ भन्नेमा पुगे । ‘त्यसले पनि ममा इनर्जी दियो’ उनी भन्छन् । समस्याबाट भाग्ने हैन जुध्ने हो भन्ने ज्ञान हेमराजले बम्बईबाटै पाएका थिए ।‘होस्टेल’ मा उनले त्यही सिप पोख्न पाए । उनी नेपाली फिल्म भनेपछि नाख खुम्चाउने युवा पुस्तालाई हलसम्म तान्न सफल भए । 


तर हेमराजलाई ‘होस्टेल’ मा सीमित हुनु थिएन । किनभने उनले त्यसमा आफ्ना थुप्रै कमजोरी भेटेका थिए । ‘नढाँटी भन्ने हो भने आफ्नो फिल्म हेरेर सबैभन्दा बढि गाली मैले आफैंलाई गर्छु । तपाईको कामको लागी तपाई भन्दा राम्रो क्रिटिक्स अरू कोही हुनै सक्दैन’ दिमागमा जे छ त्यो, भिजुअल्ली उतार्नु नै फिल्म मेकिंगको जर्नी ठान्ने हेमराज दोस्रो फिल्म ‘सम्बोधन’ मा केही गहन हुन खोजे । ‘तर त्यो मेरो गलत समयमा गलत बजेटमा बनेको फिल्म थियो’ यतिबेला आएर उनी रियलाइज्ड गर्छन् । 
उनले थपे, ‘जति बेला दिमागमा फिल्म हुन्छ, त्यो बेला अर्कै हुन्छ । तर जब प्राक्टिकल्ली फिल्डमा उत्रिन्छ, फरक पर्छ ।’ त्यसो त फिल्म मेकिंग टीम वर्कमा भर पर्छ । ‘हामी लिमिटेड बजेटमा काम गर्छौं । एकजनाले दुई, तीन डिपार्टमेन्टको काम गर्दिन्छौं । अनि नतिजा काम चलाउ मात्रै हुन्छ । तर पनि कुनैबेला नेपाली फिल्ममा भविष्य कहाँ छ भन्थे, अहिले यसैमा भविष्य देख्न थालेका छन्’ यतिबेला हेमराज आशावादी पनि छन् ।
हेमराज फिल्म मेकिंगलाई जिवनसँग तुलना गर्न रूचाउँछन् । भन्छन्, ‘यो दुवै बुझ्न गाह्रो छ । पर्फेक्ट दुवै हुँदैन । जिन्दगी बाँच्ने पनि तरिका हुन्छ । गहिराईमा गएर बाँच्ने वा सतहमा नै रमाउने ? जति गहिराईमा जान खोज्नु हुन्छ, जिवन त्यती जटिल लाग्छ । फिल्म पनि त्यही हो । ‘होस्टेल’, ‘जेरी’ जस्तै सतही फिल्म बनाउनुस् वा गहिराईमा जान खोज्नुस्, त्यति तह, आयाम भेट्नुहुन्छ ।’ त्यसो त शुरुवाती दुई फिल्म ‘होस्टेल’ र ‘जेरी’ पछि हेमराजलाई लभस्टोरी जानराको निर्देशक नै भनिन थाल्यो । 
तर उनी भने आफुलाई जबरजस्ती उक्त ट्याग भिराइएकोमा खुशी छैनन् । ‘म केवल फिल्म मेकर मात्रै हो । म त्यो ट्याग लिएर हिंड्न चाहन्नँ’ कारणमा उनी बोले, ‘आगामी दिनमा म डरलाग्दा प्रयोगहरू गर्ने वालामा छु । म बजारमा जे बिकिरहेको छ, त्यो बेचौं भन्ने मात्रै सोचमा छैन । सबैजना ‘होस्टेल’ वा ‘जेरी’ नै मबाट आशा गरिरहेका बेला थोरै भएपनि मैले ‘गाजलु’ बाट सरप्राइज दिन चाहें । होला, त्योबाट मैले थुप्रै गाली पनि खाएँ । तर म सधैं ‘जेरी’ बनाईरहन सक्दिनँ ।’ 
फिल्ममेकर जसरी परिपक्व हुँदै जान्छन्, दर्शक पनि हुनुपर्छ भन्ने सोच हेमराजको छ । ‘दर्शकबाट जे माग हुन्छ, फिल्ममेकरले त्यही आपूर्ति गर्ने हो,’ उनले थपे, ‘जबसम्म राम्रो फिल्मको माग गर्नुहुन्न भने ‘जेरी’ जस्तै फिल्म चलिरहन्छ । त्यो विकास हैन । हरेक वर्ष कार, बाइकको मोडल किन चेन्ज हुन्छ ? सबैजना अपग्रेड हुन चाहन्छन् ।’ फिल्म मेकिंगमा आफ्नोपन भएन भनेर मेकरलाई लाग्ने आरोपको समान भागीदार दर्शक पनि देख्छन्, उनी । 
दर्शकले पनि बलिउड फिल्मको स्वाद फेर्न जरुरी रहेको जिकिर गर्दै भने, ‘खासमा जो भिन्न फिल्म भएन भनिरहेको हुन्छ, त्यो दर्शक हलमा फिल्म हेर्नमा भन्दा टोरेन्ट वा युट्युबमा कुरेर बसिरहेको हुन्छ । त्यस्ता दर्शकले उद्योगलाई कुनै इनपुट दिंदैनन् । हामी कसका लागि फिल्म बनाउने ? जबसम्म युट्युबमा कमेन्ट गर्दै बस्ने हलमा आएर फिल्म हेर्दैन, तबसम्म ‘साँघुरो’, ‘कालोपोथी’ वा ‘पशुपतिप्रसाद’ को अकुपेन्सी बढ्दैन ।’

प्रकाशित : भाद्र २, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?