कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पहिलोपटक रोल्पा अस्पताल प्रमुखमा विशेषज्ञ चिकित्सक

भाद्र १४, २०८१
पहिलोपटक रोल्पा अस्पताल प्रमुखमा विशेषज्ञ चिकित्सक

रोल्पा — रोल्पा अस्पतालमा पहिलोपटक विशेषज्ञ चिकित्सक आएका छन् । लुम्बिनी प्रदेश सरकारले ५० बेडको रोल्पा अस्पतालमा पहिलोपटक विशेषज्ञ चिकित्सक डा प्रमोद कट्टेललाई कार्यालय प्रमुख बनाएको छ । डा कट्टेल वरिष्ठ कन्सल्टेन्ट तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी अघिल्लो साताबाट अस्पताल प्रमुखमा समेत नियुक्त भएका हुन् । 

आठौं तहका डा कट्टेललाई प्रदेश स्वास्थ्य मन्त्रालयले रोल्पा अस्पतालमा पठाएको हो । यसअघि पोखरामा कार्यरत डा कट्टेलको विभिन्न अस्पतालमा काम गरेको अनुभव छ । ‘दुर्गममा काम गर्ने चाहनाले म यहाँ आएको हुँ । रोल्पा अस्पतालको प्रमुखको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेछु ।’ उनले अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेपछि सहककर्मीमाझ आफ्ना योजनासमेत सुनाए ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सबाट एमबीबीएस अध्ययन गरेका डा कट्टेलले यसअघि काठमाडौंस्थित काठमाडौं मोडेल अस्पताल, परोपकार प्रसूति तथा महिला अस्पताल थापाथली र वीर अस्पताल लगायतमा कार्य गरेका गरेका थिए । यो पटक भने पोखरामा एमडीका विद्यार्थीलाई पढाइरहेका बेला उनलाई यहाँ ल्याइएको थियो ।

अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले विशेषज्ञ चिकित्सक पहिलोपटक आएको र बिरामीलाई विशेषज्ञ सेवा पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले पहिलोपटक वरिष्ठ चिकित्सकलाई पठाएको छ । रोल्पामा महिला र बालबालिकाकाको स्वास्थ्य अवस्था निकै नाजुक छ । सम्बन्धित चिकित्सक आएकाले विरामीका लागि राम्रो खबर हो,’ उनको भनाइ छ ।

अस्पतालमा यसअघि दुई वर्ष कार्य गरिसकेकी डा धनमाया घर्तीमगरले भर्खरै एमडी अध्ययन सकेकी छन् । बाल रोग विशेषज्ञका रुपमा रोल्पामै कार्यरत हुने उनको चाहना छ । रोल्पा नुवागाउँमा जन्मेकी डा धनमायाले करिब ५ वर्षअघि छात्रवृत्तिमा एमबीबीएस अध्ययन सकेकी थिइन् ।

निक साइमन इस्टिच्यूट संस्थाले एमडीजीपी डा सन्तोष यादवसहितका स्वास्थ्यकर्मीलाई रोल्पा अस्पतालमा खटाएको छ । तलब सुविधा उक्त संस्थाले नै व्यहोर्ने गरेको छ । निक साइमनले रोल्पालगायत दुर्गम र आधारभूत स्वास्थ्य सेवाबाट बन्चित रहेका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन सहयोग गर्ने उद्देश्यले चिकित्सक खटाउँदै आएको छ । हाल अस्पतालमा करिब ८ जना चिकित्सक छन् । सात वर्ष लगाएर अघिल्लो वर्ष निर्माण सम्पन्न भएको रोल्पा अस्पताल भवन अढाई तलाको र अत्याधुनिक छ । सरकारले अस्पताल भवन बनाउन २९ करोड बजेट छुट्याएको थियो ।

अस्पतालका अनुसार ११ औं तहको वरिष्ठ कन्सल्टेन्ट वा चिकित्सकलाई कार्यालय प्रमुखका रुपमा खटाउनुपर्ने प्रावधान छ । प्रदेश सरकारले पहिलोपटक १० औं तहका डा कट्टेललाई कार्यालय प्रमुख खटाएको हो । रोल्पा अस्पतालले गरेको अध्ययन (ओएनएम) अनुसार एघारौं तहको चिफ कन्सलटेन्ट (मेडिकल सुपरिटेन्डेन्ट) सहित १८ जना चिकित्सकको दरबन्दी हुन आवश्यक छ ।

अस्पतालमा स्वीकृत चिकित्सक दरबन्दी अनुसार सीएमएस, एमएस वा डाइरेक्टर हुन एक जना एघारौं तहका मुख्य कन्सल्टेन्ट चिकित्सक, नवौं वा दशौं तहका सिनियर कन्सल्टेन्ट चिकित्सक १० जना, आठौं तहका मेडिकल अधिकृत ७ जनासहित १३ जना नर्सिङ स्टापको स्वीकृत दरबन्दी छ । बिरामी र चिकित्सक बीचको अनुपात १:३२० जना छ । तर दरबन्दी अनुसार अझैसम्म चिकित्सक र कर्मचारी आएका छैनन् ।

रोल्पा अस्पताललाई लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ५० शय्याको तहमा स्वीकृति प्रदान गरेको थियो । अस्पताल ५० शय्याको संचालन भएमा विभिन्न क्षेत्रका विशेषज्ञ सेवासमेत संचालन गर्नुपर्ने छ । ५० बेडको अस्पतालमा जनरल फिजिसियन सेवासहित बाल रोग, स्त्रीरोग, हाडजोर्नी, शल्यचिकित्सा, मानसिक, नाक, कान र घाँटी, एनेस्थेसिया लगायतका विषयका विशेषज्ञ चिकित्सक हुनु आवश्यक हुन्छ । त्यस्तै नर्सिङ स्टाफ लगायतका थप कर्मचारी भएमा मात्रै नयाँ भवनमा काम गर्न सहज हुने मेडिकल अधिकृत डा निरज घर्तीमगरले बताए । ५० शय्याको अस्पतालमा कम्तीमा ११ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने प्रावधान छ ।

प्रकाशित : भाद्र १४, २०८१ २२:०९
x
×