कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठूला क्लबले चाहेजस्तै च्याम्पियन्स लिग

भाद्र १५, २०८१
ठूला क्लबले चाहेजस्तै च्याम्पियन्स लिग

मोनाको — युरोपेली च्याम्पियन्स लिगले नयाँ संरचना पाएको छ । यो कस्तो छ भन्दा क्लबले धेरै खेल खेल्ने छ । त्यहीअनुसार धेरै पनि कमाउने छ । यसको ‘ड्र’ बिहीबार राति निकालिएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) यस्तो खाले प्रतियोगिताको आयोजना गर्न ठूला क्लबको निरन्तर दबाबमा थियो । 

अब पारम्परिक समूह चरणको खेल हुने छैन । बरू सबै टिम एउटै समूहमा हुनेछन् भन्दा हुन्छ । सन् २००३ यता च्याम्पियन्स लिगले नयाँ ढाँचा पाएको हो । खासमा अब यो प्रतियोगिता ठ्याक्कै त्यस्तै भएको छ, जस्तो ठूला क्लबले चाहेको थियो ।

यसपल्ट सहभागी हुने टिमको संख्या बढेर ३६ पुगेको छ । पहिलो ३२ टिममात्रै हुने गर्थ्यो । अब प्रत्येक टिमले कम्तीमा ८ खेल खेल्नेछ, यसअघि ६ खेल हुने गर्थ्यो । अब त जनवरीमा पनि च्याम्पियन्स लिगका खेल हुने भएको छ । यस्तोमा पुरस्कार रकम बढ्ने नै भयो । यसपल्ट २ अर्ब ८० करोड डलर पुरस्कारमा बाँधिनेछ, पहिलो तुलनामा २५ प्रतिशतले बढी ।

नयाँ स्वरूपको प्रतियोगिताकै कारण यसपल्ट धेरै यस्ता खेल हुनेछ, जुन यसअघिका संस्करणको फाइनल हुने गर्थ्यो । जस्तो, डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडका यसपल्टका प्रतिद्वन्द्वी छन् लिभरपुल र बोरुसिया डर्टमन्ड । गत वर्षको फाइनलमा रियलले डर्टमन्डलाई नै हराएको थियो । सन् २०२२ र ०१८ को फाइनलका लागि भने रियलले लिभरपुललाई पराजित गरेको थियो । अब रियलले डर्टमन्डको आतिथ्यता गर्नेछ भने लिभरपुल भ्रमण गर्नेछ ।

मिति भने अझै तय हुन बाँकी छ । म्यानचेस्टर सिटीले पनि आफूले खेलेको फाइनलको पुनरावृत्ति पाएको छ । सिटीले सन् २०२३ को फाइनलमा पराजित गरेको इन्टर मिलानको सामना गर्नेछ आफ्नै मैदानमा । बायर्न म्युनिखले भने सन् २०२० को फाइनलमा पराजित गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई घरमा निम्त्याउने छ । यसको अर्थ के भने अब च्याम्पियन्स लिगले पछिल्ला २१ सिजन जुन ढाँचामा यो प्रतियोगिता खेलाएको थियो, अब त्यो पुरानो भयो, त्यसलाई हटाइयो ।

त्यति बेला ३२ टिमलाई आठ समूहमा विभाजन गरिन्थ्यो । त्यसक्रममा राउन्ड रोबिनको आधारमा खेल हुँदा एउटा टिमले समूह चरणमा छ खेल खेल्थ्यो । सेप्टेम्बरदेखि डिसेम्बरसम्म ‘होम एन्ड अवे’ का आधारमा खेल हुने गर्थ्यो । प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिम नकआउट चरणमा पुग्थ्यो । त्यसपछि अलगै ‘ड्र’ निकालिन्थ्यो । एउटै खेलमा सकिने फाइनल अगाडि नकआउट चरणका खेल पनि ‘होम एन्ड अवे’ का आधारमा हुने गर्थे ।

अब भने एउटै लिग तालिका हुनेछ । सहभागी हुने ३६ टिममध्ये प्रत्येकले कम्तीमा ८ खेल खेल्नेछ । यी आठ खेलमा पनि फरक–फरक प्रतिद्वन्द्वी हुनेछन् । यी खेल जनवरीसम्म चल्नेछ । के कस्तो प्रतिद्वन्द्वी हुनेछ, त्यसका लागि भने सन्तुलन मिलाइएको छ । वरीयताका फरक चार भाँडोबाट दुई शीर्ष प्रतिद्वन्द्वीको भने सामना गर्नुपर्नेछ । अन्तिम तालिकाको शीर्ष आठमा रहने टिम सिधै अन्तिम १६ मा पुग्नेछन्, मार्चमा हुने खेलका लागि ।

यी टिमको खेल्ने तालिका दुई फरक समूहमा राखेर टेनिस प्रतियोगिताको जस्तो गरेर ‘ड्र’ निकालिने छ । फाइनलसम्मका लागि थप ‘ड्र’ निकालिने छैन । सन् २०२५ मा बायर्न म्युनिकको घरेलु मैदानमा फाइनल हुनेछ । अंक तालिकाको नवौंदेखि २४ औं स्थानमा रहने टिमले नकआउट प्लेअफ खेल्नेछ । यी खेल फेब्रुअरीमा हुनेछ । अन्तिम १२ स्थानमा रहने टिम भने प्रतियोगिताबाट बाहिरिने छ । लिगको ९ देखि १६ औं स्थानसम्म रहने टिमले १७ देखि २४ औं स्थानमा रहने टिमविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको पुरानो स्वरूप भत्काएर यो नयाँ ढाँचा ल्याउनुको एउटै कारण रहेको छ । यो हो, क्लबहरू बढी कमाउन चाहन्छ । युरोपेली च्याम्पियन्स लिगलाई विश्व फुटबलकै सबैभन्दा उच्च प्रतियोगिता मानिन्छ । यही प्रतियोगिताका कारण यूईएफएले विश्वभरका टेलिभिजनलाई प्रशारण अधिकार बेचेर अरबौं डलर कमाउने गर्छ । त्यसैबाट क्लबले पनि अरबौं डलर पाउने गर्छन् । यी रकम खेलाडीको किनबेचमा प्रयोग हुन्छ ।

फेरि क्लबको अर्को पनि उद्देश्य रहेको छ, ठूलो क्लबले अलिकति धेरै ठूला विपक्षी टिमविरुद्ध खेल्न पाओस् । त्यो पनि नियमित रूपमा । यसअघि प्रत्येक समूहमा एक टिमको तीन प्रतिद्वन्द्वीविरुद्ध मात्र खेल हुन्थ्यो, यस्ता खेल कम नाटकीय हुने गर्थे । अब ठूला टिमले ठूलै टिमविरुद्ध खेल्दा त्यसको आकर्षण बढ्ने छ । त्यसलाई हेर्न दर्शक बढी तिर्न पनि तयार हुनेछन् । अबको च्याम्पियन्स लिगमा यति धेरै आमूल परिवर्तन गर्नु पछाडि अर्को ठोस कारण छ ।

पछिल्लो समय केही ठूला क्लब आफ्नो अलग्गै प्रतियोगिता गर्ने सुरमा थिए । यी क्लबले सन् २०२१ मा विद्रोही सुपर लिग गर्ने बताएका थिए । यसमा स्पेन, इटाली र इंग्ल्यान्डका १२ ठूला क्लब सामेल थिए । तर, घोषणाको २४ घण्टा नबित्दै यो योजना तुहियो । त्यही सुपर लिगमा खेल्ने भनेर धम्की दिएका ठूला क्लबलाई मनाउनकै लागि पनि च्याम्पियन्स लिगको स्वरूप फेरिएको हो । तिनै क्लबको अनुरोधलाई यूईएफए मान्न लगभग बाध्य जस्तै भएको थियो ।

यो नयाँ स्वरूपकै करण यसपल्ट १ सय ८९ खेल हुनेछन् । पहिला हुन्थ्यो १ सय २५ खेल । यसले यो प्रतियोगिता आफैंमा अझ ठूलो प्रतियोगिता साबित भएको छ । जनवरीमा दुई चरणका खेल थप हुनेछ । यसले खेलाडीलाई गलाउन सक्नेछ । खेलाडी बढी थाक्नेछन् । घरेलु लिग पनि सिधै प्रभावित हुनेछ । पहिलो ६ खेलपछि नै सिधै नकआउट चरण पुगिन्थ्यो । अब केही क्लबले त्यही चरणसम्म पुग्न कम्तीमा १० खेल खेल्नुपर्नेछ । वास्तवमै प्रतियोगिता कस्तो हुनेछ, त्यसका लागि केही समय पर्खनुपर्नेछ ।

प्रकाशित : भाद्र १५, २०८१ ०६:४४
x
×