कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

महिला लिग फुटबल आजदेखि

भाद्र १६, २०८१
महिला लिग फुटबल आजदेखि

काठमाडौँ — एन्फा महिला लिग फुटबल प्रतियोगिता आइतबार सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको पहिलो दिनमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच खेल हुनेछ । असोज १२ सम्म हुने पहिलो चरणका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्से र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

कोशी र वालिङसहित नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युवा क्लब, चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश, सुदूरपश्चिम टिमले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा सहभागी १० टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसको शीर्ष ५ टोली सुपर लिगमा जानेछ । सुपर लिग डबल राउन्ड रोबिनमा हुनेछ । सुपर लिग तिहारपछि हुने सम्भावना रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले बताए ।

लिग विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रायोजक र गेटमनिबाट आउने रकमपछि नगद पुरस्कारमा वृद्धि पनि हुनसक्ने मिश्रले जनाए । प्रतियोगिताका उत्कृष्ट खेलाडी र फेयर प्ले टोलीले जनही १ लाख पाउनेछन् । उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान ५० हजार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउनेछ ।

प्रतियोगिताको लागत २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ रहेको छ । प्रतियोगिता निर्देशक मिश्रका अनुसार विश्व फुटबल महासंघ (फिफा) ले तीन संस्करणका लागि यो रकम उपलब्ध गराउने छ । त्यसका लागि हरेक वर्ष प्रतियोगिता र क्लबको स्थिति पनि सुधार हुनुपर्ने सर्त राखिएको मिश्रले बताए ।

प्रकाशित : भाद्र १६, २०८१ ०५:५१
x
×