कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

इजरायलले आक्रमण गर्दा सिरियामा १४ जनाको मृत्यु

भाद्र २४, २०८१
इजरायलले आक्रमण गर्दा सिरियामा १४ जनाको मृत्यु

दमास्कस — इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४३ जना घाइते भएका छन् । 

सरकारी समाचार संस्था सानाका अनुसार मस्याफ आसपासका विभिन्न स्थानमा इजरायलले आइतबार राति आक्रमण गरेको हो । यसअघि घटनामा पाँच जनाको ज्यान गएको र १९ जना घाइते भएका जनाइएको थियो ।

‘इजरायली सेनाले शनिबार राति ११ बजेर २० मिनेटमा उत्तरपश्चिमी क्षेत्रमा विभिन्न सैन्य अखडालाई लक्षित गरी हवाई आक्रण गरेको छ,’ सैनिक स्रोतलाई उद्धृत गर्दै सानाले जनाएको छ । आक्रमणबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

इजरायलले पछिल्लो समय छिमेकी देशमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहविरुद्ध कारबाही तीव्र पार्दै गएको छ । गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको थियो ।

त्यसयता इजरायलले गाजामा गरेका आक्रमणमा करिब ४१ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ । गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा अधिकांश महिला र बालबालिका छन् ।

इजरायलले पछिल्लो समय लेबनान र यमनमा रहेको विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । केही समयअघि लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजबुल्लाह समूहका सैन्य शाखा कमाण्डर मारिएका थिए ।

त्यस्तै इरानमा मारिएका हमास नेता इस्माइल हानियाको मृत्युका लागि इजरायलको जिम्मेबार रहेको इरान र हमासले दाबी गर्दै आएका छन् । यद्यपि, हानियाको हत्यामा आफ्नो संलग्नताबारे भने इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : भाद्र २४, २०८१ १४:१८
x
×