कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लुम्बिनीमा १२ सय शय्याको देशकै ठूलो अस्पताल बन्दै

भाद्र १५, २०८१
लुम्बिनीमा १२ सय शय्याको देशकै ठूलो अस्पताल बन्दै

Highlights

  • अर्थमन्त्री विष्णु पौडेलले गरे भवनको शिलान्यास

बुटवल — लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढेको छ । यो आयोजना लुम्बिनी प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ पनि हो । भवनको शनिबार अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

भवनको शिलान्यास गर्दै उनले समयमा काम गरेमा कुनै पनि आयोजनाका लागि बजेट अभाव नहुने बताए ।

प्रदेश सरकारको ६ अर्ब १८ करोड लागतमा देशकै ठूलो अस्पताल निर्माण हुन लागेको हो । सरकारीस्तरमा एकै अस्पतालमा १२ सय शय्या नभएको प्रदेश स्वास्थ्य मन्त्रालयको दाबी छ । प्रदेश सरकारको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ । दुई तला अन्डरग्राउण्ड पार्किङ हुनेछ । १२ तले मुख्य भवनको छतमा हेलिप्याड र त्यसबाट इमर्जेन्सीसम्म पुग्ने सुविधायुक्त लिफ्टसहितको आधुनिक प्रविधि र अत्याधुनिक उपकरणसहितको सेवा उपलब्ध हुने गरी भवन निर्माण अघि बढेको हो । त्यस्तै पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।

दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीसाग संयुक्त रूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको छ । पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख इन्जिनियर छलिराज पोखरेलका अनुसार ‘क्याम्पासाइट–आशिष–रेलिगेर’ संयुक्त कम्पनीले ६ अर्ब १८ करोड रुपैंयाँमा ५ वर्षमा प्रस्तावित भवन निर्माण सम्पन्न गर्ने गरी गत पुष २६ गते निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनी क्याम्पासाइट भारतीय प्रतिष्ठित कम्पनी हो । आशिष र रेलिगेर पनि नेपालका राम्रा कम्पनी मानिन्छन् । संयुक्तमा काम गर्ने गरी सम्झौता भएर काम अघि बढेको इन्जिनियर पोखरेलले बताए ।

भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने प्राधिकरणले जनाएको छ । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

अर्थमन्त्री पौडेलले भवनको शिलान्यास गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्न नागरिकस्तरबाटै निगरानी हुनुपर्ने बताए । नियमित र गुणस्तरीय काम भएका कुनै पनि आयोजना बजेट अभावले अलपत्र वा अप्ठ्यारोमा नपर्ने उनले प्रतिबद्धता व्यक्त गरे । आयोजना समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन पनि उनले दिएका छन् । ‘छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी आयोजना अघि बढाउनुस्, कुनै पनि अवस्थामा बजेट अभाव हुँदैन्,’ उनले भने, ‘पाँच वर्षको काम तीन वर्षमा सक्छु भन्ने काम नसकेर पछुताउने अवस्था नबनाउनु होला ।’

तर लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको काम तोकिएको समयमै सकिनेमा उनले विश्वास व्यक्त गरे । त्यसअघि निर्माण कम्पनीका प्रतिनिधिले ५ वर्षको निर्माण सम्झौता भएपनि तीन वर्षमै काम सम्पन्न गर्ने बताएका थिए ।

शिलान्यास कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । उनले आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

उनले चालु आवमा भवन निर्माणका लागि मात्र १ अर्ब ८० करोड बजेट बिनियोजन गरिएको बताए । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेलको पालामा नै अघि बढेको थियो । तर, विभिन्न प्राविधिक त्रुटी र टेण्डर प्रक्रियामा भएको गडबढीको समस्याले काम सुरु हुन ढिलाई भएको थियो ।

प्रकाशित : भाद्र १५, २०८१ १२:५५
x
×