कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

सञ्जयको टिमले जित्यो प्रिमियर प्रोएम

सञ्जयको टिमले जित्यो प्रिमियर प्रोएम

काठमाडौँ — प्रो गल्फर भुवन नगरकोटीको टिमले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो एम उपाधि जितेको छ ।

गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठ, जयवीर आचार्यले ३९, तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोरमा उपाधि जितेको हो ।

१ सय ५१ अंक सहित प्रो जयराम श्रेष्ठको टिम दोस्रो भयो । जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्रकुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ स्कोर जोडेका थिए ।

प्रो सञ्जय लामाको टिमले १ सय ४२ स्कोरहित तेस्रो स्थान ओगट्यो । सञ्जयले ३९, एमेच्योर गल्फरहरू सद्भाव आचार्य र रवीन्द्र तिवारीले समान ३६ र लीलाजंग कार्कीले ३५ स्कोर जोडेका थिए ।

महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्कीले उपाधि जितिन् । उनले ३८ अंक बनाएकी थिइन् । सद्भावले लङ्गेस्ट ड्राइभ र निश्चलजंग रायमाझीले क्लोजेस्ट टु द पिनको उपाधि जिते । टंकबहादुर कार्कीले होल नम्बर ८ मा होल इन वान गरेका थिए ।

प्रतियोगितामा २५ प्रोसहित कुल १ सय ४० खेलाडी प्रतिस्पर्धी थिए । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रवि रायवरम, मार्केटिङ उपाध्यक्ष दीप्रा लाहिरी, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार प्रदान गरे ।

शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को स्कोरमा सूर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेका थिए । सुवासको प्रो टर्न भएपछि यो पहिलो उपाधि थियो । उनले सूर्य नेपाल गल्फ टुरमा ६ प्रतियोगिता जितिसकेका छन् । भुवन नगरकोटी र नीरज तामाङ संयुक्त रूपमा दोस्रो भएका थिए ।

प्रकाशित : असार ८, २०८१ १८:०९
x
×