कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

दशैँ खर्च जुटाउन कर्णाली उक्लिए राउटे 

भाद्र १९, २०८१
दशैँ खर्च जुटाउन कर्णाली उक्लिए राउटे 

जुम्ला — दशैँ खर्च जुटाउन भन्दै राउटेका मुखिया शेरबहादुर रास्कोटी माथिल्लो कर्णाली घुमफिरमा निस्किएका छन् । उनी चार जनाको टोलीसहित कर्णालीका गाउँटोल बस्ती र सरकारी कार्यालयहरुमा दशैँ खर्च मागिरहेका छन् । सरकारले दशैँ खर्च नदिएको भन्दै मुखिया शेरबहादुर हरेक वर्ष कर्णालीका मुगु, कालिकोट र जुम्लासम्म पुग्ने गरेका छन् ।

उनले भने, ‘सरकारले दशैँ खर्च दिदैन । हामी बाध्य भएर मागिरहेका छौं ।’ उनीहरुले आफूले बनाएका सामाग्रीहरु कोशेलीस्वरुप दिएर दशैँ खर्च मागिरहेका छन् । व्यक्ति संघ, संस्था, कार्यालयहरुले आफ्नो गच्छेअनुसारको दशैँ खर्च दिइरहेका छन् ।

दैलेखको गुराँस गाउँपालिकाको मैना खोलामा बसोबास गर्दै आएका उनीहरु गाडीमा जुम्ला पुगेका हुन् । चार जनाको भाडा उनीहरुले प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तिर्नु परेको दुखेसो गरे । उनीहरुले गाडी भाडा महँगो हुँदा सास्ती भइरहेको समेत दुखेसो पोखिरहेका छन् ।

दैलेख, कालिकोट हुँदै जुम्ला पुगेका उनीहरुले दशैँ र तिहारको लागि खर्च जुटाउन निकै कष्टकर यात्रा गर्नु परेको बताए । शेरबहादुरले भने, ‘हरेक वर्षको दशैँतिहार मागेर जम्मा भएको रकमले चलाइरहेका छौं । ’

राउटेहरुले प्रमुख जिल्ला अधिकारी र अन्य स्थानीय तहका प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतलाई भेटिरहेका छन् । व्यक्तिगत रुपमा खर्च माग्नुभन्दा पनि संस्थागत रुपमा माग्दा बढी जोहो गर्न सकिने उनीहरुको भनाइ छ । सरकार लोपोन्मुख भन्दै हिडिरहेको छ,' शेरबहादुरले भने, ‘दशैँतिहार खर्च दिदैन । दुःख लाग्छ । ’

जुम्लाका सबै स्थानीय तह र कार्यालयहरुमा माग्ने उनीहरुको योजना छ । ‘अब दशैँ आइसक्यो, हाम्रो जनताले दशैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ’, शेरबहादुरले भने, ‘हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनुपर्‍यो ।’

काठका सामाग्री बनाउने र बिक्री गर्ने परम्परागत पेसा संकटमा परेपछि मागेर खानुबाहेक अर्को विकल्प नभएको उनीहरुको भनाइ छ । पहिले जंगलमा भएका रुख काटेर ठेकी, कौसी बनाएर बिक्री गरिन्थ्यो । त्यहीबाट आफ्नो खर्च चलाउँथ्यौँ । तर अहिले रुख काट्न पाइँदैन,' उनले भने, 'बाध्यताले मागिरहनु परेको छ । ’

'हाम्रो समुदाय पढेलेखेको छैन । काम गरी खाने वातावरण पनि छैन । पहिलेको सीप हराउन थालिसक्यो,' अर्का प्रकाश कल्यालले भने, ‘वर्षेनि मागेरै दशैँतिहार चल्छ ।’ समुदायमा रमाइलो गर्नुपर्‍यो त्यसका लागि पनि केही आशा बोकेर आएको उनले बताए ।

प्रकाशित : भाद्र १९, २०८१ २१:०५
x
×