कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पर्यटक लोभ्याउँदै घनपोखरा

भाद्र १५, २०८१
पर्यटक लोभ्याउँदै घनपोखरा

लमजुङ — विश्वचर्चित घलेगाउँ नजिकै पर्छ लमजुङको घनपोखरा । जिल्लाको सबैभन्दा उचाइमा रहेको यो गाउँ पछिल्लो समय होमस्टेमा परिणत भएको छ भने पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ । मर्स्याङ्दी गाउँपालिका-१ मा पर्ने घनपोखरा गाउँ समुद्री सतहदेखि २ हजार १ सय ५० मिटर उचाइमा पर्छ ।

यहाँको प्रकृति हेर्न पर्यटक आउने गरेका नायु घनपोखरा होमस्टेका अध्यक्ष चमबहादुर गुरुङले बताए । उनका अनुसार घनपोखराबाट लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत दर्जन हिमश्रृंखलाहरु देख्न सकिन्छ ।

गुरुङ जातिको घाँटु, कृष्ण चरित्र, सेर्गा नाच हेर्न र यसको अनुसन्धान गर्न गाउँमा अनुसन्धानकर्ताहरु समेत आउने गरेको उनले बताए । पर्यटक आकर्षण हुनुको कारण गाउँमै पाइने अर्ग्यानिक खाना पनि हो । ‘गाउँमै उत्पादन हुने मकै, कोदो, चामलबाट बनाइने परिकार, गाउँकै लोकल कुखुरा, स्थानीय मदिरा, सागसब्जी, आगोमा पकाएको पर्यटकलाई निकै मिठो लाग्ने रहेछ,’ उनले भने ।

घनपोखरा गाउँमा ६० भन्दा बढी घर छन् । १३ वटा होमस्टे दर्ता रहे पनि हाल ९ वटामात्रै सञ्चालनमा रहेका छन् । उनीहरुले तल्लो गाउँ नायुलाई पनि जोडेर नायु घनपोखरा होमस्टे समिति निर्माण गरेका छन् । स्थानीय जीतबहादुर गुरुङले पर्यटक आउने थालेपछि गाउँले स्वागतमा व्यस्त रहेको बताए ।


घनपोखरा पर्यटन व्यवस्थापन उपसमिति हेमजङ गुरुङका अनुसार हिमालहरु आँखै सामु देखिने, मिदिम र मर्स्याङ्दीको सुस्केरा, चराचुरुङ्गीको आवाज सुनेर पर्यटकहरु आनन्दित हुन्छन् । घनपोखरा गाउँबाट माथिल्लो क्षेत्रमा कुनै पनि मानवबस्ती नभएकाले पनि पर्यटकको आगमन हुने गरेको उनले बताए ।

‘गाउँमा पर्यटक आएपछि गाउँबारे सोध्छन् । यहाँबाट माथि कुनै मानववस्ती छैन भनेपछि अचम्म मान्छन्,’ उनले भने । उनका अनुसार कुनै पनि महिना पाहुना टुट्दैन । पर्यटकीय मौसममा होमस्टे खचाखच हुने उनले बताए ।

‘हाम्रो गाउँ घलेगाउँबाट नजिकै छ । भुजुङ जाने बाटैमा पर्छ । कोही पर्यटक सोधीखोजी आउँछन् । कोही सिधै घनपोखरा भनेर आउँछन्’ उनले भने । उनले होमस्टेलाई थप व्यवस्थापन गर्न सकिए पर्यटकलाई अझ आकर्षण गर्न सकिने बताए ।

एक दशकदेखि होमस्टे सञ्चालन हुँदै आएको घनपोखरामा पछिल्लो समय पर्यटक आउने क्रम बढेसंगै थप व्यवस्थित बनाउने विषयमा छलफल थालिएको छ । गुरुङ जातिको आदिम थलोको रुपमा समेत चिनिएको घनपोखरा करिब १ हजार वर्ष पुरानो मानिन्छ । ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको घनपोखराको होमस्टेलाई व्यवस्थित गर्न स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनप्रतिनिधिसंग छलफल थालेका हुन् ।

वडाअध्यक्ष रुद्रमान गुरुङका अनुसार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंलगायतसंग स्थानीयले होमस्टेलाई थप व्यवस्थित गर्ने विषयमा छलफल गरेका हुन् ।


‘होमस्टेमा पछिल्लो समय पर्यटक आउने क्रम बढेको छ । पर्यटकको बसाईलाई लम्भ्याउन, पर्यटकलाई आकर्षित गराउन साथै पर्यटकलाई थप सुविधाविषयमा गाउँपालिका र गाउँलेबीच छलफल भएको छ,’ उनले भने । घनपोखरा गाउँ पर्यटकीय घलेगाउँबाट नजिकै पर्छ । घलेगाउँबाट भुजुङ जाने बाटो करिब २ किलोमिटरको दुरीमा रहेको घनपोखरामा पर्यटक आगमन बढ्न थालेको वडअध्यक्ष गुरुङले बताए ।

गाउँपालिका अध्यक्ष गुरुङले होमस्टेसंगै कृषिलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । ‘होमस्टेका लागि आवश्यक संरचना, सडक सुधार, स्थानीयको क्षमता अभिबृद्धि, होमस्टे व्यवस्थापन, तालिम लगायत आवश्यक छ । यसमा गाउँपालिकाको ध्यान गएको छ’ उनले भने ।

उनले घनपोखरासंगै सिउरुङ होमस्टे, छापा–मिप्रा होमस्टे, भुष्मे होमस्टेलगायत होमस्टेमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १८:११
x
×