कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लेबनानमा वाकीटकी विस्फोटमा ३ जनाको मृत्यु, सयभन्दा बढी घाइते   

आश्विन २, २०८१
लेबनानमा वाकीटकी विस्फोटमा ३ जनाको मृत्यु, सयभन्दा बढी घाइते   

काठमाडौँ — लेबनानका विभिन्न स्थानमा सञ्चारका लागि प्रयोग गरिने वाकीटकी विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटका कारण सय जनाभन्दा बढी घाइते भएका छन् । 

लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोटमा १२ जनाको ज्यान गएको भोलिपल्ट वाकीटकी विस्फोट भएको हो । पेजर विस्फोटमा कम्तीमा ३ हजार जना घाइते भएका थिए ।

समाचार संस्था एपीका अनुसार पेजर विस्फोटमा ज्यान गुमाएका हेजबुल्लाह सदस्यहरूको बेरुतमा अन्तिम संस्कार भइरहेको स्थानमा भएको विस्फोटमा तीन जनाको ज्यान गएको हो । विस्फोटमा घाइतेको हात र पेटमा चोट लागेको छ ।

हेजबुल्लाह समूहका सदस्यहरूले बोक्ने वाकीटकी विस्फोट भएको समूहका एक अधिकारीले जनाएका एपीले उल्लेख गरेको छ ।

हिजबुल्लाहले मंगलबार भएका पेजर विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । घटनाबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि, उक्त आक्रमण इजरायली गुप्तचर निकाय र इजरायली सेनाले संयुक्त रुपमा गरेको सीएनएनले जनाएको छ ।

करिब एक वर्षअघि गाजामा युद्ध सुरु भएयता इजरायल–लेबनन सीमामा सधैंजसो गोली हानाहान हुँदै आएको छ । गत सेप्टेम्बर ७ मा प्यालेस्टिनी समूह हमासले उत्तरी इजरायल आक्रमण गरेयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४१ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

हेजबुल्लाहले इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासलाई आफूले सहयोग गरिरहेको बताउँदै आएको छ । दुवै समूहलाई इजरायल, अमेरिका, यूके लगायतका कतिपय देशले आतंककारी समूहको सूचीमा राखेका छन् ।

प्रकाशित : आश्विन २, २०८१ २१:५५
x
×