कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

अमेरिकी विदेशमन्त्री इजरायलमा : गाजामा होला त युद्धविराम ? 

भाद्र २, २०८१
अमेरिकी विदेशमन्त्री इजरायलमा : गाजामा होला त युद्धविराम ? 

Highlights

  • इजरायलले पछिल्लो २४ घण्टामा गरेका आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनी मारिए

जेरुसलेम — गाजामा युद्धविरामको पहलका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन आइतबार इजरायल पुगेका छन् । गाजा क्षेत्रमा १० महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले वार्ता गरिरहेका छन् । 

प्यालेस्टिनी विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता उक्त क्षेत्र निकै तनावग्रस्त छ । हमासको आक्रमणमा ११ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यसका साथै हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो ।

आक्रमणपछि क्रुद्ध इजरायलले प्यालेस्टाइनमा जवाफी आक्रमण सुरु गरेको हो । आक्रमणका कारण दश महिनाको अवधिमा ४० हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । मारिनेमध्ये अधिकांश महिला र बालबालिका छन् । मृत्यु हुनेको संख्या प्यालेस्टाइनको कूल जनसंख्याको १.७ प्रतिशत हो । त्यस्तै, इजरायली सेनाको आक्रमणका कारण गाजा क्षेत्रका करिब ६० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् ।

त्यसयता विभिन्न चरणमा युद्धविरामका लागि वार्ता भएपनि सफल हुन सकेका छैनन् । युद्ध सुरू भएयता अमेरिकी विदेशमन्त्री ब्लिंकेन नवौंपटक मध्यपूर्व क्षेत्र पुगेका हुन् । आगामी दिनमा इजिप्टको कायरोमा युद्धविराम वार्ता सुरू हुनुअघि उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अन्य नेताहरूसँग भेटघाट गर्ने जनाइएको छ । इजरायली आक्रमणपछि गाजाको खान युनिस क्षेत्रबाट अन्यन्त्र जाँदै स्थानीयहरू । तस्बिर : एपी  

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार गाजा क्षेत्रको वार्ताका लागि ‘पहिलेभन्दा निकै नजिक पुगेको’ बताएका थिए । मध्यस्थकर्ताहरूले गाजा युद्धविराम सम्झौताको नजिक पुगेको जनाएका थिए । मध्यस्थकर्ताहरूले युद्धरत पक्षहरूबीच सहमति जुटाउन प्रयास भइरहेको बताउँदै आएका छन् ।

तर शनिबार मात्रै हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए । हमासका राजनीतिक ब्युरो सदस्य सामी अबु जुहारीले समाचार संस्था एएफपीससँग दोहामा दुई दिनसम्म चलेको वार्तापछि प्रगतिका विषयमा भ्रम भएको बताएका छन् । ‘हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेको नभई अमेरिकी निर्देशनबारे छलफल गरिरहेका छौं,’ उनले भनेका छन् ।

जुहारीको प्रतिक्रियापछि महिनौंसम्म चलेको युद्धविराम वार्ता सकारात्मक दिशामा अघि नबढेको आशंकासमेत पैदा भएको छ । जुलाई अन्त्यमा हमासका राजनीतिक प्रमुख इस्माइल हानिया र इरान समर्थित लडाकू नेताहरूको एकपछि अर्को गर्दै हत्या गरिएपछि इरानले इजरायलसँग बदला लिने बताउँदै आएको छ । जसका कारण मध्यपूर्वको तनाव थप उत्कर्षमा पुगेको छ । इजरायली आक्रमणपछि गाजाकाे खान युनिस क्षेत्रबाट अन्यन्त्र जाँदै स्थानीयहरू । तस्बिर : एपी

अमेरिकाले इरानलाई बारम्बार इजरायलविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिँदै आएको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई लक्षित गरी कुनै आक्रमण भए त्यसको नतिजा भयावह हुने बताउँदै आएका छन् । त्यस्तै, यूके, फ्रान्स, जर्मनी र इटालीले एक संयुक्त विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रयासप्रति समर्थन जनाएका छन् । उनीहरूले सम्बद्ध सबै पक्षलाई तनाव गर्न आग्रह समेत गरेका छन् ।

पछिल्ला दिनमा इजरायलले गाजा क्षेत्रमा आक्रमण समेत तीव्र पारेको छ । शनिबार मात्रै इजरायली सेनाले इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण गरेको थियो । आक्रमणमा कम्तीमा १० जनाको ज्यान जानुका साथै पाँचजना घाइते भएका थिए । इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । त्यस्तै, गाजा क्षेत्रमा पछिल्लो २४ घण्टामा इजरायलले गरेका विभिन्न आक्रमणमा २१ जनाको ज्यान गइसकेको छ ।

यसले प्यालेस्टिनी पक्षलाई थप सशंकित बनाएको छ । हमास नेता ओसामा हम्दानले ‘युद्धविराम र बन्दी साटासाट गर्ने सहमतिका लागि इजरायली प्रधानमन्त्री नेतान्याहु’ बाधक भएको बताएका छन् । त्यस्ते, हमास प्रवक्ता जिहाद ताहाले अल जजिरा टीभीसँगको कुराकानीमा युद्धविरामका लािग इजरायलले थप सर्तहरू राखेको आरोप लगाएका छन् । जसले तत्काल सम्झौता हुने आशंका थपि बढेको छ ।  

प्रकाशित : भाद्र २, २०८१ १७:४२
x
×