कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

पहिरोले बेनीमा तीन घर पुरिए, यातायात अवरुद्ध

भाद्र ९, २०८१
पहिरोले बेनीमा तीन घर पुरिए, यातायात अवरुद्ध

म्याग्दी — शनिबार मध्यरात परेको अविरल वर्षापछि आएको बाढीले बेनी नगरपालिका–१ आनन्दबगरमा तीन वटा घर पुरेको छ ।स्थानीय ६९ वर्षीया सेती थापा मगर, केशव थापा र सोचिना घर्ती मगरको घरमा बाढी पसेको हो ।  

सेती थापाको दुई तलासम्म बढी पस्दा अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको छ । थापा र घर्तीको घर आंशिक रूपमा पुरिएको छ ।

‘बाढी पसेर एउटा घर पूरै र अरु दुई घरमा आंशिक पुरिएको छ । हाम्रो ज्यान बाँच्यो । खोल्सामा बाढीको पूर्वानुमान नगरी सानो आकारको ह्युमपाइप राखिदिएकोले समस्या आएको हो,’ स्थानीय समकुमारी थापाले भनिन् ।

बेनी–बाग्लुङ सडकको हुलाकेस्थित खोल्सीमा राखेको हृयुमपाइपले बाढीलाई थेग्न नसकेपछि बाढी धानखेत, केराबारी भत्काउँदै करिब ५ सय मिटर तल रहेको बस्ती छिरेको हो । बाढीले करिब ६० रोपनी धानखेत र ३० रोपनीबढी केरा खेती पनि नष्ट गरेको छ ।

त्यसैबीच सोही बाढीले बेनी–बाग्लुङ सडकको हुलाकेमा पोखराबाट बेनी जाँदै गरेको एउटा जिप बगाएर सडकदेखि तल पुर्‍याएको छ । अर्को एक गाडी पनि हिलोमा फसेको छ । पोखरामा लाखे नृत्य प्रर्दशन गरी घर फर्क‌दै गरेका नेपाल भाषा मंका खलः म्याग्दीका १२ जना कलाकार सवार जेनेस श्रेष्ठको जिप शनिबार मध्यरात बाढीमा फसेको हो ।

उनीहरूलाई बेनीबाट आएका प्रहरी र स्थानीयले राति नै उद्धार गरेको थियो । बाढीले सडक बगाएपछि बेनी–बाग्लुङ र बेनी–मालढुङ्गा सडकमा यातायात अवरुद्ध बनेको छ ।

त्यस्तै बेनी नगरपालिका–५ काठेखोलामा आदेवी घिमिरेको पनि घरमा क्षति पुगेको वडाध्यक्ष कृष्ण बानियाँले बताए । बेनी गाँउपालिकाका मेयर सुरत केसीका अनुसार बाढी पसेर बेनी–९ गलेश्वर स्थित जडभरत शालग्राम संस्कृति माविमा क्षति पुर्‍याएको छ । उनले नगरक्षेत्रमा बाढीबाट पारेको क्षतिको विवरण संकलन भैरहेको बताए ।

प्रकाशित : भाद्र ९, २०८१ ०९:३०
x
×