कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मुख्यमन्त्रीसँग ९२ वर्षीय भट्टराईको गुनासो – ‘हामीलाई भरसक गाडीमा चढाउँदैनन्’   

भाद्र १४, २०८१
मुख्यमन्त्रीसँग ९२ वर्षीय भट्टराईको गुनासो – ‘हामीलाई भरसक गाडीमा चढाउँदैनन्’   

देउखुरी — लौरो टेक्दै मुख्यमन्त्री कहाँ आइपुगेका बाँके कोहलपुर नगरपालिका–१२ मुसरीखेतका ९२ वर्षीय जुद्धप्रसाद भट्टराईले कुनै बजेट योजना मागेनन् । उनले आफूजस्तै वृद्धवृद्धाले पाएको दुःख सुनाए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उनले बिहीबार मुख्यमन्त्री कार्यालय देउखुरीमा कोहलपुर नगरपालिकाले दिएको ज्येष्ठ नागरिक परिचयपत्र देखाए ।

‘ल हेर्नुस्, हामी ज्येष्ठ नागरिक हौं, मसहित अरुलाई सार्वजनिक गाडीले भरसक चढाउँदैनन्,’ उनले मुख्यमन्त्रीसँग गुनासो पोख्दै भने, ‘चढाइहाले पनि छुटै छैन भनेर पूरै भाडा लिन्छन् । तपाईं (मुख्यमन्त्री) सँग भनेपछि बुढाबुढीलाई सम्मान होला र गाडीमा छुट होला भनेर भेट्न आएको हुँ ।’ उनले आफू र अन्य बुढापाकाले यातायातमा तथा घरमा एक्लै बस्दा पाएको दुःख सुनाउन मुख्यमन्त्री कार्यालयमा आएको बताए । मुख्यमन्त्रीसँग दुःख सुनाएपछि सहयोग पाइन्छ, राज्यले हेर्छ, संरक्षण गर्छ भन्ने आशा रहेको उनले बताए ।

गाडीमा उभिन सकिँदैन् । बसमा ज्येष्ठ नागरिक लेखिएको सिटमा पनि जवाननै बसेका हुन्छन् । बुढाबुढीलाई छाड्दैनन् । सरकारले ६० वर्ष उमेरलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक यातायातमा दुई सिट ज्येष्ठ नागरिकलाई सुरक्षित गरी ५० प्रतिशत भाडा छुट दिनुपर्ने कानुनी व्यवस्था छ । ‘अब हामी ८० वर्ष पार परेका ज्येष्ठ नागरिकलाई भाडामा पूर्ण छुट चाहियो, यो राज्यले व्यवस्था गरिदिनु परो,’ भट्टराईले भने, ‘गाडीमा हिँडिरहनुपर्छ । गाडीवालाले दुःख दिन्छन्, ढाँटछल गर्छन् । गाडीले रोकेर चढाउनु, सिटमा बस्न पाइयोस्, राम्रोसँग यात्रा गर्न पाइयोस्, यो वातावरण बनाइदिनुस् मुख्यमन्त्रीज्यू ।’ उनले यस्तो दुःख लामो तथा छोटो दूरीमा पाएको बताए ।

उनका अनुसार पछिल्लो सयम धेरैका छोराछोरी पढ्न र वैदेशिक रोजगारमा भएकाले घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने बाध्यता छ । राज्यले ठाउँ ठाउँमा धार्मिक मनोरञ्जन गतिविधि सञ्चालन गरेर भुल्ने व्यवस्था गरिदिनुपर्ने उनको माग छ । बुढेसकालमा सजिलै गाडीमा यात्रा गर्न, दिन कटाउन र भुल्नको लागि सरकारले ज्येष्ठ नागरिकलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । कतिपय घरमा एक्लै भएका वृद्धवृद्धा खाना पकाएर खान नसक्ने र सामाजिक सुरक्षा भत्ता लिन जान पनि नसक्ने भएकाले राज्यले सहयोग गर्नुपर्ने भट्टराईले बताए । ‘घरमा बस्दा बिरामी परिन्छ, धेरै रोगी छन्,’ उनले भने, ‘बुढाबुढीलाई घुमाउने, भ्रमण गराउने र समय बिताउन चाहने ज्येष्ठ नागरिकलाई हरेक सुविधा उपलब्ध गराइनुपर्छ । बुढाबुढीलाई राज्यले नै हेर्नुपर्छ ।’

निकै भावुक र आफ्नो उमेर समूहका वृद्धवृद्धाको दुःख सुनाउन कोहलपुरबाट देउखुरी आएका भट्टराईको कुरा सुनेपछि मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकलाई सवारीसाधनमा भाडा छुट दिने कार्यविधिलाई पूर्णकार्यान्यवनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘नियममा आएको छुट पाउनुपर्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘मैले पहल गर्छु । ज्येष्ठ नागरिकको संरक्षण, सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गर्छ ।’

उनले ज्येष्ठ नागरिकको जीवनभर सामाजिक कामदेखि सबै अनुभव, ज्ञान, सीप र क्षमतालाई सदुपयोग गरेर लुम्बिनी प्रदेश सरकार अगाडि बढ्ने आचार्यले बताए । समृद्ध प्रदेश बनाउन अभियानमा ज्येष्ठ नागरिकको अनुभव प्रदेश सरकारलाई चाहिएको उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकको संख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ । जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो ।

प्रकाशित : भाद्र १४, २०८१ १७:१८
x
×