कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कृषिकर्मतिर सन्धिखर्कका युवा

भाद्र १५, २०८१
कृषिकर्मतिर सन्धिखर्कका युवा

अर्घाखाँची — अर्घामा जन्मिएका सन्धिखर्कका दुई युवा बाबुराम भुसाल र राजेन्द्र जीसीले दशकसम्म होटल व्यवसायीको परिचय बनाए । अहिले उनीहरूको परिचय फेरिएको छ । होटल साहुजीबाट अहिले उनीहरू युवा किसान बनेर चिनिन थालेका छन् । 

४३ वर्षीय जीसीले सन्धिखर्कमा १२ वर्ष होटल व्यवसाय गरे । २४ वर्षको उमेरमा रोजगारीका लागि दुबई पुगेका उनी ६ वर्षपछि स्वदेश फर्किए । दुबईमा कमाएको पैसाले सन्धिखर्कमा बिजनेस सुरु गरे । सुरुको चार वर्ष होटल सन्ध्या, त्यसपछि ३ वर्ष होटल एभरेस्ट र ५ वर्ष साथी होटल सञ्चालन गरे । त्यसअघि उनी सन्धिखर्कको अर्घाखाँची आवासीय माविमा ३ वर्ष प्राथमिक तह शिक्षक र त्यसपछि केही समय विद्युत् कार्यालयमा मिटर रिडरको जागिरे पनि रहेका थिए ।

शिक्षक, मिटर रिडर, वैदेशिक रोजगारी, होटल मालिक हुँदै ५ वर्षदेखि राजेन्द्र कृषि उद्यममा सक्रिय छन् । सबै पेसा र जागिरमा बेग्लै प्रतिष्ठा रहेको उनी बताउँछन् । होटल व्यवसायबाट सन्धिखर्कमा घर घडेरी जोडे । एक छोरा र एक छोरीलाई काठमाडौंमा उच्चशिक्षा अध्ययन गर्दैछन् ।

‘होटलमा सामाजिक हिसाबले परिचय राम्रो हुन्थ्यो, धेरैले साहुजी भन्थे,’ उनले भने, ‘विशिष्ट श्रेणीदेखि सामान्य मान्छेसँग चिनापरिचय हुन्छ । होटलमा जस, अपजस दुवै खेप्नुपर्छ, यता कृृषिमा छुट्टै आनन्द छ ।’ कोरोना संक्रमण अगाडिसम्म होटल व्यवसाय राम्रो चलेको थियो । विभिन्न कार्यक्रमले सभाहल बुकिङ हुने, खाजा, खाना र बस्ने मान्छेको भीड नै हुन्थ्यो । ‘कोभिड पछाडि शून्यजस्तै भयो,’ उनले भने, ‘घर मालिकसँगको एग्रिमेन्ट पनि सकियो । त्यसपछि होटल बेचेर कृषितिर लागें ।’

तरकारी खेतीबाट कसरी राम्रो उत्पादन लिन सकिन्छ अनि बजार भाउ के छ त्यही ध्यान दिए पुग्ने उनले बताए । ‘मानसिक रूपमा कृषि पेसा धेरै ठीक छ,’ उनले भने, ‘शारीरिक कसरत, स्वास्थ्यलाई राम्रो, आफैं उत्पादन गरेको खान र उपभोक्तासम्म पुर्‍याउन सकिन्छ ।’ उनले श्री सन्ध्या बहुआयामिक एग्रो फार्म दर्ता गरेर सन्धिखर्क नगरपालिका–१० को माटेमा १२ रोपनी क्षेत्रफलमा पाँच वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।

‘जति मिहिनेत गर्‍यो, त्यति नै उत्पादन हुन्छ,’ उनले भने, ‘सबैभन्दा उत्तम त कृषि पेसा नै लाग्यो । सिजन अनुसारका तरकारी उत्पादन गर्दा महिनामा ६०/७० हजार रुपैयाँ कमाइ सजिलै हुन्छ ।’ उनले कृषि उद्यममै भविष्य उज्ज्वल रहेको बताए । कृषिमा हात हालेका राजेन्द्रको लक्ष्य बृहत् छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक छेउमा उनको कृषि फर्म छ । यो बाटो निर्माण कार्य पूरा भएर ढोरपाटनसम्म गाडी नियमित सञ्चालन हुँदा चलहपहल बढ्छ भन्ने उनमा विश्वास छ । त्यतिबेला एग्रो टुरिजमसहितको रिसोर्ट बनाउने, माछा पाल्ने, स्वीमिङ बनाएर पर्यटकलाई यहीं खाजा, खाना खुवाउने उनको सपना छ । यो बाटो निर्माण कार्य पूरा भएपछि नेपालको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटन सिकार खेल्न विदेशी पर्यटक यही बाटो आउजाउ गर्ने र चहलपहल बढ्ने अपेक्षा छ ।

अर्का युवा बावुरामको परिचय नेता, बिजनेसम्यान र कृषकको हो । उनले सन्धिखर्क नगरपालिका फुलवाङस्थित खेतका फाँटमा ७० रोपनी जग्गामा तरकारी खेती, दूधका लागि पशुपालन र फलफूल खेती गरेका छन् । उनले दुई वर्ष साथी होटल सञ्चालन गरे ।

राजेन्द्रले बेचेकाे हाेटल बाबुरामले किनेर सञ्चालन गरेका थिए । कोरोनापछि होटलमा भीडभाड कम भएपछि बाबुराम पनि होटल बिक्री गरेर कृषि उद्यमतिर लागेका हुन् । यहाँ फलफूल, औषधियुक्त जडीबुटीका रुख रोपेका छन् । ‘बारीमा उत्पादित तरकारी सन्धिखर्क ल्याएर मेरै सुपर मार्टमा बिक्री गर्छु,’ उनले भने, ‘मेरो कृषि फार्ममा २० जनाले काम पाएका छन् । ‘अहिले तरकारी खेती गरे पनि भविष्यमा यसलाई आयुर्वेद पर्यटकीय केन्द्र बनाउने लक्ष्य छ,’ उनले भने, ‘त्यसै अनुसार जडीबुटीका विरुवा रोपेको छु ।’ उनी ६ वर्षभन्दा बढी वैदेशिक रोजगारीमा थिए । त्यसपछि स्वदेश फर्केर जग्गा सन्धिखर्कमा कारोबारमा केही वर्ष लागे । जग्गामा मन्दी आएपछि उनी तरकारी खेतीमा सक्रिय भएका छन् । सन्धिखर्कमा सुपर मार्केट खोलेका पनि छन् । बारीमा उत्पादन भएको तरकारी आफैं बिक्री गर्छन् । कृषि उद्यम, बिजनेससँगै राजनीतिमा पनि सक्रिय छन् ।

‘गाउँका खेतबारी बसाइसराइका कारण र युवा जनशक्ति वैदेशिक रोजगारीका कारण बाँझिदैछन्,’ उनले भने, ‘यो चिन्ताको विषय हो । रैथाने बाली, तरकारी उत्पादन हराउँदै गएको छ ।’ बाँझो बारी रहन नदिन आफूसक्दो कृषि उद्यम गर्नुपर्ने उनले बताए । आफैं उत्पादन गरेपछि अर्गानिक खान पाइने र राम्रोसँग कृषि उद्यमका काम गर्ने हो भने खाडी मुलुकमा कमाइने पैसा यहीं कमाउन सकिने उनले बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १६:५०
x
×