कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

२३ वर्षदेखि बेपत्ता श्रीमान्‌को खोजी

भाद्र १४, २०८१
२३ वर्षदेखि बेपत्ता श्रीमान्‌को खोजी

बागलुङ — अहिले उनी जिल्ला समन्वय समिति सदस्यसँगै द्वन्द्वपीडित महिला राष्ट्रिय संजाल बागलुङकी संयोजक समेत छिन् । सभा समारोहमा नियमित उपस्थित हुँदा सबैसँग हाँसीखुसी कुरा गर्छिन् । तर उनको वास्तविक पीडा भने फरक छ । बागलुङ नगरपालिका–२ की जसोदा शर्मा २३ वर्षदेखि सशस्त्र द्वन्द्वमा बेपत्ता भएका श्रीमान्‌को खोजी गरिरहेकी छन् ।

२०५८ को माघे सक्रान्तिका दिन खोसिएको उनको खुसी अढाई दशक बित्नलाग्दासम्म फर्किएको छैन । मिठो मसिनो पकाएर छोराछोरीलाई खुवाउने पतिपत्नीको योजना थियो त्यो दिन । बिहान ५ बजेनै ढोका ढकढक्याएको आवाज आयो ।

कोही पाहुना आएकी भन्ने आशले जशोदाले ढोका खोलिन् । तर ढोकामा पाहुना थिएनन्, हतियारधारी सेना थिए । उनीहरुले जसोदाका पति सूर्यप्रसाद शर्मालाई पक्राउ गरेर लगे । के कारणले पक्राउ गरियो भन्ने पुर्जी समेत दिएनन् । त्यसैले सेनाको पछि लागेर गएकी जसोदालाई ब्यारेकको गेटमा रोकियो । सूर्यलाई भित्र लगेपछि जसोदा रुँदै फर्किइन् ।

त्यसपछि हरेक दिन बिहानै बेलुकी उनी पतिको खबर बुझ्न गइरहिन् । फोन गरौं भने साताअघिनै सेनाले टेलिकममा पुगेर लाइन काट्न लगाएको थियो । संकटकालको समय थियो । पटक-पटक सेनाको व्यारेक पुग्ने कामनै जोखिम थियो । तर उनलाई सोधपुछका लागि लगेको भन्दै एकदुई दिन गेटबाट फर्काए ।

त्यसपछि क्रमशः गाली गरेर पठाउन थालियो । विस्तारै महिना दिन बितेपछि जसोदाको चासोलाई बेवास्ता भयो । क्याम्पस पढ्दा विद्यार्थी आन्दोलन गरेका सूर्य संकटकालमा पनि माओवादीको कार्यकर्ता भएकोले पक्राउ गरेको सेनाको जिकिर थियो । तर सूर्य सशस्त्र आन्दोलनमा भने सक्रिय थिएनन् भन्छिन् जसोदा ।

चार वर्षसम्म उनले श्रीमान्‌को खोजी गरेरै बिताइन् । उनले सर्वोच्च अदालत पुगेर सूर्यको खोजी गरिदिन भन्दै बन्दी प्रत्यक्षीकरणका लागि निवेदन गरिन् । सर्वोच्चले उनको यथार्थता जानकारी दिन सरकारलाई निर्देशन गर्‍यो । त्यतिले पुगेन ।

अन्तर्राष्ट्रिय मानवअधिकार समितिमा उनले उजुरी गरिन् । एड्भोकेसी फोरम मार्फत उनको उजुरी अन्तर्राष्ट्रिय तहमा लैजान अधिवक्ता मन्दिरा शर्माले साथ दिइन् । उक्त समितिले २०६६ कात्तिकमा नेपाल सरकारलाई १ सय २० दिनभित्र सूर्यको अवस्था सार्वजनिक गर्न निर्देशनात्मक आदेश जारी गर्‍यो । तर सूर्य अझै फेला परेका छैनन् ।

त्यसो त बृहत शान्ति सम्झौतामा पनि ६० दिनभित्रै सबै मृतक र बेपत्ताको यथार्थता सार्वजनिक गर्ने सहमति थियो । तर २३ वर्षदेखि जसोदा पतिको खोजीमा छिन् । सशस्त्र संघर्षका नेता पुष्पकमल दाहालनै तीनपटक प्रधानमन्त्री भए । तर सूर्यलगायत बेपत्ताको खोजी भएन ।

लामो समय उनी रुदै, कराउँदै र हारगुहार गर्दै हिँडिन् । उनको कुरा कतै सुनिएको छैन । त्यसो त क्षतिपूर्ति स्वरुप २ लाख रुपैयाँ दिन समितिले दिएको निर्देशन पनि अझै पालना भएन । सूर्य पक्राउ पर्दा जसोदाकी सबैभन्दा ठूली छोरी ज्योती ११ वर्षकी थिइन् । कान्छी छोरी आरती ९ वर्ष र छोरा बिप्लब ७ वर्षका थिए ।

छोराछोरी हुर्काउने, पढाउने काममा पनि उनले धेरै दुःख व्यहोर्नु पर्‍यो । कमाइ नभएकोले उनले खेत बेचेर छोराछोरी पढाइन् । राज्यले दिने छात्रबृत्ति कोटा पनि उनले पाइनन् । ऋण खोज्दा नपाएपछि भएको खेत बिक्री गर्न बाध्य भएको उनले गुनासो गरिन् ।

‘चाडपर्व आउँदा कोही मेरो घरमा आएनन्, आए पनि सेना र प्रहरीले दुःख दिन्छ भनेको सुनें,’ शर्माले भनिन्, ‘पतिको खोजीमा घर छाडेर हिँड्दा छोराछोरीलाई खान दिने पनि साथी पाएन ।’ पति नभएपछि आफन्तले पनि बेवास्ता गरेको उनले गुनासो गरिन् । शान्ति प्रक्रियापछि पनि उनलाई छिमेकी र आफन्तले खासै वास्ता गरेनन् ।

मानवअधिकारवादी संस्था, एड्भोकेसी फोरमलगायतले बोलाएको स्थानमा पुगेर उनी धुरुधुरु रुँदै आफ्ना पतिको वास्तविकता जानकारी दिन आग्रह गरिरहिन् । अब त उनलाई पति जीवित छन् भन्ने आश छैन । तर पनि राज्यले वास्तविकता बताएको छैन । ‘म सत्य जान्न चाहन्छु,’ उनले भनिन्, ‘मेरा पतिको के दोष थियो, के गरियो ? वास्तविकता मलाई बताइदिनुहोला ।’

शान्ति सम्झौतापछि जसोदा माओवादीमै लागिन् । अहिले उनी माओवादीको प्रदेश समितिकी सदस्य छन् । बागलुङ नगरपालिकाको वडा सदस्यबाट उनी जिल्ला समन्वय समितिको सदस्य निर्वाचित भइन् । अहिले उनका छोराछोरी हुर्के बढेका छन् । उच्च शिक्षा पढेर सके । त्यसैले समन्वय समितिमा पुगेर पीडा भुल्ने अवसर मिलेको छ ।

पढेलेखेको नहुँदा चाहेर पनि अगाडि बढ्न नसकेको उनले गुनासो गरिन् । राजनीतिक कार्यकर्ता भएको नाताले उनले आफ्नो समस्या नेतृत्वलाई पनि सुनाएकी छिन् । तर गम्भीर नबनेको उनको गुनासो छ । ‘अहिले त प्रधानमन्त्री समेतलाई भेटेर आफ्नो समस्या बताइसकेकी छु,’ उनले भनिन्, ‘पीडितको कुरा सुनुवाई नहुने रहेछ ।’ मरेबाँचेको घोषणा गर्नलाई सरकारलाई अझै के कुराले रोको छ ? भन्ने उनी प्रश्न गर्छिन् ।

उनले आफ्नो समस्या राख्न छुटाएको कुनै संस्था छैन । मानवअधिकार आयोग र सर्वोच्च अदालतसम्म पुगेर पतिको स्थिति सार्वजनिक गर्न माग गर्दा अधिवक्ता गोबिन्द बन्दी र योगेन्द्र भट्टराइले साथ दिएका थिए । उनका सहोदर भाइ थिरनाथ शर्मा पनि अधिवक्ता थिए । जसोदाको भाइ भएकै कारण देखाएर ७८ दिन हिरासतमा राखेर चरम यातना दिइयो ।

अशक्त भएपछि रिहाइभएका थीरनाथको लामो समय ओच्छ्यान परेर २०६७ सालमा निधन भयो । थिरनाथकी पन्ती यमुना र छोराछोरीले कुनै राहत र द्वन्द्वपीडितमा सूचीकृत समेत बन्न पाएनन् । जसोदाका कान्छा बुवाका छोरा हरिकृष्णलाई पनि सेनाले पक्राउ गरेर केहीदिन पछि छाडेको थियो । उनको नातागोता जोडिएका सबैले दुःखपाएपछि छिमेकीले पनि साथ र सहयोग दिन सकेनन् ।

संसद्‌बाट टीआरसी विधेयक बहुमतले पारित भएको छ । उक्त विधेयक पनि अपुरो भएको मानव अधिकारवादी संस्थाले टिप्पणी गरिसकेका छन् । जसोदाले पनि न्याय पाउने आश मारिसकिन् । ‘जुनसुकै कानून आए पनि अब न्याय पाउने आश छैन,’ उनले भनिन्, ‘यदि सही रुपमा आएको हो भने टीआरसी बिधेयकले न्याय दिनुपर्छ ।’ राज्यले बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने, मृत्यु भएकाको कारण देखाउनुपर्ने उनले बताइन् । राज्य र बिद्रोही पक्ष बाट भएका घटनाको दोषी को हुन् भन्ने थाहा पाउने अधिकार दिनुपर्ने उनले बताइन् ।

बागलुङमा अहिले पनि सशस्त्र द्वन्द्वका १७ जना बेपत्ता छन् । उनीहरुका परिवार अहिले पनि खोजीमै छन् । ‘जे भएको थियो, त्यो बताएर पीडितलाई न्याय दिनुपर्छ,’ मानव अधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जिसीले भनिन्, ‘घटना पनि जानकारी नदिएर पीडामा राख्नु गम्भिर मानवअधिकार उल्लंघन हो ।’ जान्न पाउने अधिकार पनि नदिएपछि पीडितमा आएको समस्याप्रति राज्य सचेत नभएको उनको टिप्पणी छ ।

प्रकाशित : भाद्र १४, २०८१ २०:३०
x
×