कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हराउँदै 'जेठोबुढो'

भाद्र १५, २०८१
हराउँदै 'जेठोबुढो'

कास्की — पोखरा चिनाउने खाद्यान्न हो, ‘जेठोबुढो’ । पोखराको जेठोबुढो धान भनेपछि अन्य धानसँग तुलनै हुन्थेन । अहिले जेठोबुढोको बीउसमेत भेटाउन मुस्किल छ । यताकता भएको जेठोबुढोको पनि न स्वाद छ न बास्ना नै । खेतका फाँटबाट जेठोबुढो हराउँदै जाँदा धानको बाला लाग्न थालेपछि मगमग आउने बास्ना पनि हराएको छ ।

‘घरमा भात पकाउँदासमेत गाउँभरि फैलिने बास्ना अहिले खाने बेलामा पनि आउँदैन,’ पोखरा महानगरपालिका–२३ घाँटीछिनाकी ५८ वर्षीया बसन्ती गुरुङले विगत सम्झिदै भन्छिन्, ‘त्यो बेला घरमा हामीले लगाएको जुठोबुढो र अहिले हामले लगाउने जेठोबुढोमा आकाश जमिनको फरक छ ।’

उनले जेठोबुढोको खेतीसँगै भातमा स्वाद पनि हराउँदै गएको बताइन् । खेतीपातीमा विकासे मलको प्रयोग गर्न थालेपछि उत्पादनमा गुणस्तर घटेको उनको बुझाइ छ । ‘पहिले गाईभैंसीको मलले खेती लगाउन पुग्थ्यो,’ उनले भनिन, ‘अहिले बाहिरबाट ल्याएको रासायनिक मल प्रयोग गरिन्छ । घरको मलले पुग्दैन । कमिला र किरा मार्ने भनेर विषादी प्रयोग गरिन्छ । विषादी प्रयोगले उर्वर माटोलाई मारिसक्यो ।’

उनले आफैँले लगाएको खेती पनि गाउँको लोकल भनेर खाने अवस्था नरहेको सुनाइन् । ‘घरमै उब्जिएको भनेर मात्रै भएन । अहिलेको कृषि उत्पादन नै सबै रासायनिकयुक्त छ । धान पनि उस्तै छ,' उनले थपिन् । आफ्नो जग्गा आसपासमा रासायनिक मल प्रयोग गरेपछि आफूले नगरेको भए पनि त्यसको प्रत्यक्ष असर पर्ने उनको अनुभव छ ।

सोही ठाउँका कृषि संजालका संयोजक ५३ वर्षीय लोकबहादुर गुरुङले जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण रहेको बताए । किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदान दिन थालेपछि पुख्यौली धान बिस्थापित हुँदै गएको उनको भनाइ छ ।

किसानलाई खेती लगाउन रासायनिक मल प्रयोग गर्न प्रेरित गर्ने र किसान पनि बढ्दो उत्पादनमा रमाउने हुँदा जेठोबुढो मासिँदै गएको उनी बताउँछन् । विषादीको प्रयोगले धान मात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि असर गरेको उनको भनाइ छ । विषादी प्रयोग गरिएका खानेकुराले मानव जीवनमा पनि असर पुगेको उनी बताउँछन् ।

उनले कृषि कार्यालयबाट किसानलाई विकासे बीउभन्दा लोकल विउलाई प्राथमिकता दिनुपर्नेमा त्यसो नभएको गुनासो गरे । कार्यालयबाट उत्पादन बढाउन उन्नत जातको धान प्रयोग गर्न लगाउँदा अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथानी बाली लोप हुँदै गएको उनले बताए । जेठोबुढोसंगै ठिमाहा लगायतका अन्य लोकल धान पनि हराउँदै गएको उनले बताए ।

पोखरा महानगर, जैविक विविधिता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल जस्ता संस्थाले रैथाने बाली प्रर्वद्धनमा पहल गरेको उनले बताए । पोखरा महानगरपालिका–३१ का विष्णुप्रसाद बास्तोलाले जेठोबुढो धान संरक्षण नभएकोप्रति गुनासो गरे । व्यावसायिक कृषककोरुपमा आफ्नो पहिचान बनाउदै गर्दा रैथाने बाली संरक्षणमा स्वंम ध्यान नपुगेको उनी सुनाउँछन् ।

‘पहिलेको अर्गानिक धान र अहिलेको धानमा भिन्नता छ, अहिलेकोमा न बास्ना छ न स्वाद,’ उनले थपे, ‘पहिला दुध र भात खाँदा कति स्वाद आउँथ्यो अहिले रसै भेटिदैन । आफैँले उत्पादन गरेको धान भए पनि दुधसँग मात्र खान सक्ने अवस्था छैन ।’ उनले पनि रासायनिक मलको प्रयोग बढ्दै जाँदा स्वादिलो खाद्यान्न पनि हराउँदै गएको स्वीकारे ।

स्याङ्जाको गल्याङ् नगरपालिकाका बासुदेव ज्ञवालीले पनि पुख्यौली धान हराउँदै गएकोप्रति चिन्ता पोख्छन् । मुलको चिसो पानीले छटछट हानेर उत्पादन गरिए जस्तो धान अहिलेको नहुने भन्दै उनी सुनाउँछन् । ‘पहिला मुलको पानी प्रयोग हुन्थ्यो । घरमै पालेका गाईवस्तुको मल प्रयोग गर्थ्यौँ । अहिले वातावरण फेरियो । धानका बीउ पनि हाइव्रिड आउन थालेपछि पुख्यौली धान हराउन थालेका हुन् ।’

पोखराबाटै ल्याएर जेठोबुढो धान खेती गरेको अनुभव उनीसँग छ उनले जेठोबुढो धान भनेपछि कुनै समय अन्य जातको धान नलगाउने गरेको बताउदै भने, ‘पोखराको बजारमा किनेको चामल भन्दा अलिअलि वास्ना मेरो घरको चामलमा आउँछ । पोखरामा झन् भेटिएन ।’

गण्डकी प्रदेश सरकारले जग्गा वर्गीकरण, माटो परीक्षण, चक्लाबन्दी लगायतका काम गदै आएको छ । रैथाने बाली संरक्षणको लागि कृषि जैविक विविधता तथा प्राङगारिक कृषि प्रर्वद्धन रणनीतिक कार्ययोजना, २०८० तयार पारेको छ । उक्त कार्ययोजना अन्तर्गत रैथाने बाली संरक्षण प्रवर्द्धन कार्यक्रम संचालन गरिएको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र पोखराका निमित्त प्रमुख अर्जुनदेव ज्ञवालीले बताए ।

मौलिक बास्ना कायम गर्न खााचो रहेको बताउँदै उनले जेठोबुढोको जातीय गुण सुधारतर्फ थप अनुसन्धान हुनुपर्ने बताए ।पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको उनले बताए ।

‘एक त विको धानको प्रभाव पनि परेको छ,’ उनले थपे, ‘अर्कोतर्फ बजारमा बिक्री गर्दा जेठोबुढोका नाममा मिसावट हुने समस्या पनि छ ।’ उनले वातावरणीय प्रभाव, न्युटेसन र पोलिलेशनका कारण पनि वास्ना नभेटिने गरेको बताए । कृषि मन्त्रालयले जेठोबुढो पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशकै पहिचान रहेको बताउँछ ।

लिबर्ड नाम गरेको एक संस्थाले जेठोबुढो प्रवर्द्धनका लागि सुधारिएको जेठोबुढो बीउ उत्पादन र बिक्री वितरण गरेको छ । लिवर्डका अनुसार पोखरा आसपासका विभिन्न फााटमा किसानले लगाएको जेठोबुढो धानमा एकरुपता थिएन । के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लिबर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालयसंग मिलेर विभिन्न सातवटा फााटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नमूना संकलन गरेर परीक्षण गरेको थियो ।

परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो । ज्ञवालीले राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्रीवितरण गर्न नपाइने भएकाले सूचीकृतपछि यसको प्रवर्द्धनमा चासो दिइएको बताए ।

पोखरा महानगरपालिका कृषि महाशाखाले जेठोबुढाको माग अहिले पनि रहेको बताए । महानगरले जेठोबुढो प्रवर्द्धन गर्नको लागि कार्यक्रम नै संचालन गरेको छ । जेठोबुढो धानको अनुसन्धान गरेर अझै विस्तार गर्न सकिने कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

२०६३ मा नेपाल सरकारले जेठोबुढोलाई पुरानो रैथाने जातको धानको भनेर सूचीकृत गरेको थियो । सुरुवातीमा जेठोबुढो मात्र भनिए पनि अहिले पोखरेली जेठोबुढो भनेर चिनिन्छ । लामो सीता भएको, मगमग बास्ना आउाने, खाादा नरकम हुने जेठोबुढोको उत्पादन पनि कमी छ ।

कडरियाका अनुसार जेठोबुढोमा एकरुपता नहुँदा तीन सबभन्दा बढी जातबाट छनौट गरी ६ वटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो । यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् ।

महानगरपालिकाले जेठोबुढोलाई गतवर्ष ‘ब्रान्डिङ’ गरेको छ । यसको न्यूनतम मूल्य (एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार पााच सय र एक किलोलाई ९५ रुपैयाा) तोकिएको छ । कडरियाले चिसो पानीमा कहीाकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको बताए ।

६ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ १३:१७
x
×