कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जन्मभूमिमा जननीहरुको अभियान : ‘शुक्रबार भविष्यका लागि’

भाद्र १४, २०८१
जन्मभूमिमा जननीहरुको अभियान : ‘शुक्रबार भविष्यका लागि’

Highlights

  • चार वर्षदेखि सुरु भएको अभियानमा छात्रवृत्ति वितरण हुँदै आएको थियो । यो वर्षबाट विद्यार्थी र युवालाई सीपसँग जोड्न कपाल काट्ने, दुना टपरी, डोको नाम्लो, मुढा बनाउन सिकाउन लागिएको छ । १० हजार पिस सेनेटरी प्याड समेत वितरण गरिएको छ ।

गोरखा — पछिल्लो समय युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ । कतिपय छोराछोरी पढाउनका लागि सहर लागेका छन् । गाउँघर सुनसान जस्तै बनेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वर्षैपिच्छे घट्दै छ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी टिकाउन वैदेशिक रोजगारमा रहेका युवाले यहाँको पालुङटार नगरपालिकामा ‘जन्मभूमिमा जननीहरुको अभियान’ चलाउँदै आएका छन् । 

४ वर्षदेखि संचलन भइरहेको अभियान अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण हुँदै आएको थियो । यो वर्षबाट भने विद्यार्थीलाई सीपसँग जोड्न ‘फ्राइडे फर फिचर’ (शुक्रबार भविष्यका लागि) कार्यक्रम लिएर युवाहरु सामुदायिक विद्यालय पुगे । यसको अगुवाई विमला विनिस्मा पन्त फाउण्डेसनका अध्यक्ष प्रकाशजंग पन्तले गरेका छन् ।

पालुङटार–६ का पन्त ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा अष्ट्रेलियामा छन् । ‘विदेशमा रहे पनि जन्मभूमिमा केही गरौं भन्ने लागिरहन्थ्यो, युवा विद्यार्थीलाई पठनपाठनमा सहजताका लागि चार वर्षदेखि स्टेसनरीका सामग्री वितरण गरेँ,’ उनले भने,‘हप्तामा १ दिनको कमाई आफ्नै जन्मभूमिका विद्यार्थी र युवाका लागि खर्च गर्ने गरेको छु ।’

पहिलो चरणमा पालुङटार नगर क्षेत्रका १० भन्दा बढी विद्यालयमा ‘फ्राइडे फर फिचर’ कार्यक्रम अन्तरगत विद्यार्थीलाई सीपसँग जोड्न लागिएको उनले बताए ।

‘शुक्रबार भविष्यका लागि अभियान’ अन्तर्गत पालुङटार–९ को त्रिवेणी माविमा कपाल काट्न सिकाउन थालिएको छ । १० भन्दा वढी विद्यार्थीमा कपाल काट्ने सीप रहेकोमा हाल चार जना यो कार्यक्रमसँग जोडिएका छन् ।

फाउण्डेसनले ट्रस्ट निर्माण तथा कपाल काट्ने सामग्रीका लागि झण्डै १ लाख रुपैयाँ खर्च गरेको छ । निश्चित शुल्क तोकेर कपाल काट्ने कार्यक्रम सुरु भएको उनले बताए । ‘पालुङटार नगर क्षेत्रका सबै विद्यालयमा यो सीपमूलक कार्यक्रम गर्ने योजना हो,’ उनले भने,‘अन्य विद्यालयहरु सँग छलफलमा छौं ।’

विद्यार्थीलाई कपाल काट्ने, दुना टपरी, डोको नाम्लो, मुढा बनाउने सीप सिकाई स्वरोजगार बनाउने अभियानको उद्देश्य रहेको पन्त बताए । स्थानीय कच्चा पदार्थलाई उपयोग गरि सीपसँग जोड्ने उनले बताए । सोही कार्यक्रम अन्तर्गत पालुङटार–७ को बालकल्याण माविमा पलम्वर, इलोक्ट्रोसियन, गमला बनाउने, बाँसको मुढा बनाउने तालिम प्राम्भको चरणमा छ ।

एक साताको अवधिमा फाउण्डेसनले पालुङटार नगर क्षेत्रका विद्यालयमा स्वास्थ्य सामग्री र १० हजार पिस सेनेटरी प्याड पनि वितरण गरेको छ । पालुङटार–७ बालकल्याण मावि, पालुङटार–६ रजगरे मावि, पालुङटार–९ धर्मोदय मावि, पालुङटार–९ कै मदने डाडा माविमा प्राथमिक उपचारका सामग्री र प्रत्येक विद्यालयमा ९६० पिस सेनेटरी प्याड वितरण गरिएको छ ।

पालुङटार–६ जनज्योती प्राविका २० जना तथा पालुङटार–४ को सरस्वती प्राविलाई ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण साथै प्राथमिक उपचारको सामग्री प्रदान गरिएको छ । पालुङटार–६ लक्ष्मी मावि, पालुङटार–५ भवानी मावि, पालुङटार–१ विन्धवासीनी प्राविमा प्राथमिक उपचारको सामग्रीको साथमा प्रत्येक विद्यालयलाई ९६० पिस सेनेटरी प्याड पनि वितरण गरिएको छ । ती विद्यालयमा सीपमूलक तालिमका बारेमा अध्ययन तथा छलफल भइरहेको पन्तले बताए ।

पालुङटार–६ को नवजागृति युवा क्लबलाई प्राथमिक उपचारको सामग्रीका साथमा खेलकुद सामाग्री वितरण गरिएको पन्तले बताए । क्लबसँग समन्वय गरी एक वडा एक स्वरोजगार कार्यक्रम पनि सुरु गर्ने तयारी गरिएको छ । ‘पालुङटार नगर क्षेत्रका १० वटै वडाका कम्तीमा एक युवाहरुलाई स्वरोजगार बनाउन के गर्न सकिन्छ, यसमा पनि छलफल गरिरहेका छौं,’ उनले भने ।

चार वर्षदेखि फाउण्डेसनले पालुङटार नगर क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउादै आएको छ । यो बर्षबाट रोजगारका कार्यक्रमलाई पनि समेटिएको छ । ‘विद्यार्थी, युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य हो, सीपले रोजगार बनाउन सघाउँछ,’ उनले भने,‘नगरपालिकाको प्रत्येक वडामा कम्तीमा १ जनालाई ब्यवसाय गर्नका लागि दुईदेखि ५ लाखसम्म ऋण उपलब्ध गराउने तयारीमा पनि छौं ।’

सीप सिके स्वदेशमै आत्मनिर्भर बन्न सहज वन्ने अपेक्षा राखिएको छ । ‘यो मेरो व्यक्तिगत लगानी हो,’ उनले भने,‘वर्षमा करिब ९/१० लाख रुपैयाँ खर्च हुन्छ, आफ्नो जन्मभूमिमा केही गरौं भनेर अभियानकै रुपमा सुरुवात गरेको हुँ ।’

प्रकाशित : भाद्र १४, २०८१ २०:४९
x
×