कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'बाहिर घर बंगलाजस्तो, भित्र खरानी नाइँ ...'

भाद्र १५, २०८१
'बाहिर घर बंगलाजस्तो, भित्र खरानी नाइँ ...'

तुल्ता, अछाम — बीचमा कर्णाली नदी । नदीमाथि झोलुंगे पुल । पुलपारि आकर्षक फाँटमा हरियो जस्ताले छाएका लहरै देखिने घरहरू । दैलेखतिरबाट हेर्दा कुनै अन्य पर्यटकीय गाउँभन्दा कम छैनन् कर्णालीको तिरैमा रहेका यी तुल्ता र नाउगाडे गाउँ ।

कर्णाली राजमार्गमा यात्रा गर्ने धेरैजसो यात्रुहरूले यो गाउँको सुन्दरताको बयान गर्दै पृष्ठभूमिमा देखाउने गर्छन् । अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनमा पर्ने तुल्ता र नाउगाडे गाउँलाई कर्णाली राजमार्गको दैलेखबाट पारितिर देख्ने जो कोहीले पनि आहा ! भन्दै फोटो खिच्छन् । सामाजिक संजालमा राख्छन् ।

बाहिरबाट हेर्दा चट्ट र आकर्षक देखिएजस्तो सहज छैन, यो गाउँका मान्छेको जीवनशैलीे । बाहिरबाट सुन्दर देखिने गाउँको भित्र भने प्राय घर खाली देखिन्छन् । कुनै घर भग्नावशेष अवस्थामा छन् । दिउँसोको समयमा कुनै घरमा फाट्टफुट्ट वृद्धा र बालबालिका देखिन्छन् । गाउँ उजाड जस्तै बनेको छ ।

आफ्नै पालिकाको केन्द्र तुर्माखाँद पुग्न पैदल ६ देखि ७ घण्टाको समय लाग्छ । यो गाउँको सम्बन्ध अछामभन्दा बढी नजिक दैलेखसँग छ । यहाँका स्थानीयले अछामका सरकारी निकायबाट अछामी भएका कारण पाउनु पर्ने सरकारी कागजात बाहेक अरु केही पाएका छैनन् । नजिकको बजार भनेकै दैलेखको टुनीबगर र राकम हुन् । दैलेखका यीनै बजारले यहाँका स्थानीयको जीवकोपार्जन सहज बनाइ दिएका छन् ।

दैलेखतिरबाट हेर्दा गाउँ कति सुन्दर देखिन्छ है भन्ने प्रतिक्रियामा यही गाउँकी ५७ वर्षीया अम्बी चलाउने देउडाको गीतको एक टुक्का सुनाउँदै भन्छिन् :

यो परानी गयो भन्या, अर्को परानी नाइँ

बाहिर घर बंगलाजसो, भित्र खरानी नाइँ

उनको गीतको सन्देश थियो- मान्छेको एक जुनी गयो भने अर्को जुनी सायद पाईँदैन । बाहिरबाट हेर्दा घरहरू आर्कषक, चट्ट मिलेका सुविधासम्पन्न जस्तो देखिए पनि भित्र केही पनि छैन ।

सडक, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका सुविधाबाट त यहाँका स्थानीय वर्षौंदेखि बन्चित छन् नै । सबैभन्दा बढी मारमा परेका छन् वर्षेनि उर्लेर आउने कर्णालीको बाढीले । कर्णाली नदीले बगिरहने आफ्नो क्षेत्रभन्दा वर्षेनि अरु क्षेत्र कटान गर्दै आएको छ । घरभित्रै बाढी पस्छ । रोपेको खेत बगाउँछ । दुःख गरेर लगाएको खेती हरेक वर्ष कर्णाली नदीमा मिसिने गरेपछि यहाँका स्थानीय निराश छन् ।

पटक-पटक सरकारी निकायबाट क्षति भएको ठाउँको अनुगमन गर्ने भन्दै सरकारी अधिकारीहरु यो गाउँमा पुग्छन् । आश्वासन मात्रै दिन्छन् र फर्किन्छन् । ‘ जो पनि आउँछन् । हेर्छन । फोटो खिचेर जान्छन् । हाम्रो पीडा वर्षौंदेखि उस्तै छ,’ अम्बी भन्छिन् ,‘वर्षको अन्तिममा राहत हो भन्दै २० केजी चामल दिन्छन् । जोखिम भयो भने डाँडामा गएर बस्नु भन्दै एक त्रिपाल दिन्छन् र जान्छन् । हामीले मोगेको बाढी रोक्नलाई तटबन्धन हो । उनीहरु आश्वासन मात्रै दिन्छन् ।’

गाउँमा आउने सरकारी अधिकारी, नेता र प्राकृतिक विपद्ले वर्षौदेखि छलेपनि कर्णालीमा तटबन्धन, राहत र पुर्नःस्थापनाको आश भने यहाँका स्थानीयले गरिरहन्छन् । ‘ केही दिन अगाडि बाढी आयो । खेती लगाएको ठाउँमा पस्यो । सबै बगाएर लग्यो’ नाउगाडेकी ६० वर्षीया तारा माझी भन्छिन् ,‘ गाउँका सबै जेठानी देउरानी आएर घरभित्र भएको अन्न बाहिर लगि दिए । वस्तुभाउ अन्त सारी दिए । दिउँसो त बाहिर भइन्छ । यो वर्षामा रात नपरि दिए हुन्थ्यो जस्तो लाग्छ ।’

स्थानीयका अनुसार नाउगाडेका करिब २५ घर बाढीको उच्च जोखिममा छन् ।

उत्पादन बेच्न दैलेखको भर

तुल्ता र नाउगाडेमा तोरी, बदाम, टमाटरको उत्पादन राम्रो हुन्छ । गाउँमा उत्पादन भएका यी वस्तु बेच्न दैलेखको टुनीबगर र राकम बजारले सहज बनाएको स्थानीय जल्धरी माझीले बताइन् ।

‘हाम्रा लागि नजिकका बजार भनेकै टुनिबगर र राकम हुन् । यी बजारको पहुँचमा हामी नभएको भए उत्पादन खेर त जान्थ्यो नै खर्च धान्न नै मुस्किल हुन्थ्यो,’ उनी भन्छिन्, ‘गाउँमा महिलाहरुको समूह बनाएका छौं । यहाँ उत्पादन भएका तरकारी र अन्य वस्तु संकलन गरेर बेच्न पनि जान्छौं ।’

सडकको पहुँच नभएकाले बोकेरै बजारसम्म लैजानुपर्ने बाध्यता रहेको उनले बताइन् । तुर्माखाँद गाउँपालिकाको केन्द्रबाट रानीवनसम्म कच्ची सडक पुगे पनि स्थानीयले सडकको प्रयोग गर्न नपाएको उनले बताइन् ।

‘कच्ची बाटो भएपनि हिउँदमा कसैले रिजर्भ गरेर ल्यायो भने गाउँसम्म गाडी आउँछ । वर्षामा त त्यो पनि आउँदैन ’ उनले भनिन् ,‘अप्ठ्यारो परेको बेला पनि गाडी देख्न पाउदैनौं । धेरै जसो तरकारी उत्पादन गर्छौं, बोकेरै लैजानु पर्छ । गाउँसम्म सडक पुगेको छ , तर हामीलाई यो सडक आजसम्म काम लागेको छैन ।’

कमजोर शिक्षा, बसाइँसराइको प्रभाव

तुर्माखाँद गाउँपालिकामा रहेका १२ माध्यामिक विद्यालयमा २०८० को एसईईको नतिजामा सबैभन्दा कमजोर तुर्माखाद गाउँपालिका – ६ तुल्तामा रहेको मेनका मावि देखियो । परिक्षामा सहभागी जम्मा ३० जना विद्यार्थीमा ३ जना मात्रै उर्तीण भए ।

‘पहिले यो विद्यालयमा ४ सयभन्दा धेरै विद्यार्थी हुन्थे । अहिले ३ सय १३ जना विद्यार्थी मात्रै छन्,’ विद्यालयका प्रधानाध्यापक दानबहादुर माझीले भने,‘विद्यालयमा विषयगत शिक्षक छैन । दरबन्दी अनुसारको जनशक्ति नभएर निजी स्रोतबाट काम चलाउनु परेको छ । विद्यालयले नै पढाइमा गुणस्तर दिन सकेको छैन । अघिल्ला वर्षहरुमा पनि एसईईको अवस्था कमजोर नै छ ।’

वर्षेनि विद्यार्थी संख्या घट्नुमा बसाइँसराइको प्रभाव रहेको उनले बताए । ‘गाउँबाट छोराछोरी लगेर कोही भारत जाने कसैले तराइतिर राख्ने गर्छन् । भएका विद्यार्थीहरुका अभिभावक खोज्दा पनि गाउँमा भेटिदैनन् । विद्यार्थीहरु नियमित विद्यालय नआइदिने समस्या पनि उस्तै छ,' प्रधानाध्यापक माझीले भने, ‘कक्षा ११ र १२ पढ्न धमालीमा रहेको सिद्येश्वरी माविमा २ घण्टा हिंडेर जानुपर्छ । बर्थिङ्ग सेन्टर नजिकै भएपनि अरु सामान्य उपचारका लागि २ घण्टा हिंडेर स्वास्थ्य चौकी पुग्नु पर्छ ।’

बाहिरबाट रमणीय देखिने बीच गाउँमा रहेको विद्यालयमा भवनहरु नभएको, शौचालय, घेरा पर्खाल नभएको र जीर्ण भवनमा पढाउन बाध्य भएको उनले बताए । ‘यो गाउँका नेता जनप्रतिनिधिलगायत सरोकारवालाहरु नै बुझेर पनि नबुझे जस्तो गर्छन् । यो गाउँका पीडाले उनीहरुलाई छुदैन,’ उनी गुनासो गर्छन् ।

प्रकाशित : भाद्र १५, २०८१ १७:२१
x
×