कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

माडीचाैर–घर्तीगाउँ सडक अवरुद्ध, यात्रु मारमा

भाद्र १५, २०८१
माडीचाैर–घर्तीगाउँ सडक अवरुद्ध, यात्रु मारमा

राेल्पा — माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँलाई सदरमुकाम लिबाङसँग जोड्ने सबैभन्दा छोटो दूरीको माडीचौर–घर्तीगाउँ सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।लिबाङदेखि घर्तीगाउँसम्मको उक्त सडक २८ किलोमिटर लामो छ ।

मदन भण्डारी नामकरण गरिएको उक्त सडकको लिबाङदेखि माडीचौरसम्मको सडक खण्ड कालोपत्र भइसकेको छ । त्यसउताको करिब १४ किलोमिटर लामो सडक खण्ड कच्ची छ । साँघुरो र निर्माणाधीन अवस्थाको उक्त सडक हरेक वर्षायाममा अवरुद्ध हुने गरेको छ । माडीचौरदेखि घर्तीगाउँसम्मको सडक अलपत्र र बेहाल अवस्थाको भएकाले यातायातका साधन संचालन हुँदैनन् । हिउँदमा जसोतसो गाडी गुड्ने भए पनि वर्षायाममा सडक माथिबाट माटो खस्ने र सडक नै भत्केर आवागमन बन्द हुने भएकाले यातायातका साधन र यात्रीलाई मुस्किल पर्ने गरेको छ ।

निकै पुरानो र महत्त्वपूर्ण सडक भए पनि माडीचौरदेखि घर्तीगाउँसम्म सडक मर्मत हुन नसक्दा अवरुद्ध अवस्थामा छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाको आधा आधा पर्ने उक्त सडक मर्मत गर्न चासो कम भएकाले यातायातका साधन नियमित चल्न पाएका छैनन् । सुरक्षित तरिकाले यस सडकमा यातायातका साधन सञ्चालन गर्न नसक्दा लिबाङदेखि दारबोट र कोर्चाबाङ हुँदै घर्तीगाउँ यातायातका साधन पुर्‍याउनु परेको जलजला हिमाल यातायात प्रालिका अध्यक्ष भीमसेन घर्तीमगरले बताए ।

उनका अनुसार सडक निकै साँघुरो र भरपर्दो नभएकाले यातायातका साधन चलाउन नसकिएको हो । प्रालिका अनुसार दारबोट भएर घर्तीगाउँ र थबाङसम्मका यातायातका साधन दारबोट भएर पठाउनुपर्दा समय बढी लाग्ने र भाडा पनि बढाउनुपरेको अवस्था छ । ‘उही ठाउँ जाने गाडीलाई अर्कै सडक भएर लैजाँदा भाडा बढी लाग्ने अवस्था छ । तल्लो सडक मर्मत भए त्यो झन्झट हट्न सक्थ्यो,’ प्रालिका अध्यक्ष घर्तीमगरले भने । यसो गर्दा घर्तीगाउँसम्म पुग्ने यात्रुले भाडा झन्डै दोब्बर तिर्ने गरेका छन् ।

करिब डेढ दशकअघि निर्माण गरिएको सडकको मर्मत र सुधार गर्न स्थानीय तहले चासो कम दिएको गुनासो छ । दुवै स्थानीय तहले आफ्नो भागमा पर्ने सडकको मर्मत गर्ने गरेकाले समान प्रकारको अवस्था छैन । ‘सडक मर्मत नगरिएकाले हामीले जोखिमका साथ यातायातका साधन सञ्चालन गरेका छौं,’ घर्तीमगरले भने । हाल उक्त समितिसँग ६० भन्दा बढी साना गाडी छन् भने आधा जति उक्त सडक हुँदै संचालन गरिएको छ । सडक निकै साँघुरो भएकाले साना सवारी साधन (जिप) मात्रै सञ्चालन गरिएको छ ।

उक्त सडकमा बस संचालनमा छैनन् । उपभोक्ताहरूले सुरुदेखि नै बस सञ्चालन गर्न मिल्ने चौडा सडक बनाउन र सार्वजनिक यातायातका साधन संचालन गर्न सके भाडा कम हुने बताउँदै आएका छन् । सडक सुधार भएमा जिपले पनि भाडा घटाउने उपभोक्ताको आशा छ ।

सुरुमा प्यूठानस्थित सडक डिभिजन कार्यालयले जिम्मा लिएर निर्माण गरेको सडक लामो समयसम्म अलपत्र हुनु दुःखद भएको स्थानीय शिक्षक अमर जीएमले बताए । रोल्पास्थित सडक पूर्वाधार विकास कार्यालयका अनुसार कुन कार्यालयले सडक निर्माणको जिम्मा लिने भन्ने अन्योलले सडकप्रति चासो कम भएको जनाएको छ । इन्जिनियर लोक विष्टले निकै महत्त्वपूर्ण सडक भएर पनि निर्माण सम्पन्न गर्न र सुधार गर्न समेत प्राथमिकतामा नपरेको बताए ।

मदन भण्डारी मार्ग पूर्वबाट प्यूठानको चकचके हुँदै पूर्वी रोल्पाको सुलीचौरबाट अघि बढेर उक्त सडक लिबाङ ल्याइपुर्‍याउने योजना छ । लिबाङदेखि माडीचौर, घर्तीगाउँ, ओत, जिनाबाङ हुँदै सल्यान र सुर्खेत पुर्‍याउने योजनासहित सडक निर्माण भइरहेको छ । उक्त सडक निर्माण गर्ने कार्यालय पूर्वको गुल्मीमा र पश्चिमको सुर्खेतमा रहेकाले प्यूठान, रोल्पा, सल्यान खण्डमा पर्ने सडक निर्माण योजना अलपत्र रहँदै आएको हो ।

प्रकाशित : भाद्र १५, २०८१ १९:४४
x
×