कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

एमाले चार मन्त्रालय लिएर गण्डकी सरकारमा सहभागी

भाद्र १७, २०८१
एमाले चार मन्त्रालय लिएर गण्डकी सरकारमा सहभागी

Highlights

  • दीपक मनाङेले पाए मन्त्रीमा निरन्तरता, वन तथा वातावरण मन्त्रालयको जिम्मा
  • मन्त्रीहरूले लिए शपथ

पोखरा — संघमा सत्ता गठबन्धन फेरबदल भएको करिब डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा चार मन्त्रालय लिएर एमाले सहभागी भएको छ । मन्त्रालयहरूको बाँडफाँट र अन्यदलहरूलाई समेट्ने विषयमा कांग्रेस र एमालेबीचको गलफत्ति मन्त्रालय फुटाउने सहमतिमा टुंगिएपछि एमाले सरकारमा सहभागी भएको हो ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डिल्लीराज भट्टसँग शपथ लिए । गण्डकीमा एमालेलाई समेट्नका लागि मन्त्रालयको संख्या ७ बाट ९ बनाइएको थियो । एमालेबाट पद्मा जिसीको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको हो । जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै प्रकाशबहादु केसीले भौतिक पूर्वाधार तथा यातायात, मित्रलाल बस्यालले उद्योग र पर्यटन तथा कृष्ण पाठकले स्वास्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेकी केन्द्रीय लेखा आयोग सदस्य जीसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउँदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था जस्तो शक्तिशाली मन्त्रालय भने प्रकाशबहादुर केसीको भागमा परेको छ । कास्कीका केसी गत चुनाव अघि राप्रपा त्यागेर एमालेमा प्रवेश गरेपछि समानुपातिक सांसद चुनिएका थिए । उनी एमाले संसदीय दलका नेता खगराज अधिकारी निकट हुन् ।

एमाले सरकारमा सहभागी हुँदै गर्दा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेले पनि मन्त्रिपरिषद्मा निरन्तरता पाएका छन् । उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । मनाङेलाई मन्त्री नै बनाउन नहुने अडान एमालेको थियो । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई संकटका बेलामा बुहमत जुटाउन साथ दिएकाले उनलाई कुनै हालतमा मन्त्री बनाउने अडान लिएका थिए । त्यसपछि मन्त्रालय फुटाएर भए पनि मनाङेलाई मन्त्रिपरिषद्मा समेटिएको हो ।

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीमासहित फणिन्द्र देवकोटाले पनि निरन्तरता पाएका छन् । उनी नेपाल समाजवादी पार्टीका सांसद हुन् ।माओवादीले आफ्नो ह्वीप उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरे पनि सर्वोच्चले उनी अर्कै पार्टीको सांसद रहेको भन्ने आदेश जारी गरेको थियो । त्यसपछि देवकोटा सरकारमा निरन्तर छन् । देवकोटाले पनि संकटमा साथ दिएको भएकाले उनलाई सरकारमा निरन्तरता दिन मुख्यमन्त्रीले अडान लिएका थिए ।


प्रकाशित : भाद्र १७, २०८१ १३:४१
x
×