कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बेनी अस्पताल : नि:शुल्क औषधिको सधैँ अभाव

भाद्र २०, २०८१
बेनी अस्पताल : नि:शुल्क औषधिको सधैँ अभाव

म्याग्दी — सरकारले जिल्ला अस्पतालहरूबाट ९६ प्रकारका औषधिहरू नि:शुल्क उपलब्ध गराउने भनेको छ । बेनी अस्पतालमा भने सरकारले उपलब्ध गराउने प्रतिबद्धता गरेकामध्ये मुस्किलले ४०–५० किसिमका औषधि मात्र उपलब्ध छन् । तीमध्ये पनि अस्पतालमा हुने मागको तुलनामा २०–२५ प्रतिशत मात्र आपूर्ति हुने गरेको छ ।

‘बेनी अस्पतालमा सरकारले उपलब्ध गराउने भनेका सबै ९८ प्रकारका औषधिहरुमध्ये बढीमा ४०–५० प्रकारका औषधि उपलब्ध हुन्छन् । उपलब्ध हुने नि:शुल्क औषधिहरुमध्ये अस्पतालमा हुने मागको २०–२५ प्रतिशत मात्र आपूर्ति हुन्छ,’ बेनी अस्पतालको औषधि स्टोर प्रमुख रहेकी नर्सिङ अफिसर एवं सूचना अधिकारी खेमकुमारी पन्तले भनिन्, ‘त्यो पनि अनियमित आपूर्ति हुन्छ । ५–१० वटा बाहेक नियमित (अटुट) उपलब्ध भइरहने औषधि एउटै छैन ।’

पन्तले थपिन्, ‘सरकारले नि:शुल्क पठाउने औषधि मात्र हैन, अस्पतालले आवश्यकता अनुसार खरिद गर्ने औषधिहरु पनि सप्लायर्सले नदिँदा समय समयमा अस्पतालमा औषधि समस्या भइरहन्छ । टेण्डर गरेका कति औषधि त सप्लायर्सले कहिल्यै पठाउँदैन, अस्पतालले विशेष ख्याल पुर्‍याउनु पर्ने छ ।’

बेनी अस्पतालले नि:शुल्क औषधि उपलब्ध नहुँदा नियमित औषधि सेवन गर्नुपर्ने मानसिक, मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग लगायत नसर्ने रोगका बिरामी बढी प्रभावित भएका छन् । दीर्घरोगीले सेवन गर्ने औषधि मात्र होइन, इमर्जेन्सीमा आउने हर्टअट्याक्ट समेतका बिरामीलाई आपतकालीन उपचारमा दिइने एड्रिनालिन सुई, साधारण डेक्स्ट्रोज, आरएल, एनएस जस्ता सलाइन समेत अस्पतालमा पाइँदैन । गर्भवती महिलालाई अनिवार्य खुवाइने फोलिक एसिडसमेत अस्पतालमा अभाव छ ।

‘सिटामोल, जीवनजल समेत ५–१० वटा आधारभुत औषधिबाहेक बेनी अस्पतालमा बाँकी औषधि कुनै न कुनै समय स्टक आउट भएकै हुन्छ । नि:शुल्क भने पनि धेरै औषधि त आउँदै आउँदैनन्, आएकापनि मागको २०–२५ प्रतिशत आउँछ,’ अस्पतालको फार्मेसी तथा सामाजिक सेवा इकाई प्रमुख अञ्जु शर्माले भनिन्, ‘अस्पतालले दिने सेवा थपिएपछि त कम्तीमा सोही किसिमका औषधि पठाउनु, समयमै पठाइ दिए हुन्थ्यो नि पठाउने औषधि पनि स्टक आउट गर्ने बेलामा आउँछन् । कति त गुणस्तरहीन हुन्छन् ।’

जिल्ला अस्पताल समेत स्थानीय तहमा रहने आधाारभुत स्वास्थ्य संस्थाहरुसम्म नि:शुल्क औषधि पुर्‍याउने जिम्मेवारी गण्डकी प्रदेश औषधि ब्यवस्था विभागको हो । तर विभागले प्रोटोकलले तोकेका सबै औषधि पठाउन सकेको छैन ।

बेनी अस्पतालको फार्मेसीका कर्मचारीले बताए अनुसार मधुमेहका बिरामीलाइ दिइने विभिन्न औषधिमध्ये बेनी अस्पतालमा ५ सय एमजीको मेटफरमीन बाकेह अर्को औषधिनै छैन । मेटफरमीन पनि ६ महिना अन्तरमा आएको हो । त्यस्तै, उच्च रक्तचाप र क्लोस्टोरलका बिरामीले नियमित खानुपर्ने एट्रोभास्टिनका सबै डोज पछिल्लो ९ महिनादेखि अस्पतालमा आएको छैन ।

प्रकाशित : भाद्र २०, २०८१ २१:३८
x
×