कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

रित्तिए घरगाउँ, वन्यजन्तुले पाए ठाउँ

भाद्र १८, २०८१
रित्तिए घरगाउँ, वन्यजन्तुले पाए ठाउँ

Highlights

  • सुख खोज्दै सहर झर्नेकाे लर्काे

सल्यान — केही वर्षअघिसम्म जिल्लाको सिद्धकुमाख गाउँपालिकाको ओखरबोटमा निकै चहलपहल थियो । खलंगाबाट कुमाख गाउँपालिकाको कालागाउँ, बडागाउँ, जिमाली, रुकुमको चौरजहारी, जाजरकोट र डोल्पा जाने मानिसहरू यही बाटो भएर हिँड्थे । पैदल यात्रीको नास्ता, खाना खाने र बास बस्ने ठाउँ नै ओखरबोट बन्ने गरेको थियो ।

तर, जब थारमारेदेखि चौरजहारी जाने सडक खुल्यो, बिस्तारै मानिसहरूको चहलपहलका साथै व्यापार पनि यहाँ कम हुँदै गयो । समयक्रममा स्थानीय व्यापार व्यवसाय गर्ने भन्दै चाक्लिघाट झर्न थाले । त्यसपछि त यहाँ रहेका घरहरू पनि भत्किन थाले । लामो समय सग्लो रहेका तीन घर पनि अहिले जीर्ण तथा भत्किने अवस्थामा पुगेका छन् ।

सुविधा खोज्दै मानिसहरू पहाडबाट तराई झर्दा कालिमाटी गाउँपालिकाको टोटके बस्ती त अहिले जंगलमै परिणत भइसकेको छ । झन्डै तीन दर्जन घर–परिवार बस्दै आएको र एक विद्यालयसमेत रहेको यो बस्तीका घरहरू अहिले प्रयोग गर्न नमिल्ने भएका छन् । खेतीपाती गर्ने जग्गा जंगल बनेको छ । स्थानीयका घर जंगली जनावरका आश्रय स्थल बनेका छन् ।

केही समयअघिसम्म ६०/७० घर–परिवारको बसोबास रहेको कालिमाटी गाउँपालिका–६ छरछरे बस्तीले पनि अहिले टोटकेकै नियति भोगिरहेको छ । बाटो, विद्यालय, खानेपानी, बिजुलीबत्ती, स्वास्थ्य सेवा लगायत विभिन्न किसिमका सुविधा पुगे पनि बस्तीबाट तराई र सहर झर्नेहरूलाई यी कुनै कुराले रोक्न सकेको छैन । अहिले उक्त बस्ती पनि झाडीमा परिणत भएको छ । बस्ती जंगलमा परिणत भएपछि उक्त स्थानमा जान अहिले सबै डराउने गर्छन् । बसाइँसराइका कारण रित्तिँदै गएको सिद्धकुमाख गाउँपालिकाको ओखरबोट बस्ती । तस्बिरहरू : विप्लव महर्जन/कान्तिपुर

विगतमा विभिन्न किसिमको सुविधा नभएको भन्दै जिल्लाका दुर्गम बस्तीका स्थानीयले बसाइँसराइ गरे । पछिल्लो समय मुलुकमा संघीयता लागू भएपछि स्थानीय तहले घरघरमा सडक, बिजुली, पानी पुर्‍याएका छन् । जिल्लाका १० स्थानीय तहका ८३ वडाकै अधिकांश बस्तीमा गाडी पुग्ने सडक बनेका छन् । जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीमा विकासका काम भए पनि बस्ती भने बिस्तारै रित्तिँदै जान थालेका छन् । बस्तीका बाँकी रहेका घरहरूमा पनि बुढापाकाभन्दा अन्य मानिस भेट्न मुस्किल पर्न थालेको छ । जसका कारण जिल्लाका स्थानीय तहका केन्द्र तथा केही बजारबाहेक ग्रामीण बस्ती सुनसान बन्दै गएका हुन् ।

२०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय ४४ रहेकामा २०७८ को जनगणना हुँदा यहाँको जनसंख्या २ लाख ३८ हजार ५ सय रहेको थियो । एक दशकमा झन्डै ४ हजार मानिस सहरी क्षेत्रमा बसाइँसराइ सरेको देखिन्छ । बसाइँसराइ नगरेका तर सहरी क्षेत्रमा बसोवास गर्दै आएका त झनै धेरै छन् । तिनीहरूको त गणना नै छैन । २०७९ को एक तथ्यांक अनुसार जिल्लाबाट १७ हजार २४ जना खाडी लगायत विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् । विभिन्न सुविधा खोज्दै यहाँका युवा र वयस्क सहरमुखी हुन थालेपछि गाउँमा विकास भित्रिँदै गए पनि बाहिरिनेको संख्या नरोकिँदा जिल्लाका ग्रामीण बस्ती सुनसान बन्दै गएका हुन् ।

सुनसान बन्दै गएका बस्तीमा कोही बिरामी भएमा युवा पुस्ता सजिलै नभेटिँदा तत्काल अस्पताल पुर्‍याउन पनि गाह्रो हुन थालेको छ । युवाहरू पलायन भएकै कारण नगन्य संख्यामा बुढापाका, महिला तथा बालबालिका मात्र बस्तीमा रहेपछि हत्या, कुटपिट, बलात्कार, चोरी लगायतका आपराधिक गतिविधि पनि बढ्न थालेका छन् । जसका कारण महिला तथा बालबालिका बढी असुरक्षित बन्दै गएका छन् ।

कालिमाटी गाउँपालिका–१, लक्ष्मीपुरको कोट बस्ती अहिले सुनसानजस्तै बनेको स्थानीय ५० वर्षीय वीरबहादुर बस्नेतले बताए । विगतमा चार दर्जनभन्दा बढी घरधुरी रहेको बस्तीमा अहिले जम्मा १८ घरपरिवारको मात्रै बसोबास छ । ‘विगतमा खानेपानीको अभाव देखाउँदै स्थानीय विस्थापित भए । अहिले सडक पुगेको छ । खानेपानीका योजनाका काम अगाडि बढेका छन् तर मानिस फर्किन मान्दैनन्,’ उनले भने, ‘बस्तीका केही घर त भत्किसकेका छन् भने खेतीयोग्य जग्गा जंगलमा परिणत भएका छन् ।’ गाउँको कोही बिरामी पर्‍यो भने उपचारका लागि लैजाने मानिस पाउन पनि गाह्रो हुन थालेको उनको भनाइ छ ।

कालिमाटी–१ का वडाध्यक्ष रविलाल बस्नेतले यहाँको कोट मात्र नभएर चोत्रे र हिंगवरे बस्ती पनि अहिले सुनसानजस्तै बनेको बताए । खानेपानी, सडक, अस्पताल, विद्यालयको असुविधा भन्दै तराई झर्दा झन्डै ८० परिवार बसोबास गर्दै आएको दुई बस्तीमा अहिले ४० घर मात्र रहेको उनले जानकारी गराए । ‘दुई बस्तीका लागि अहिले खानेपानी पुगेको छ । सडक बस्ती नजिकै पुगेको छ । आधारभूत स्वास्थ्य केन्द्र संचालनमा आएको छ तर तराई झरेकाहरू फर्किंदैनन्,’ उनले भने, ‘यहाँ रहेका मानिसहरू पनि बिस्तारै सहरी क्षेत्रतिरै बसाइा सर्दै छन् ।’

ग्रामीण बस्तीमा रोजगारीको समस्या, खाद्यान्न उत्पादन पुग्दो नहुँदा जीविकोपार्जन गर्न कठिनाइ हुने र एक गाउँबाट अर्को गाउँसम्म जान लामो समय हिँड्नु पर्ने बाध्यताकै कारण सहरतिर बसाइा सर्नेको संख्या क्रमशः बढिरहेको उनको भनाइ छ ।

पातीहाल्ना बजार रोल्पा र सल्यानको सिमाना हो । दुवै क्षेत्रका मानिस व्यापारिक दृष्टिकोणले आउजाउ गर्ने र तुलसीपुरसम्म गाडी बजारबाटै चल्ने भएकाले बिहानदेखि यहाँ मानिसहरूको चहलपहल हुन्थ्यो । व्यापार पनि त्यत्तिकै थियो तर अहिले त कोही मान्छे आउँछ कि भनेर कुरेर बस्नुपर्ने बाग्चौर नगरपालिकाको पातिहाल्ना बजारका व्यापारी कर्णबहादुर ओलीले सुनाए । ‘बजारका दुई दर्जन बढी घरमा पसल संचालित थिए,’ उनले भने, ‘अहिले त धेरै कम छन् । व्यापार नै हुन छाडेपछि बजारका दर्जन बढीले व्यापारी बजार छोडेर गइसके ।’

वैदेशिक रोजगारीमा गएका धेरैजसोले कमाइ गरेर ल्याएको रकमले बाहिर घरजग्गा किन्ने र आफ्ना बच्चाबच्ची, परिवारलाई सहरतिर लैजाने गर्दा बजार तथा यहाँका ग्रामीण बस्ती सुनसान बन्दै गएको उनको भनाइ छ ।

धेरैजसो सुनसान र एकाध घरमा पनि वृद्धवृद्धा र बालबालिका मात्रै भएकाले ग्रामीण क्षेत्रमा आपराधिक गतिविधिले प्रश्रय पाएको छत्रेश्वरीका शेरबहादुर रोकाले बताए । आपराधिक गतिविधिका कारण बालबालिका तथा महिला अझ बढी असुरक्षित हुन थालेको उनले जानकारी गराए । ग्रामीण बस्तीबासीलाई बाहिर पलायन हुनबाट रोक्न सम्बन्धित निकाय तथा स्थानीय तहले कुनै पहल नगरेको र स्थानीय तहका जनप्रतिनिधि आफ्नै दुनो सोझ्याउन मात्र लागेकाले समस्या बढदै गएको उनको आरोप छ ।

दार्मा गाउँपालिकामा बस्ती नै खाली गरेर सहरतिर गएको नदेखिए पनि गाउँघरमा युवाहरूको संख्या भने नगण्य रहेको पालिकाको स्वास्थ्य शाखा प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक यज्ञबहादुर बस्नेतले बताए । कार्यालयको तथ्यांक हेर्दा वर्षमा १५/२० जनाले मात्र बसाइसराइ गरेका छन् तर अस्थायी रूपमा घर छाडेर सहरी क्षेत्रमा बस्ने भने धेरै रहेको उनले जानकारी दिए । ग्रामीण बस्तीबाट मानिसहरू सहरतिर झर्दा धेरै खेतीयोग्य जग्गा समेत बाँझै रहेको उनको भनाइ छ ।

ग्रामीण बस्ती मात्र नभई नेवारी समुदायको बाक्लो बसोबास रहेको जिल्लाको सदरमुकामसमेत अहिले रित्तिँदै गएको स्थानीय ध्रुव श्रेष्ठले बताए । विगतमा खानेपानीको समस्याका कारण बसाइसराइ गरे पनि पछिल्लो समयमा पनि बाहिर जाने क्रम नरोकिँदा सदरमुकाममा मात्र झन्डै सयभन्दा बढी घर खाली रहेको उनले जानकारी गराए । ‘विगतमा कति रमाइलो थियो । बिहानैदेखि बेलुकीसम्म मानिसहरू यतायति गरेको देखिन्थ्यो । अहिले त सरकारी कार्यालय पनि सुनसान देखिन्छन्,’ उनले भने ।

धेरै जसो युवकयुवती मुलुकबाहिर गएकाले ग्रामीण बस्ती सुनसान रहेको छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । मुलुकबाहिर जानेको संख्या बढ्दै गए विकासका लागि खर्च गरेको बजेट पनि खेर जाने देखिएको उनले जानकारी गराए । ‘एक प्रकारको लहरै चलेको छ । कसैलाई रोक्न सकिएको छैन,’ उनले भने, ‘गाउँघरमा कसैलाई समस्या पर्दा युवा र पुरुषहरू भेट्टाउन गाह्रो हुने समय आउन थालेको छ ।’

प्रकाशित : भाद्र १८, २०८१ १८:५९
x
×