कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

अढाई दशकसम्म पनि बनेन गच्छे-भालुवाङ सडक

भाद्र १७, २०८१
अढाई दशकसम्म पनि बनेन गच्छे-भालुवाङ सडक

अर्घाखाँची — लुम्बिनी प्रदेशको राजधानी देउखुरी जोड्ने गच्छे–भालुवाङ सडक अढाई दशकसम्म अधुरै छ । सधैं बजेट अभावको मारमा परेर कामले गति लिन सकेको छैन । २०५६ मा काम सुरु गर्दा यस सडकलाई सन्धिखर्कबाट पूर्व–पश्चिम राजमार्गको दाङ भालुवाङ जोड्ने भनिएको थियो ।

देउखुरीमा प्रदेश राजधानी बनेपछि महत्त्वका रुपमा हेरियो । यो सडक निर्माण सम्पन्न भए अर्घाखाँचीसहित गुल्मी र पाल्पावासीलाई प्रदेश राजधानी देउखुरी आउजाउ गर्न सहज हुन्छ ।

तीन जिल्लाका सांसदले महत्त्वका रुपमा हेरे पनि बजेट न्यून नै छ । अहिले प्रदेश राजधानी आउजाउको लागि अर्घाखाँची र गुल्मीको तम्घासका स्थानीय सन्धिखर्क–गोरुसिंगे सडक रुट हुँदै पूर्वपश्चिम राजमार्गबाट यात्रा गर्नुपर्छ । गच्छे–भालुवाङ निर्माण कार्यपूरा भएर यातायात चल्दा झण्डै आधा दुरी छोटो हुन्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किमि दूरी छ । सन्धिखर्क नजिकैको गच्छे–भालुवाङ ६७ किमिको दूरी रहेको छ ।

गुल्मी, पाल्पा र अर्घाखाँचीका लागि प्रदेश राजधानी पुग्ने यो वैकल्पिक सडक बनेको छ । लुम्बिनी प्रदेश सरकारले यो आर्थिक वर्ष अढाई करोड रुपैयाँ विनियोजन गरेको छ । जसबाट गच्छेदेखि साढे ५ किमि सडक पिचको काम गरिने सडक पूर्वाधार विकास कार्यालयका आयोजना प्रमुख गोपी पुन मगरले बताए । गच्छे–लामातालसम्म ग्राभेल भएको छ । धनचौरको टोड्केमा अप्ठयारो भीर भएकाले सडक छिचोल्न धेरै खर्च भएको छ । गच्छे–लामातालसम्मको ४७ किमि सडक ग्राभेल गर्न १ अर्ब बजेट लाग्ने उनले बताए ।

सडक पूरा हुँदा पाल्पावासी कालीगण्डकी करिडोरबाट रामपुर–रिडी हुँदै सन्धिखर्कबाट राजधानी आउजाउ गर्न दूरी छोटो हुन्छ । ‘पछिल्लो समय प्रदेश राजधानी जोड्ने सडक भनिए पनि बजेट थोरै आउँछ,’ उनले भने, ‘यही अनुसार हो भने त काम पूरा गर्न अझै १० वर्ष लाग्छ । मागेजति बजेट नै विनियोजन भएन ।’

भूगोल अप्ठयारो भएकाले काम गर्न सकस नै परेको उनले बताए । प्रदेशबाट कम बजेट परे पनि संघ सरकारबाट सम्पुरकमा राखेमा सजिलो हुने उनले बताए । पर्याप्त बजेट परेर द्रुत गतिमा काम गर्ने हो भने दुई-तीन वर्षमा यातायात सञ्चालन गर्ने बनाउन सकिने पुनको भनाइ छ ।

सुरुमा लामाताल हुँदै सातमाराबाट भालुवाङ जोड्ने रेखांकन गरिएको थियो । पछि भूगोल असहज भएको भन्दै राप्ती नदीमा पुल निर्माण गरेर बढिदमार हुँदै प्यूठानको सदरमुकाम जोड्ने मुख्य सडकको बांगेखाल जोड्ने र भालुवाङ पुग्ने उनले बताए ।

नदीमा पुल निर्माणको काम पनि बजेट अभावमा अगाडि बढ्न सकेको छैन । धनचौरको साप्रे भीरमा जटिल पहरोको बीचबाट सडक छिचोलेर फराकिलो पार्ने काम अझै पूरा भएको छैन । शीतगंगा नगरपालिकाको जलुके, जुकेनाका स्थानीयलाई जिल्ला सदरमुकाम टाढा भएकाले सामान किन्न भालुवाङ नजिक पर्छ ।

२५ वर्षसम्म पनि सडक पूरा नहुँदा दक्षिणी क्षेत्र ओझेलमा परेको लामातालका जुनबहादुर पुलामीले बताए । ‘यो सडक सम्पन्न भएर गाडी चल्दा जलुके, जुकेना, सिद्धाराका स्थानीयले उत्पादन गरेको खसीबोका, कुखुरा, तरकारी अण्डा र माछामासु भालुवाङ निर्यात गर्न सहज हुने र कृषि उद्यम् बढ्ने थियो,’ उनले भने, ‘कहिले सडक बन्ला र भैंसीपालेर भालुवाङ बजारमा गाडीबाट दूध पठाउन पाइएला भनेर कुर्दाकुर्दै २५ वर्ष बित्यो । अझै कति वर्ष पर्खनुपर्ने हो, टुंगो छैन ।’

गच्छे–भालुवाङ सडक खण्डका नौमुरे जलविद्युत, राप्ती नदी, लामाताल पिकनिक स्थल र पतञ्जलीको जन्मस्थल ठाउँकै कारण पनि यो सडक महत्त्वपूर्ण रहेको यस क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए । ‘अघिल्लो वर्षमा संघ प्रदेशको सम्पुरक र विनियोजित बजेट गरी २२ करोड रुपैयाँ थियो,’ उनले भने, ‘यसपटक प्रदेश सरकारले जम्मा अढाई करोड छुट्याइिदयो । मैले प्रदेश राजधानी जोड्ने द्रुत मार्गलाई ओझेलमा पार्ने काम भएकाले संसद्‍मा पनि कुरा उठाएँ ।’

तीन जिल्लालाई प्रभाव पार्ने सडकलाई बजेट विनियोजन नगर्नु दुःखद भएको उनको टिप्पणी छ । जंगलभित्रको दुर्गम बस्तीले मुहार फेर्ने, यहाँ उत्पादित तरकारी, खसीबोका सहजै बजार पुग्ने र स्थानीय स्वरोजगार बन्ने बलियो आधार रहेको घिमिरेले बताए ।

प्रकाशित : भाद्र १७, २०८१ १७:२३
x
×